मिटरब्याज पीडितका दुई गुट: स्वार्थ समूह हाबी हुँदा धरापमा पर्दै आन्दोलन

'मिटरब्याज पीडित गुटमा विभाजन हुनु पीडितले न्याय नपाउनु हो'

BreaknLinks
BreaknLinks

चैत २ गते सरकारलाई दबाब दिन ७२ जना मिटरब्याज पीडितको समूह काठमाडौं हिँड्यो। १२ दिनको पैदल हिँडेर चैत १४ गते काठमाडौं आइपुगेको मिटरब्याज पीडितसँग सरकारले चैत १८ गते पाँच बुँदे सहमति गर्‍याे। १९ गते उनीहरु बस चढेर घर फर्किए।

याे समूहकाे नेतृत्व मनोजकुमार पासवान, संघर्ष दाहाल, कुमार बर्तौलालगायतले गरेका थिए। उनीहरुको नेतृत्वमा काठमाडौं पैदल हिँडेर आएका मिटरब्याज पीडितसँग सरकारले उच्चस्तरीय आयोग गठन गर्ने, यसअघि (भदौ २७ गते सरकारलाई प्रतिवदेन बुझाएको थियो) को मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदन छिटो कार्यान्वयन गर्ने, कानुन संशोधन गर्ने र जिल्लास्तरीय समन्वय समिति गठन गर्ने सहमति गरेको थियो।

तर मिटरब्याज पीडितको अर्को समूह उक्त पाँच बुँदे सहमतिमा प्रश्न उठाउँदै आन्दोलन गर्न काठमाडौं आइपुगेको छ। यस समूहलाई अवधेश कुशहवा, मनोज खतिवडा, निर्घराज जैसी (नवीन)लगायतले नेतृत्व गरेका छन्। 


मिटरब्याज पीडित: आशा बोकेर आए, आश्वासन लिएर फर्किए तर टाढै छ न्याय


यसअघि पैदल हिँडेर काठमाडौं आइरहेका मिटरब्याज पीडितको आन्दोनलाई मिडियाले प्राथमिकतामा राखेपछि सरकारले १४ गते नै मिटरब्याजलाई अपराध घोषणा गर्‍याे। सरकाले मिटरब्याजलाई अपराध घोषणा गरेको भोलिपल्ट १५ गते मिटरब्याज पीडितको कुशहवा समूहले सरकारको निर्णयप्रति नै खेत प्रकट गर्‍याे।

खेद प्रकट मात्र गरेन, उक्त समूहले २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्ने घोषणा गर्‍याे र अहिले उक्त समूह आन्दोलनरत छ।

दुई गुटमा विभाजित यी समूहले एकले अर्कालाई अरोप लगाउने गर्छन्। उनीहरु आफूहरुले नेतृत्व गरेको आन्दोलन मिटरब्याज पीडितको आधिकारिक आन्दोलन भएको दाबी गर्छन्। यद्यपि, यी दुबै समूहमा मिटरब्याजले निकै पीडा खेपेका भूइँमान्छेहरु छन्। जसलाई आफूहरूमाथि केही स्वार्थ समूहले राजनीति गरिरहेको छ भन्ने आभाष भएको छैन।

जसको फाइदा उठाउँदै स्वार्थ समूहले पीडितलाई काठमाडौंमा आहोरदाेहोर बनाएका छन्। अवधेश कुशहवाको नेतृत्वमा रहेको अहिलेको मिटरब्याज पीडितले यसअघि पनि वैशाख र साउनमा काठमाडौंमा आन्दोलन गरेको थियो।

नवलपरासी पूर्वका मिटरब्याज पीडितलाई लिएर गएको वैशाख र साउनमा गरी काठमाडौँमा ६१ दिन लामो आन्दोलन भएको थियो र उक्त आन्दोलनपछि सरकारले साउन २८ मा तत्कालीन गृह सहसचिव डा.भीष्मकुमार भुसालको संयोजकत्वमा ६ सदस्यीय ‘मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल गठन’ गरेको थियो।

