गंगादेव

माओवादीकाे नारा 'फ्री वाइफाइ', तर गाउँमा पिउने पानी छैन

स्थानीय तह निर्वाचनका लागि भोट माग्दै गाउँगाउँमा पुग्ने नेता–कार्यकर्ताको लर्को छ। स्थानीय मतदातालाई आफूतिर तान्न उनीहरू खानेपानीदेखि अनेकौं आकर्षक योजनाहरू पस्किरहेछन्।

रोल्पाको गंगादेव गाउँपालिकास्थित रमाइँ गाउँमा लामो समयदेखि पानीको हाहाकार छ। यहाँका धारामा खानेपानी नआएको दुई वर्षभन्दा बढी भयो। तैपनि उम्मेदवारहरू गाउँलेसामु खानेपानी आयोजना निर्माण तथा मर्मत गर्ने पुरानै सपना बाँडिरहेका छन्।

पानीबिनाको काकाकुल गाउँमा आजकल दिन काट्नै मुस्किल परेको यहाँका स्थानीयहरू गुनासो गर्छन्। चुनाव केन्द्रीत नारा बोकेर घर-घरमा छिरेका उम्मेदवारका ‘गुलिया’ नाराप्रति चासो नभएको बताउँछन्, स्थानीय युवा रेशम वली।

‘हामीहरूलाई उम्मेदवारका सपनाप्रति फिटिकै विश्वास छैन। उनीहरू भोटका लागि जे पनि भन्छन्। तर खानेपानीको समस्या कहिल्यै समाधान गरेनन्,’ उनी थप्छन्।

गंगादेव गाउँपालिकामा पाँच वर्षसम्म शासन सञ्चालन गरेकाे माओवादी केन्द्रले ‘गाउँ–गाउँमा फ्री वाइफाइ’ घोषणापत्रमा उल्लेख गरेकाे छ। तर उता गाउँमा पानीको चरम समस्या छ। नागरिकले पानी नै पिउन पाएका छैनन्। चुनावकाे बेला 'फ्री वाइफाइ'काे डम्फू बजाउँदै गाउँ–बस्ती हिँडिरहेका नि.वर्तमान गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्रका उम्मेदवार बीरबहादुर खत्रीले अघिल्लाे कार्यकालभर रमाइँकाे गुनासाे सुनेनन्।

चुनाव जित्न वाइफाइ फ्रीकाे नारा बाेकेर भाेट माग्न घरघरमा पुगेका उनीमाथि खानेपानी मर्मतका नाममा लाखाैं अनियमितता गरेकाे मतदाताकाे गम्भीर आराेप पनि छ। उनी मात्रै हाेइन कांग्रेस, एमालेका उम्मेदवार र उनीहरूका योजनाप्रति आश्वस्त हुन नसक्नुमा थुप्रै कारण छन्, स्थानीयसँग। तीमध्ये एउटा हो, खाइपाइ आएको खानेपानी उल्टै मर्मत गर्ने नाममा फाल्दिनु। स्थानीय सरकारले बेवास्ता गर्दा रमाइँवासी आजित छन्।

यसअघिको निर्वाचनमा यिनै उम्मेदवारबाट रमाइँवासीले खानेपानीको आश्वासन नपाएका भने होइनन्। तर जनप्रतिनिधिहरूले वास्तै गरेनन्। हारेकाहरू गाउँमा फर्केनन्।

आजभोलि यहाँका ९० घर मिलेर खानेपानी निर्माणको काम गरिरहेका छन्। उनीहरूले अहिलेसम्म १३ लाख पैसा उठाएका छन्। प्रत्यक्ष घरबाट जनही १५ हजारका दरले पैसा उठाइएको छ।

घर–घरमा खानेपानी ल्याउन स्थानीय युवाहरूको सहभागितामा श्रमदानमा भइरहेको छ। रमाइँवासीले ३५ दिन श्रमदान गरेको स्थानीय युवा सुशिलशरण वली बताउँछन्।

पानीको समस्या हुँदा पशुपालनमा पनि निकै समस्या भएको उनीहरूले जनाएका छन्। ‘भोट हालेका व्यक्तिले जिते। तर खानेपानी त परै, जितेका नेता फर्केरै आएनन्,’ स्थानीय भन्छन्। यसपालिको चुनावमा पनि त्यस्तै आश्वासन दोहोरिरहँदा मतदाताको दिमागमा विगतको पीडा फेरि ताजा बनेर आइदिन्छ।

‘रमाइँमा खानेपानीको निकै समस्या छ। वर्षौँदेखि हाम्रो मागमाथि सुनुवाई नै भएन,’ युवा वीरेन्द्र वली बताउँछन्।

प्रकाशित मिति: : 2022-04-29 18:31:00

प्रतिकृया दिनुहोस्