कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति: ठाउँठाउँमा घरजग्गा, सुनचाँदी र शेयरमा लगानी

कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सोमबार कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेवसाइटमार्फत प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।

वेवसाइटमा उल्लेख भएअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्की र उनका दाजु दीपक कार्कीको नाममा झापाको गौरादह १ मा १ कट्ठा १० धुरमा बनेको दुई तल्ले पक्की घर र गौरादह ३ मा दुवै दाजुभाइको नाममा रहेका ३ कट्ठामा बनेको पक्की घर र टहरा रहेको छ।

यस्तै मुख्यमन्त्री कार्कीकी श्रीमती अञ्जना पाण्डेको नाममा ललितपुर महालक्ष्मी नगरपालिका-४ मा १ करोड ४० लाखमा किनेको २३२ र २८६ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेका छन्। विवाहको समयमा खरिद गरेको र प्राप्त गरेका ६ तोला सुन र १० तोला चाँदी भएको उल्लेख छ।

श्रीमती अञ्जनाको नाममा लिभरपुल एजुकेसन नेटवर्क प्रा.लि.मा २१ लाख ३८ हजार ७ सय, मुख्यमन्त्री कार्कीको नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र सहिद मेमोरियल अस्पतालमा १ लाख ५० हजार रुपैयाँको शेयर र श्रीमतीले महालक्ष्मी नगरपालिकास्थित घरजग्गा खरिद गर्दा ९० लाख ऋण लिएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री कार्कीसँग लोन लिएर २३ लाखमा खरिद गरेका २०१२ मोडलको सेन्ट्रो कार भएको उल्लेख छ। झापामा गौरादह कृषि तथा पशुपक्षी विकास फर्म ३ लाखमा २०७३ सालमा स्थापना गरेर सञ्चालनमा रहेको पनि उनको विवरणमा उल्लेख छ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ताप्लेजुङको पाथीभरा याङ्वरक २ मा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्। श्रीमतीको नाममा फुङलिङ-४ मा ५ रोपनी ३ आना जग्गा रहेको उनले बुझाएको विवरणमा उल्लेख गरिएको छ। मेन्याङ्बोको नाममा इटहरी ६ मा १६ धुर जग्गा रहेको छ।

उनीसँग श्रीमती र आफ्नो गरी ७ तोला सुन, विभिन्न बैंक खातामा ३ लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको उल्लेख छ। मन्त्री मेन्याङ्बोसँग विभिन्न चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता शेयर छ।

पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यसँग ललितपुर, विराटनगर र मोरङको बुढीगंगामा घर तथा जग्गा भएको उल्लेख छ। मन्त्री आचार्यको नाममा ललितपुर सुनाकोठी ९ (क) को ७०४ कित्ता नम्बरमा ९ आना र १२८१ कित्ता नम्बरमा १ आना २ पैसा जग्गा रहेको र उक्त जग्गामा साढे दुई तले पक्की घर रहेको उल्लेख छ।

यस्तै विराटनगर महानगरपालिका १ (ख) ३१७८ कित्ता नम्बरमा १५ धुर जग्गामा साढे दुई तले पक्की घर रहेको उल्लेख छ। मोरङको साबिक हात्तीमुढा गाउँपालिका वडा नम्बर ४ मा व्यावसायिक आम्दानीमार्फत २६३० वर्ग मिटर जग्गा खरिद गरेको, साबिक हात्तीमुढा २ नम्बर वडामा १९४७ वर्ग मिटर जग्गा रहेको विवरणमा उल्लेख छ।

व्यावसायिक आम्दानी स्रोत राखेर उनले हात्तीमुढाकै २ (क) मा २०३१.७१ वर्ग मिटर जग्गा ३ लाखमा खरिद गरेको उल्लेख गरेका छन्।

मन्त्री आचार्यसँग २० तोला सुन र ५० तोला चाँदी रहेको छ। ललितपुर र विराटनगरको घर उनले पैतृक र व्यावसायिक सम्पत्तिबाट खरिद गरेको उल्लख गरेका छन्। आचार्यसँग ४५ लाख बैंक मौज्दात रहेको छ।

उनीसँग विभिन्न कम्पनीमा ८० लाखको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। एनस्याट प्रा.लि. काठमाडौँमा ३३ प्रतिशत शेयर ३० लाखमा र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौँमा ५० प्रतिशत शेयर ५० लाखमा खरिद गरेको विवरणमा देखाइएको छ।