कार्यदलले भदौ २७ मा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई २६ पेज लामो प्रतिवेदन बुझायो। प्रतिवेदन बुझाएको लामो समयसम्म सरकारले मिटरब्याज पीडितको माग सुनाइ नगरेको भन्दै चैत २ गतेदेखि मनोजकुमार पासवान नेतृत्वमा अर्को आन्दोलन मधेश प्रदेशबाट सुरु भएको थियो।

दुबै समूहले देशभरबाट मिटरब्याज पीडितको समर्थन रहेको बताउँछन्। उनीहरुले आफूहरु कुनै स्वार्थमा नरहेको, स्वयम आफैँ मिटरब्याज पीडित रहेको बताउँदै आन्दोलनको नेतृत्व गरेको दाबी गर्छन्। 


मिटरब्याज पीडितको जग्गा फिर्ता गर्न कठिन छ: सहसचिव भुसाल


तर यी आन्दोलन सरकारमा रहेका दलहरु र सरकारभन्दा बाहिर रहेका दलहरुबीचको आन्दोलन जस्तो देखिएको छ। आन्दोलनलाई सहयोग गर्दै आइरहेको केही व्यक्तिले कुशहवा नेतृत्वको आन्दोलन सत्तासाझेदार दलबाहिरका मान्छेहरुले नेतृत्व गरेको बताउँछन्। यसअघिको पासवान नेतृत्वको आन्दोलन सत्तासाझेदार दलहरुका मान्छेले आन्दोलनकाे नेतृत्व गरेकाे स्राेत बताउँछ।

काठमाडौंमा जारी मिटरब्याज पीडित आन्दोलनका नेतृत्वकर्ता कुशहवाले सबै मिलेर संयुक्त रुपमा आन्दोलन गरौँ भन्दा मनोजकुमार पासवान नेतृत्वले आफ्नो कुरा नसुनेको बताए। ‘उहाँहरु (मनोजकुमार पासवान) काठमाडौं आन्दोलन गर्न आउने भएपछि मैले मनोजजीलाई फोन गरेर संयुक्त रुपमा आन्दोलन गरौँ भनेको हो,’ उनले भने, ‘तर मनोजजीले मान्नुभएन। उहाँहरुले हाम्रो आन्दोलन फुटाउनुभयो।’

मिटरब्याज पीडितमाथि किन राजनीति गर्नुभएको? बिएल नेपाली सेवाको प्रश्नमा कुशहवाले आफूहरुले राजनीति नगरेको बताए। ‘हामीले राजनीति गरेका छैनौँ। पहिलो आन्दोलन हामीले गरेका थियौँ। तपाईंलाई थाहा नै छ काठमाडौं ६१ दिन धर्ना दिएका पनि हौँ,’  उनले भने, ‘सरकारले हामीसँग पाँच बुँदे सहमति गरेको हो। फेरि अर्को समूहसँग किन पाँच बुँदे सहमति गर्नुपर्‍याे। जस पाउन अर्को समूहले गरेको छ राजनीति।’

उनले अहिलेको पाँच बुँदे सहमति पीडितहरुलाई थप पीडा दिने खालको रहेको बताए। ‘हामीले न्याय खोजेका हौँ। हाम्रो आन्दोलन सुरु भएपछि सुदखोरहरु (साहु)ले धमाधम आदालतबाट फैसला गराएर पीडितलाई पक्राउ पुर्जी जारी गरेको छ। घर, जमिन लिलाम गरिरहेको छ,’ कुशहवाले भने, ‘सरकारले हाम्रो मागप्रति आयोग गठन गरेर पीडितलाई अल्झाउने र लामो समय लम्ब्याउने काम गरेको छ। यसले पीडितलाई न्याय होइन, झन पीडा दिएको छ।’

