‘दलित भएकै कारण शिक्षकबाट कुटाइ खाएँ, श्रीमान हुँदाहुँदै विधुवाको जिन्दगी जिउँदैछु’

उनी विवाहित हुन्। श्रीमान जिवितै छन् तर उनको सिउँदोमा सिन्दुर छैन। गलामा मंगलशुत्रा र हातमा चुरा पनि छैनन्। उनलाई आफ्नै श्रीमानले कुटेर हातका सबै चुरा फुटाइदिए। शिरमा सजाएको सिन्दुर पुछ्दै ‘अबबाट मेरो नामको सिन्दुर कहिल्यै लगाउने होइन’ भनेर घरबाट निकालिदिए। उनले पनि श्रीमानले भनेजस्तै गरिन्। न कहिल्यै शिरमा श्रीमानकाे नामको सिन्दुर लगाइन्, न त मंगलशुत्रा र चुरा नै सजाइन्।


यो कहानी हो, भारतको मध्यप्रदेशस्थित रीवा जिल्लाको सिया दुलारीको। सिया दलित आदिवासी महिला तथा बच्चाको लागि काम गर्छिन्। उनले हालसम्म ५० भन्दा धेरै गाउँका हजारभन्दा बढी बच्चाहरुलाई स्कुल पर्याउन ठुलो भूमिका खेलेकी छन्।

सिया एक दलित परिवारकी थिइन्। उनका बुबा बन्धुवा मजदुर थिए। आफू बन्धुवा मजदुर भएपनि छोरीलाई पढाउने र अफिसर बनाउने उनको इच्छा थियो। सियाका बुबालाई गाउँलेहरुले ‘छोरी पढाएर मास्टर्नी बनाउँछस् कि क्या हो? बरु गाई-बाख्रा चराउन पठाउ, त्यसबाट पैसा आउँछ’ भनेर सुझाउँथे। तर आफूले पढ्न नपाएको झोँक थियो, उनलाई। त्यसैले त गाउँलेका अनेकन खिसीटिउरीका बाबजुद सियाको बुबाले उनलाई पढाउन छाडेका थिएनन्।

गाउँलेको अनेकन खिसीटिउरी खेप्दा समेत छोरी पढाउन नछोडेका उनले श्रीमतीको मृत्युपछि भने पढाउन सकेनन्। सिया १४ वर्षकी हुँदा उनकी आमाको हैजाका कारण मृत्यु भयो। बुबाले आमाबिनाको छोरीलाई गाउँका केटाहरुले नराम्रो नजर लगाउने भन्दै विवाह गरिदिए।

सियाको सानैदेखिको सोच थियो, धेरै पढेर सबैलाई ज्ञानको ज्योति फैलाउने। तर उनले कक्षा आठभन्दा माथि पढ्न पाइनन्। पढेर ज्ञानको ज्योति फैलाउने सियाको सपना आमाको मृत्युसँगै टुट्दै गयाे।

‘मलाई सानैदेखि धेरै पढ्न मन थियो। तर आमाको मृत्यु भएपछि मैले पढ्न पाइनँ। गाउँमा फटाहाहरूको धेरै डर हुन्थ्याे, त्यही भएर होला मेरो पनि छिटै विवाह गरिदिनुभयो’, उनले भारतीय मिडिया भाष्करसँग भनेकी छन्, ‘आमाको हैजाका कारण मृत्यु भएपछि बाबाले मभन्दा दश वर्ष जेठो केटोसँग विवाह गरिदिए। बुबाले फटाहाहरुबाट बच्नको लागि विवाह गरिदिनुभएको थियो। तर म आफ्नै श्रीमानबाट हेपिन थालेँ।’

०००

सियाका अनेकन सपना तथा रहर थिए। सानैमा आमा गुमाएकी उनले विवाहपश्चात श्रीमानकाे साथ अनि माया पाउने सोचेकी थिइन्। तर उनको सोच उल्टो भयो। श्रीमानले सधैँ केही न केही बहाना बनाउँदै उनीमाथि कुटपिट गर्थे।

‘जब म ससुराल पुगेँ, तब मेरो दुःखको दिन सुरु भयो। सुख के हो कहिल्यै महशुस गर्न पाइनँ’, उनले भनिन्, ‘श्रीमानले कुनै कुरामा साथ दिएको याद छैन। ‘माया’ त परै जाओस्, मलाई देखे पनि सहनु हुन्थेन। त्यसैले मलाई दिनहुँ जनावरलाई जस्तै गरी पिट्नुहुन्थो’, उनले आफ्नो विगत सुनाइन्।

