‘मृत्यु कुण्ड’का लेखक/निर्देशकलाई जम्काभेटमा पाँच प्रश्न (भिडियाे)

BreaknLinks
BreaknLinks

नेपाली रंगमञ्चका युवा निर्देशक रविन दोङद्वारा लिखित तथा निर्देशित नाटक ‘मृत्यु कुण्ड’ काठमाडाैँकाे रातोपुलस्थित ओजस थिएटरमा मञ्चन भइरहेको छ। नाटकको प्रिमियरमा पुगेका बिएल नेपाली सेवाका सम्वाददाता रविन पुन मगर (आइडु)ले निर्देशक रविन दोङलाई जम्काभेटमा पाँच प्रश्न गरेका छन् : 


आफैंले लेखेको नाटकलाई निर्देशन गर्नु सजिलो हो कि अप्ठ्यारो ?

याे मेराे पहिलाे निर्देशन हाे। नाटक लेख्ने काम पहिले देखिनै गर्दै आएको छु। कामका हिसाबले थप जिम्मेवारी थपिएको छ। च्यालेन्जहरु त धेरै थिए। तर, राम्रो पक्ष पनि हुँदोरहेछ, मैले लेखेका र कल्पना गरेका सिनहरुलाई स्टेजमा उतार्न मलाई सहज पनि भयो। आफ्नो कथालाई न्याय दिन भरपुर लागेको छु। लेखन तथा निर्देशन एउटै व्यक्तिले गर्नु सरल काम भने होइन रहेछ।

तपाईंहरुले नाटकमा धेरै पात्र र प्रप्सहरुको प्रयोग गर्नु भएछ ? यसले नाटकमा अलिबढी समस्या थपेको हो ?

उम, यसो छ नाटकको कथाले मागेका पात्रहरुलाई देखाउने प्रयास गरेका छौँ, अलिबढी पात्रहरु छन्। प्रप्स र पात्र प्रयोगको रुपमा भने आज हामी पहिलो दिन प्रिमियरमा छौँ। गल्ती कमजोरी कम गर्दै जाने क्रम जारी रहने छ। पात्रहरु प्रप्ससँग युज टु भइरहनुभएको छ।

धेरै फिल्म र नाटक साहित्यले कर्णालीलाई छुटाउँदैनन् यहाँ पनि किन छुटेन होला ?

हामीले समाजको कुरा बोल्ने हो। समाजमा भएका घटनाक्रमहरुलाई कुनै क्षेत्र र भूगोल विशेष मात्रै प्रयोग गरिएको त हैन। अझ यो नाटकमा कर्णाली किन बढी भन्ने विषयमा चाहिँ, देशभित्रका पीडाहरु उठाउने क्रममा कर्णालीको कथा पनि मिसिएको हो। अर्को कुरा हाम्रो राज्यको केन्द्रबाट हेर्दा कर्णाली टाढा र अभावमा छ। त्यसैले गर्दा पनि कर्णालीको कथा पनि मिसिएको हो। कर्णालीकै कथा बेच्नुपर्छ भन्ने हिसाबले मात्रै लेखेको चाहिँ हैनौँ।

देशभित्रका धेरै युवाको सपना मरिरहेको छ, उमेरसँग सपना परिवर्तन भइरहेको छ, बास्तवमा सपना कसकाे बाँचिरहेको छ ?

तपाईंले एकदमै गाह्राे प्रश्न गर्नुभयो। सपना कसकाे बाँचिरहेको छ भन्ने प्रश्नको जवाफ त ठ्याक्कै दिन सकिन्न। तर, सपना कसकाे लागि बाँच्ने ? आफ्नो सपना मारेर कसका सपनामा बाँच्ने भन्ने प्रश्न दर्शकका मनमा खेलिरह्योस् भन्ने नै हाम्रो उद्देश्य हो। सपना, राज्य, समाज, परिवार कसका लागि ? यी प्रश्नहरुको उत्तर खोज्न म दर्शकलाई नै जिम्मा दिए।

नेपालीका लागि मृत्यु कुण्ड नेपाल हो कि विदेश ?

नाटकको नाम सुन्दा त्यो देखिन्छ। हामीले नाटकमा दुबै ठाउँको कथा प्रसंग देखाएका छौँ। बास्तवमा शरीर मर्नु मात्रै मृत्यु होइन, सपना मर्नु, युवाको भविष्य मर्नु, संस्कृति मर्नु, कसैको सम्भावना मर्नु, भावना मर्नु पनि मृत्यु हो भन्ने कुरा हामीले देखाउन खोजेका छौँ।

भिडियाे:

प्रकाशित मिति: : 2023-05-04 16:55:00

प्रतिकृया दिनुहोस्