उनले आयोग नभएर छिटो कानुन बनाएर पीडितलाई सरकारले न्याय दिनुपर्ने बताए। ‘छिटो सरकारले कानुन बनाएर तमसुक च्यात्नुपर्छ। साहुले लगेको जग्गा फिर्ता हुनुपर्छ। अहिले धमाधम अदालतबाट भइरहेको फैसला रोकिनुपर्छ,’ उनले भने, ‘समय लम्ब्याउन आयोग चाहिँदैन। सरकारले फास्ट ट्रयाकबाट कानुन ल्याउनुपर्छ र अहिले साहुको ज्यादती रोकिनुपर्छ।’

कुशहवाले सरकारसँग अब निर्णायक आन्दोलन हुने बताए। आफ्नो माग सुनुवाइ नभएसम्म काठमाडौं नछाड्ने उनको भनाइ छ।  


‘श्रीमान जेलमा हुनुहुन्छ, जमिन फिर्ता र तमसुक खारेज नभइ घर फर्किँदैनौँ’ (भिडियाेसहित)


अहिलेको आन्दोलनको नियत खराब छ: मनोजकुमार पासवान

१२ दिन पैदल हिँडेर काठमाडौं आउने मिटरब्याज पीडितको आन्दोलनको नेतृत्व गरेका मनोजकुमार पासवानले अहिले भइरहेको आन्दोलनको नियतमाथि प्रश्न उठाएका छन्। उनले मिटरब्याज पीडितप्रति कुनै गुनासो नरहेको बताउँदै नेतृत्व गर्ने मान्छेहरुको सोच ठिक नरहेको बताए।

उनले आफूहरुले सरकारसँग पाँच बुँदे सहमति गरेको दुई दिनमा नै फेरि उही किसिमको आन्दोलन हुनु दुःखद रहेको बताए। ‘उहाँहरु(अवधेश कुशहवा)ले पहिले आन्दोलन गरेर सरकारसँग पाँच बुँदे सहमति गर्नुभयो। छानविन समिति बन्यो र समितिले प्रतिवेदन पनि बुझायो। हामीले त्यो प्रतिवेदन कार्यान्वयन हुनुपर्ने सम्झौता गरेको छौँ,’ पासवानले भने, ‘हामीले आन्दोलन गरेर त थप सहमति गरेको छौँ। शक्तिशाली आयोग गठन भएको छ। जिल्लामा पीडितको सहभागीमा समन्वय समिति गठन हुने भएको। यो त उहाँहरुको सहमति भन्दा राम्रो भयो नि।’

उनले अब बन्ने कानुनले आउने समस्या मात्र समाधान गर्ने बताउँदै कानुन बन्दैमा पहिलेको समस्या समाधान नहुने बताए। ‘कानुन बनेर मात्र हामीले न्याय पाउने होइन। कानुन त बनेपछि आउने समस्यालाई मात्र राक्ने हो,’ पासवानले भने, ‘आयोगले गाउँमै गएर छानविन गर्छ र सत्यतथ्यका आधारमा न्याय दिन्छ।’

उनले अहिलेको आन्दोलनप्रति कुनै गुनासो नरहेको बताउँदै आन्दोलनले मागहरु पूरा गराउन सरकारलाई थप दबाब दिने बताए। ‘हामी विभाजन भएका छैनौँ। उहाँहरु पश्चिमबाट हो, हामी पूर्वबाट आन्दोलन गर्‍याैँ। आन्दोलनलाई समर्थन छ,’ उनले भने, ‘तर आन्दोलनको नेतृत्वकर्ताप्रति मेरो आशंका छ। खासमा नविन पीडित पनि होइन। उहाँले हाम्रो आन्दोलनको सहमतिलाई कमजोर बनाउन लाग्नुभयो।’

मिटरब्याज पीडित विभाजन हुनु राम्रो होइनः नहेन्द्र खड्का

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले मिटरब्याज पीडितसँग भएको सहमतिको दुई दिनमा नै अर्को समूहले आन्दोलन गर्नु उचित नरहेको बताए। जसले गर्दा कतै मिटरब्याज पीडितको आन्दोलन फुटाउने योजना पो हो कि भन्ने आशंका उब्जिएको उनको भनाइ छ। 

