रवि लामिछानेको दोहोरो राहदानी प्रकरण

रविको पासपोर्ट प्रकरणबारे अनुसन्धान गर्न तीन निकायबाट कागजात झिकाउने निर्णय

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ।

युवराज पौडेल (सफल)ले मंगलबार दिएको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीको विषयमा छानबिन थालेको हो। लामिछानेको राहदानीका विषयमा छानबिन गर्न कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागबाट कागजात मगाइएको छ।

लामिछानेले झुटो विवरण दिई राहदानी लिएको भन्दै पौडेलले पाँच वर्ष कैदको माग गर्दै उजुरी दिएपछि कार्यालयले तीनवटै निकायलाई पत्राचार गरेर कागजात मगाएको हो। ती कार्यालयबाट आएको जवाफका आधारमा सरकारी वकिलको कार्यालयले थप प्रक्रिया अघि बढाउनेछ।

नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि १३ माघमा लामिछानेले प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीको पद गुमाउनुपरेको थियो।

अमेरिकाको राहदानी र नागरिकता हुँदाको बखत नै नेपाली राहदानी लिएको भन्दै पौडेलले लामिछानेमाथि कारबाही गर्न माग गर्दै दिएको निवेदन प्रहरीले दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेका हुन।

कागजातको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले  लामिछानेमाथि मुद्दा चलाउनुपर्ने नपर्ने निर्क्योल गर्नेछ। यदी मुद्दा चलाउनुपर्ने भएमा प्रहरीलाई दर्ता गरी आवश्यक अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले निर्देशन दिनेछ।

प्रकाशित मिति: : 2023-02-09 14:47:00

प्रतिकृया दिनुहोस्