भयावह बन्दै वायु प्रदूषण

विश्वमा वायु प्रदूषणको समस्या बर्सेनि बढ्दै गइरहेको छ। जसका कारण मानवीय जीवनमा धेरै चुनौतीहरु खडा भइरहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वको ठूलो र मुख्य समस्याका रुपमा वायु प्रदूषण रहेको उल्लेख गरेको छ। डब्ल्युएचओले सन् २०२१ काे नोभेम्बरमा सार्वजनिक गरेको तंथ्याकअनुसार वायु प्रदूषणका कारण प्रत्येक वर्ष लगभग ७० लाख मानिसहको अल्पायुमै मृत्यु हुने गरेको छ। त्यसमा पनि धेरैजसो मृत्यु विकासोन्मुख राष्ट्रमा हुने गरेको छ।

यससँगै डब्ल्युएचओले आफ्ना १९४ सदस्य राष्ट्रहरुलाई वायु प्रदूषण गराउने ग्याँसको उत्सर्जन कम गर्न र जलवायु परिवर्तनका सम्बन्धमा काम गर्न आग्रह गरेको थियो।

डब्ल्युएचओको तंथ्याकअनुसार नेपालमा पनि वायु प्रदूषणको समस्या दिनप्रतिदिन बढ्दो रुपमा छ। नेपालको परिप्रेक्ष्यमा हेर्दा सबैभन्दा बढी वायु प्रदूषण काठमाडौंमा हुने गरेको छ।

हाल काठमाडौंको वायु प्रदूषणकाे वर्षभरिको एभरेज प्रदूषण दर हेर्ने हो भने विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा १० गुणा बढी छ। डब्ल्युएचओको मापदण्डअनुसार प्रदूषण दर ५ पिएम (परक्युबिक) हो। तर नेपालमा यसको ठिक दश गुणा बढी ५० परक्युबिक छ।

सामान्यतया हावामा नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड हुन्छ। जुन एउटा कम्पोजिसनमा मिलेर रहेको हुन्छ। त्यो कम्पोजिसनमा फेरबदल भयो भने हावा प्रदूषित हुन्छ। तर कति प्रतिशतसम्म फेरबदल भयो भने वायु प्रदूषण हुन्छ त्यो भने डब्लुएचओले मापदण्ड तोकेको हुन्छ।

हालै मात्र आईक्यु एयरले सार्वजनिक गरेको वायु गुण्स्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका १३१ देशहरुमध्ये धेरै वायु प्रदूषण हुने देशहरुमा नेपाल १६औँ नम्बरमा पर्छ। जसकारण नेपालमा हालसम्म वायु प्रदूषणबाट ४२ हजारभन्दा मानिसको मृत्यु भइसकेको छ।

वायु प्रदूषणको एक प्रमुख कारण धुँवा-धुलो मानिन्छ। कलकारखाना, जंगलमा लागेको डढेलोबाट तमाम किसिमका हानिकारक तत्व हावामा मिसिन्छन्, जसले पर्यावरणमा प्रदुषण फैलाउँछ। दोस्रो सबैभन्दा ठुलो कारण आवादी (जनसंख्या) बढ्नु हो।

सन् २०१२ यताको तथ्याङ्क हेर्दा नोभेम्बरदेखि अप्रिल महिनामा डढेलो र आगजनीका घटना धेरै हुने गरेको छ। जसका लागि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत पौष महिनामा डढेलोका कारण अत्याधिक वायु प्रदूषण हुने बताउँदै वन जङ्गलमा डढेलो लगाउन रोक लगाएको थियो। तर, उक्त चेतावनीका बाबजुदसमेत वन जङ्गलमा हुने आगलागीमा कमी आउन सकेको छैन।

प्रदूषणले मानिसको आयु घटाउँछ

वायु प्रदूषणका कारण मानिसको आयु घटाउने एक अध्ययनले देखाएको छ। डब्लुएचओले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार विषाक्त वायुले मानिसको आयु घटाउँछ।

हेल्थ इफेक्टस् इन्स्टिट्युटले तयार पारेको अध्ययनअनुसार दूषित हावाले औसतमा १ वर्ष ८ महिना आयु घटाउँछ। यसका साथै वायु प्रदूषणका कारण तौल बढ्ने, रक्तचाप बढ्ने, मुटु तथा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण, क्यान्सर जस्ता रोगहरुको खतरा बढ्ने अध्ययनले देखाएको छ।

वायु प्रदूषणले मस्तिष्कको क्षमता घट्छ

चीनमा गरिएको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण मानिसको मस्तिष्कमा गम्भीर असर पुग्ने देखाएको छ। अनुसन्धानअनुसार जति धेरै प्रदूषण त्यति धेरै मस्तिष्कको क्षमतामा प्रभाव हुने गर्दछ। वायु प्रदूषणले अल्जाइमर्स तथा डिमेन्शियाजस्ता समस्याहरु हने गर्दछ। यसैगरी वायुमा हुने विभिन्न प्रकारका रसायनले छालासम्बन्धी रोगहरुसमेत लाग्ने अध्ययनले देखाएको छ।

प्रदूषणले भयावह बन्दै काठमाडौँ

वातावरणविद् भुषण तुलाधरका अनुसार नेपालमा वायु प्रदूषणको मात्रा बढ्दै गएको र त्यसमा पनि काठमाडौँको स्थिति भयावह बन्दै गएकाे छ। शहरी क्षेत्रमा धुलो, धुवाँ तथा गाउँमा दाउरा, गुइँठा बाल्ने हुँदा नेपालमा दिनप्रतिदिन वायु प्रदूषणको मात्रा बढ्दै गएको उनी बताउँछन्।

‘शहरमा धुलो-धुवाँको परिमाणका कारण धेरै समस्या तथा रोगहरु देखापर्नु सामान्य जस्तै भइसकेको छ। तर, त्योभन्दा धेरै गम्भीर स्थिति गाउँ-घरमा छ। जहाँ करिब ६५ प्रतिशत मानिसहरु दाउरा वा गुइँठा बाल्छन्। यसले पनि वातावरणलाई धेरै दखल पुर्याउँछ’, उनले भने।

कसरी बच्ने वायु प्रदूषणबाट?

प्रदूषणबाट बच्न सकेसम्म आफैँ सुरक्षित हुन जरुरी छ। घर बाहिर जाँदा मास्क लगाउने, छालाहरु ढाक्ने गरी कपडा लगाउने, आँखा सुरक्षित राख्न चस्मा आदिको प्रयोग  गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

प्रदूषण कम गर्नका लागि सरकारले रणनीति बनाएर अघि बढ्नुपर्ने विज्ञहरू भनाइ छ। उनीहरूका अनुसार ठूला शहरहरुमा मुख्य रुपमा प्रदूषण बढ्दै गएकाले यसलाई नियन्त्रण गर्नुपर्छ र पुराना सवारी साधन चलाउन रोक्नुपर्छ।

प्रकाशित मिति: : 2023-04-27 21:35:00

प्रतिकृया दिनुहोस्