उस्तै प्रकृतिको, उही माग लिएर समूहमा विभाजन भएर आन्दोलन गर्नु आन्दोलनकर्ताको नियतमाथि प्रश्न उठ्ने बताए। ‘१८ गते मिटरब्याज पीडितसँग सरकारले सहमति गरेको छ। त्यसको दुई दिनमा उस्तै माग लिएर फेरि अर्को समूहले आन्दोलन गर्नु राम्रो होइन,’ खड्काले भने, ‘यसले मिटरब्याज पीडितको आन्दोलन फुटाउने र केही व्यक्तिको खराब नियत भएको देखिन्छ।’

उनले अहिलेको आन्दोलन सरकारलाई अप्ठ्यारोमा पार्ने योजनामा आएको हुनसक्ने आशंका व्यक्त गरे। ‘अहिलेको आन्दोलन आन्दोलनको दिशा नबुझेका पो हुन् कि? सरकारका विरोधी पो हुन् कि? नत्र मिटरब्याज पीडितसँग भएको सहमतिको दुई दिनमा नै आन्दोलन सुरु हुने त हाेइन,’ खड्काले भने, ‘यसमा सरकारलाई अप्ठ्यारोमा पार्ने नियत देखिन्छ।’

‘आन्दोलनबाट नेताका रुपमा स्थापित हुने आकांक्षा’

गृह मन्त्रालयका उपसविच तथा सूचना अधिकारी दिलकुमार तामाङले उस्तै माग गरेका दुई समूहले छुट्टा–छुट्टै आन्दोलन गर्नु मिटरब्याज पीडितले न्याय नपाउनु रहेको बताए। ‘नवलपारासीबाट आउने र सप्तरीबाट आउने मिटरब्याज पीडितको माग उही हो। सरकार माग सम्बोधनका लागि संवेदनशील छ,’ उनले भने, ‘तर मिटरब्याज पीडित गुटमा विभाजन हुनु पीडितले न्याय नपाउनु हो।’

उनले अब आन्दोलन गर्नु भन्दा सहमतिलाई कार्यान्वयन गर्नतर्फ सबै लाग्नुपर्ने बताए। ‘अब नयाँ आन्दोलनकारीसँग सहमति गर्ने भन्दा पनि भएको सहमतिलाई कार्यान्वयन भएपछि सबैलाई न्याय हुन्छ। अहिलेका पीडित र पहिलेका पीडितले उठाएका विषय फरक हुँदै होइन,’ उपसचिव तामाङले भने, ‘अहिले आन्दोलनरत पीडितहरुले कसरी बुझ्नुभएको हो? या त आन्दोलनको माध्यमबाट आफू चिनिनु पर्ने र आफू नेताको रुपमा स्थापति हुनुपर्ने हो कि के हो? बुझिएको छैन। दुबै मिटरब्याज पीडितको समूहको माग एउटै हो। फरक छैन।’

सहमति कार्यन्वयनको बाटोमा अगाडि बढिसकेको बताउँदै उनले अगाडि भने, ‘पीडितको मागमा राज्य संवेदनशील भएर लागेको छ। नवलपरासीबाट आएकाको एउटा र सप्तरीबाट आउँदा अर्को समस्या हुने होइन। पहिले नवलपरासीबाट आएकासँग सहमति भयो। त्यसैको जगमा फेरि पछिल्लो पटक सप्तरीबाट आएका समूहसँग सहमति भयो। कार्यान्वयनको बाटो पनि अगाडि बढिसकेको छ। थप उहाँहरुसँग सहमति हुनुपर्ने हो कि भएको सहमति हुनुपर्ने हो मैले बुझेको छैन।’ 

मिटरब्याज पीडितहरू भन्छन्– सरकारले न्याय नदिए फेरि आन्दोलन गर्छौं (भिडियोसहित)

प्रकाशित मिति: : 2023-04-09 11:20:00

प्रतिकृया दिनुहोस्