दाङमा वडाध्यक्षले कुटे कर्मचारी !

दाङमा वडाध्यक्षले कर्मचारीलाई कुटपिट गरेका छन्। शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल वलीले गाउँपालिकाका शिक्षा शाखा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेका हुन्। 

बिहीबार दिउँसो ४ वडाध्यक्ष वलीले पाण्डेलाई गाउँपालिकाको कार्यालयमा नै कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए। वडाध्यक्ष वलीले सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण मावि सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल मागेका थिए। 

सोही फाइलका विषयमा तर्कबितर्क भएपछि वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल नै च्यातेको र शिक्षा शाखा अधिकृत पाण्डेलाई कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए। 

वडाध्यक्षले कर्मचारीलाई हातपात गरेपछि कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइएको छ। पालिकाले जिल्ला प्रशासन कार्यालय दाङलाई निवेदन लेख्दै कार्यकक्षमै प्रवेश गरेर कर्मचारीमाथि हातपात भएको भन्दै वडाध्यक्ष वलीलाई कानूनबमोजिम आवश्यक कारबाही गर्न माग गरेको छ।

वडाध्यक्ष वली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार भएर विजयी भएका थिए। यसअघि गएको फागनुमा वडा नम्बर २ मा रहेको बहुला खोलामा उत्खनन्का विषयमा विवाद हुँदा वडाध्यक्ष वलीले गाउँपालिका प्रमुख प्रशासकीय अधिृकत र गाउँपालिका अध्यक्षलाईसमेत दुव्र्यवहार गरेका थिए। 

यस्तै गएको बैशाखमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ का वडाध्यक्ष विनोदसिंह विष्टले कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव नेत्र कार्कीलाई मुक्काले हानेका थिए। उक्त मुक्का हानेको भिडियो निकै भाइरल भएको थियो। 

प्रकाशित मिति: : 2023-06-22 23:00:00

प्रतिकृया दिनुहोस्