आदिपुरुष: समय र पैसाको बर्बादी

Breaknlinks
Breaknlinks

रिलिजपूर्व नै अनेकौँ विवादमा परेको र निर्माण पक्षबाट वाल्मीकि रामायणमा आधारित पौराणिक एक्सन सिनेमा दाबी गरिएको ‘आदिपुरुष’ शुक्रबार (१६ मे)को दिन रिलिज भएकाे छ। अन्यायमाथि न्यायको जितको कथालाई निर्देशक ओम राउतले नयाँ पिँढीका दर्शकहरुको लागि आधुनिकीकरण गरेका छन् र मुख्य विवाद यसैबाट सुरु भएको छ।

सिनेमाको कथा लङ्कापति रावणकी बहिनी सुपर्णखाको नाक काट्नेदेखि सुरु भएर रावणको मृत्युमा गएर सकिएको छ। उपकथाको लागि पनि हामी सबैले सुनेको रामकथा नै छ तर यसलाई नाटकीय रुपमा प्रस्तुत गरिएको छ। ‘शिवधनुष भाँचेर मलाई पाएका रामले अब रावणको घमण्ड समाप्त गर्नु पर्छ’ भनेर सीताले हनुमानसँग गरेको यो सम्वाद नै यो सिनेमाको प्रमुख कथा सार हो र सिनेमालाई अगाडि बढाउन हामीले सुन्दै आएको जटायु-रावण युद्ध, शबरीको कथा, बाली-सुग्रीव युद्ध, रामसेतुको निर्माण, हनुमानद्वारा सञ्जीवनी जीवनी बुटी ल्याउन पाहाड नै बोकेर ल्याउने, इन्द्रजीत र मेघनाद वधजस्ता सबै प्रसङ्ग देखाइएको छ।

सिनेमाको कथा पौराणिक भएकोले कलाकारहरुको अभिनयभन्दा पनि उनीहरु त्यो रुपमा देखिन्छन वा देखिन्नन् भन्ने विषय प्रमुख हुन् जान्छ। पंतिकारले भने राम (प्रभास), सीता (कृति सेनन), रावण (सेफ अलि खान), हनुमान (देबदत्त नागे), सुपर्णखा (तेजस्विनी पण्डित) आदि कसैलाई पनि त्यो रुपमा ग्रहण गर्न सकेन। सञ्चित र अन्कित बल्हाराको पार्श्व सङ्गीत उच्चस्तरको भएपनि अजय अतुलको सङ्गीतमा कुनै पनि गीत वा भजनले दर्शकहरुलाई छुन सक्दैन। आधुनिक प्रविधि भिएफएक्सको माध्यमद्वारा जनावर सक्कलीजस्तै देखिएको छ र क्लाइमेक्सको युद्ध अत्यन्तै आकर्षक लाग्छ।

सीता भारतमा जन्मेकी हुन् भन्ने सम्वाद सिनेमामा भएको र काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उक्त सम्वादलाई नसच्चाए सिनेमा चल्न नदिने भनेपछि त्यो सम्वादलाई सच्चाइएको भन्ने समाचार आए पनि त्यो सम्वाद कुन दृश्यमा देखाइएको र सच्चाइएको हो त्यो भेउ पाउन सकिएन, जो पंतिकारको कमजोरी हो। यसको साथै केही सम्वादहरु अत्यन्तै तल्लोस्तरको छ र त्यसको लागि सम्वाद लेखक मनोज मुन्तसिर जिम्मेवार छन्, झनै मुन्तसिरले भारतीय टेलिभिजनहरुलाई नेपाल-भारतको एक भाग भएको दाबी गरेबाट उनी मानसिक रोगी हुन् कि भन्ने शङ्का गर्न सकिन्छ।

विशेष गरेर हिन्दू धर्मालम्बीहरुको आस्थाको कथालाई यस्तो गाईजात्रे तरिकाबाट प्रस्तुत गरेर निर्देशक राउत सतप्रतिसत असफल भएका छन्। ‘सिनेम्याटिक लिबर्टी’को नाममा दर्शकहरुसँग यो प्रकारको भद्दा मजाक निर्देशक राउतले किन गरे त्यो उनलाई नै जानकारी होला तर दुई घण्टा ५९ मिनेट लामो यो सिनेमा हेर्नु भनेको समय र पैसा दुबैको बर्बादी हो अर्थात् यो सिनेमाले कुनै कोणबाट पनि ज्ञान वा मनोरञ्जन दिन सक्दैन।

@twitter#naviinr

ट्रेलर :

प्रकाशित मिति: : 2023-06-18 19:20:00

प्रतिकृया दिनुहोस्