आचार्यले आफूले ८५ लाख ऋण लिएको विवरण पेश गरेका छन्। प्रभु बैंक लैनचौर शाखाबाट ५ लाख र दुहबी ८ का ओम थापाबाट ८० लाख रुपैयाँ ऋण लिएको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।

पर्यटनमन्त्री आचार्यसँग ४१ लाखमा खरिद गरेको हुण्डाइ क्रेटा पनि रहेको छ। मन्त्री आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँसमेत हुन्।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले श्रीमती इन्दिरा कार्कीको नाममा झापा बिर्तामोड ३ मा १ कट्ठा जग्गा, मोरङ सुन्दरहरैंचा १ मा १ विगाहा १० कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

चापागाईंसँग ३ तोला सुन र ५ तोला चाँदी रहेको उल्लेख छ। यस्तै उनीसँग विभिन्न बैंकमा गरी १ लाख ८७ हजार रुपैयाँ बैंक मौज्दात रहेको विवरणमा उल्लेख छ। उनले विभिन्न कम्पनीको शेयर पनि खरिद गरेका छन्।

उनले पेश गरेको विवरणअनुसार उनीसँग अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र श्रीमतीको नाममा गरी १.२५ प्रतिशत शेयर  र अपर सोलुमा पनि ०.४८ प्रतिशत शेयर रहेको उल्लेख छ।

घर बनाउन, जग्गा खरिद गर्न, शेयर खरिद गर्न र चुनाव लड्नका लागि आफूले  इष्टमित्र र आफन्तजनबाट १ करोड २० लाख रुपैयाँ ऋण लिएको उनले उल्लेख गरेका छन्। चापागाईले श्रीमती इन्दिरा कार्कीको नाममा दुई लाखमा खरिद गरेको एउटा स्कुटर भएको विवरण पेश गरेका छन्।

यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलासँग झापाको बिर्तामोड ७ मा विभिन्न कित्तामा गरेर ३० कट्ठा ५ धुर जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्। उनीसँग ५० तोला सुन र ५ सय तोला चाँदी रहेको छ।

यस्तै सिटौलाले आफूसँग ३० लाखको कार र २ लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको  सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीसँग काठमाडौँ ३२ नम्बर वडामा १३७ वर्ग मिटर जग्गा रहेको उल्लेख गरिएको छ। उक्त जग्गा २०५८ सालमा ४६ लाख ५० हजारमा खरिद गरेको विवरणमा उल्लेख छ।

यस्तै पैतृक सम्पत्तिका नाममा उनले सोलुखुम्बुको सोलुदुधकुण्डको ६ नम्बर वडामा विभिन्न कित्तामा गरी १०६९२.५० वर्ग मिटर जग्गा रहेको विवरण पेश गरेका छन्।

राजभण्डारीसँग नगद १० लाख ७६ हजार रहेको विवरणमा उल्लेख छ। उनीसँग ३ तोला सुन रहेको छ। यस्तै उनीसँग विभिन्न कम्पनीमा गरेर ५६ हजार ३५० थान शेयर रहेको छ। सोलुखुम्बु ग्रुपमा ३० हजार कित्ता, बेनी हाइड्रोमा २० हजार र सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।

२८ लाखमा खरिद गरेको टाटा सुमो र २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, २ थान मोटरसाइकल र १ थान स्कुटर रहेको राजभण्डारीले पेश गरेको विवरण्मा उल्लेख छ। यस्तै विवरणमा मन्त्री राजभण्डारीले २० लाख रुपैयाँ ऋण देखाएका छन्।

स्वास्थ्यमन्त्री निर्मला लिम्बूले ताप्लेजुङ फुङलिङ ६ र ललितपुरको सानो हात्तीवन जग्गामा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। उनले घर र जग्गाको विवरण भने खुलाएकी छैनन्। उनीसँग झापामा पनि जग्गा रहेको उल्लेख छ।

यस्तै लिम्बूसँग २२ तोला सुन रहेको र ३५ तोला चाँदी रहेको उल्लेख गरिएको छ। अलैँची व्यवसाय र उद्योगमार्फत सुनचाँदी खरिद गरेको विवरणमा उल्लेख छ। मन्त्री लिम्बूको नाममा एउटा स्कुटर र युमा कपडा उद्योग रहेको उनले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-04-11 11:11:00

प्रतिकृया दिनुहोस्