सात विधामा ओस्कर जितेको सिनेमा

गत हप्ता आयोजित सिनेमा क्षेत्रको सबैभन्दा प्रमुख पुरस्कार मानिने ओस्कर अवार्ड सात वटा विधामा जितेर सन् २०२२ मा प्रदर्शित सिनेमा 'एभ्रिथिङ्ग एभ्रिवेर अल याट वान्स' ले पुन: एउटा इतिहास रचेको छ।

यो सिनेमाले उत्कृष्ट सिनेमा, उत्कृष्ट निर्देशक (डेनियल क्वान र डेनियल सिनेर्ट), मौलिक पटकथा, उत्कृष्ट नायिका (मिसेल योह), उत्कृष्ट सह-नायिका (जेमी ली कर्टिस), उत्कृष्ट सह-नायक (के हुय क्वान) र उत्कृष्ट सम्पादन (पल रोजर) जस्ता सात विधामा पुरस्कार जितेको छ।

योभन्दा अगाडि सन् २००९ मा स्लम डग मिलिनियरले ८ विधामा, सन् २०१० मा द हर्ट लकरले ६ विधामा, सन् १९६० मा बेन हरले, सन् १९८८ मा टाइटेनिक र सन् २००४ मा द लर्ड अफ द रिङ्गस: द रिटर्न अफ द किङ्गसले ११ विधामा पुरस्कार जितेको थियो। यद्यपि एभ्रिथिङ्ग एभ्रिवेर अल याट वान्स पनि ११ विधामै मनोनयनमा परेको थियो तर सात विधामा मात्र पुरस्कार जित्न सफल भयो।

सिनेमाको कथाअनुसार चीनबाट भागेर अमेरिका आएका दम्पती इबेलिन क्वान बेङ्ग (मिसेल योह) र वेमोण्ड बेङ्ग (के हुय क्वान) र उनकी छोरी जोय (स्टेफ्नी हसु) एउटा लुगा धुने कारखाना चलाउँछन्। सिनेमामा पतिले पत्नीलाई दिएको धोका, छोरीको समलिङ्गी प्रेम र सरकारी कर्मचारीले अन्य देशबाट आएका मान्छेहरुलाई हैरानी दिएर कसरी पैसा असुल्छन् भन्ने रमाइलोसँग देखाइएको छ। साथै सिनेमामा अनेकौँ उपकथाहरु पनि जोडिएका छन्, जो रोचक छ।

सिनेमामा माथि उल्लेखित मुख्य कलाकारहरुसँगै जेमी ली कर्टिस, जेम्स होङ्ग, जेनी स्लेट, ह्यारी स्याम जुनियर, टेली मेडल, ब्रायन र दुई भारतीय कलाकारहरु सुनिता मणि तथा नारायण काबलले पनि अभिनय गरेका छन्। हुलु, अमेजन प्राइम भिडियो, स्लिङ्ग टीभी, युट्युब प्रिमियम जस्ता ओटीटी प्लेटफर्ममा हेर्न सकिने यो सिनेमा दर्शकहरुलाई बाँधेर राख्न सफल छ।

प्रकाशित मिति: : 2023-03-17 07:00:00

प्रतिकृया दिनुहोस्