धान खेतबाट झार गोड्ने किसानी हातहरू (फोटोफिचर)

जताततै हरियाली लिएर आएको छ साउन, हरियो फेसनले सहर पूरै छाएको छ। चउर, पाखा, पखेराहरू हरियाली छन्।

प्लटिङबाट बचेका यहाँका खेतहरूमा धानका बेर्ना हरिया भएका छन्। बचेखुचेका यी खेतबारीमा गाँजिन थालेका धानहरू अब गोड्ने बेला भइसकेको छ। र, रोपाइँ सकेका किसानहरूमा फेरि त्यसैको चटारो छ।

यसपालि वर्षा ढिला भयो तर उपत्यकाभित्र लगभग सबै खेतहरूमा रोपाइँ सकिसकेको छ। मल अभावमा पनि धान हलहल बढेको छ।

रोपाइँ सकिएपछि किसानहरुलाई धान गोड्ने चटारो छ। बर्साती, हँसिया, कुटो-कोदालोसङ्गै किसान खेतमा धान गोड्दैछन्। झार उखेल्दै छन्।

हातगोडा खेतको हिलोले हिलाम्मे छन्, सिङ्गो शरीर पसिनाले निथ्रुक्क। र, पनि धानखेतमा रमाएका यी किसानी मुहारमा उज्यालो मुस्कान छ।

शंखरापुर नगरपालिकाभित्र पर्ने साँखु थली सडकखण्ड आसपासका खेतमा धान गोड्नमा व्यस्त छन्, किसानहरू। टाउकोमा हरिया-राता रङ्गिन गम्छा। हातमा पहेँला-हरिया चुरा, निधारमा रातो टिकी, हँसिया र कुटोसङ्ग खेतमा छन्, महिलाहरू।

‘हाम्रो फोटोमात्रै खिच्ने हैन, हामीले मल नपाएको कुरा पनि सरकारसम्म पुर्‍याइदिनुस् है पत्रकार सर…’ फोटो खिचिरहेका पत्रकारहरूलाई किसानहरू भनिरहेका हुन्छन्।

फोटो खिच्दा खिच्दै पत्रकारहरू जवाफ दिन्छ- हवस्…!

प्रकाशित मिति: : 2023-07-27 14:24:00

प्रतिकृया दिनुहोस्