मानिस न हो, कतिन्जेल सहन सक्छ र? निर्जिव वस्तुमाथिको जस्तो कुटाइ र दिनहुँको ज्यादती। उनले १२ वर्षसम्म श्रीमानकाे कुटाइ र अपहेलना सहिरहिन्। त्यसपछि उनी श्रीमानसँग छुट्टिन्।

जतिबेला सिया श्रीमानसँग छुट्टिन्, त्यसबेलादेखि भने उनका रहरहरुले पखेटा फिजाउन थाले। उनका अधुरा सपनाहरु पूरा हुन थाले। यसै क्रममा सिया एक दलित तथा आदिवासी संस्थामा आबद्ध भइन् र आदिवासी तथा गरिबीका कारण विद्यालय जान नसकेकोहरुलाई विद्यालय फर्काउने काम गर्न थालिन्।

उनी आफूले पढ्न नपाए पनि अरुले भने पढेकाे हेर्न चाहन्छिन्। त्यसैले त उनी टाढा-टाढाका गाउँमा समेत पुग्छिन् र अरुका लागि दिनरात खटिन्छिन्। सिया दलित भएका कारण दुःख भोग्नुपरेको र शिक्षकले समेत भेदभाव गरेको बताउँछिन्।

‘मलाई ती दिनहरु अझै याद छन्। जुन समयमा म स्कुल जान्थेँ। दलित भएकोले मैले धेरै दुःख भोगेको छु’, उनले भनिन्, ‘गाउँका उच्च जातका मानिसहरु अघिअघि हुन्थे तर उनीहरुलाई छोइएला भनेर म सधैँ पछाडि हिड्थेँ। यदि केही गरी झुक्किएर उनीहरुभन्दा अघि पुगेँ भने सँगै भएका मास्टरले कुट्थे।’

०००

अनकौँ अड्चनलाई सहँदै सियाले कक्षा सातसम्मको पढाइ आफ्नै गाउँमा पूरा गरिन्। तर त्योभन्दा माथिल्लो कक्षामा पढ्न उनलाई उच्च जाति भएका गाउँमा जानुपर्थ्याे। दुई वर्षसम्म त सियाले उच्च जाति तथा मास्टरका अनेकन घोचपोच सहँदै अध्ययन गर्दै थिइन्। तर आमाको मृत्युले भने उनको पढाइमा पूर्णविराम लाग्यो।

उनी आमाको मृत्युपश्चात पढ्न नपाएको बताउँदै आफूले जस्तै दुःख पाएकाहरुको साथमा लागिपरिरहेका बताउँछिन्। ‘म आठ कक्षामा पढ्दै थिएँ, गाउँभर हैजाको महामारी फैलियो’, उनले भनिन्, ‘त्यस दिन मेरी आमा पनि उच्च जातिकोमा काम गर्न जानुभएको थियो। तर कामबाट फर्केपछि उहाँ बिरामी पर्नुभयो र उनको मृत्यु भयो। आमाको मृत्युपछि बुबाले स्कुल जान बन्द गरिदिनुभयो र विवाह गराइदिनुभयो। त्यसपछि मैले पढ्न पाइनँ। तर मैले पढ्न नपाएर के भयो मैले मजस्तै हजारौँ नानीबाबुहरुलाई स्कुल पठाइसकेँ। उनीहरुकै लागि गरिरहन्छु।’

उनी आफ्नो कामप्रति धेरै खुसी छिन्। तर त्योभन्दा कयौँ गुण दुखी विधुवाको जस्तो जिन्दगी जिउँदा छिन्। ‘चुरा फुटाउने, टिका पुछिदिने भनेको श्रीमानकाे मृत्यु हुँदा हो। तर मलाई उल्टै मेराे श्रीमानले विधुवाजस्तो बनाए’, उनले सुनाइन्, ‘पानी लिन धेरै टाढासम्म जानुपर्थ्याे। एकदिन पानी ल्याउन ढिला भयो। त्यस दिन श्रीमानले लठ्ठीले कुट्दै मेरो नामको सिन्दुर र चुरा केही लगाउने होइन भन्दै चुरा फुटाइदिए, निधारबाट टिका फालिदिए अनि साडी जलाइदिए। त्यसै दिनदेखि उसले भनेको जस्तै गरेँ।’

हाल सियाले ‘रेवाञ्चल दलित आदिवासी सेवा संस्था’ सञ्चालन गर्दै आएकी छिन्। उनको संस्थाले हालसम्म हजारभन्दा बढी बालबालिका तथा सयौँ हिंसा पीडितहरुलाई उद्धार गरिसकेको छ।

प्रकाशित मिति: : 2023-05-21 20:15:00

प्रतिकृया दिनुहोस्