टमाटरले बिथोलेको भान्छा

केही महिनाअघि पाँच रुपैयाँमा नबिकेको भनेर किसानहरूले सडकभरि छरेको टमाटरको मूल्य एकाएक आकाशिएको छ। नेपाली बजारमा एक किलो टमाटरकै अहिले २०० रुपैयाँभन्दा धेरै मूल्य पर्छ।

प्रतिकिलो पाँच रुपैयाँमा समेत बिक्री नभएपछि डेढ महिना अघिमात्र काठमाडाैँका कृषकहरुले करिब ६ हजार हेक्टर क्षेत्रफलमा लगाएकाे टमाटर सडकमा फालेर बिरोध जनाएका थिए।

प्रतिकिलो ५० रुपैयाँमा पाइने गोलभेँडा कालीमाटी तरकारी बजारमा नै १ सय ५० देखि १ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। बाहिर बजारमा २०० भन्दा धेरै।

कालीमाटी तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार गत वर्ष साउनको तुलनामा यस वर्षको साउनमा कतिपय तरकारीको मूल्य २९६ प्रतिशतसम्मले वृद्धि भएको छ।

कालीमाटी तरकारी बजारमा हाल सबैभन्दा धेरै मूल्यवृद्धि गोलभेँडामा भएको छ। गत वर्ष यही समयमा प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेँडा अहिले १५० रुपैयाँसम्म प्रतिकिलो पुगेको छ।

गोलभेँडामा देखिएको यो मूल्यवृद्धि २४७ प्रतिशत बढी हो। गत वर्ष ३८ रुपैयाँमा पाइने लोकल सानो गोलभेँडा हाल ७० देखि ८० रुपैयाँ पुगेको छ। प्रतिकेजी ४५ रुपैयाँमा पाइने टनेलको सानो गोलभेँडाको मूल्य ९५ देखि ११० रुपैयाँसम्म पुगेको छ। जुन गत वर्षको तुलनामा १२० प्रतिशत बढी हो।

गोलभेँडा मात्रै होइन हाल नेपाली बजारमा अधिकांश तरकारीको मूल्य निरन्तर उकालो लागेको छ। थोकदेखि खुद्रा बजारसम्ममा नै तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ।

आलु प्रतिकिलो ५०, काउली ७०, हरियो धनिँया १ सय ५०, साग प्रतिकिलाे ९० रुपैयाँ छ। यो काठमाडौँको स्थानीय तरकारी बजारको मूल्य हो। यस मूल्य ठाउँअनुसार फरक–फरक छ। बोडी, भन्टा, बन्दा, तितेकरेला, भेँडेखुर्सानी, साग, हरियो प्याज, घिउसिमी, भिन्डीलगायत हरियो सागपात आदि सबैमा उच्च मूल्यवृद्धि भएको छ।

यस्तै यस वर्ष अदुवाको मूल्यमासमेत उच्च वृद्धि भएको छ। गत वर्ष ६५ रुपैयाँ किलोमा बिक्री भएको अदुवा हाल २५० रुपैयाँमा बिक्री भइरहेको छ।

तरकारीमा भएको उच्च मूल्यवृद्धिले विशेषत दैनिक श्रम गर्ने नागरिक मारमा परेका छन्। भान्छामा सबैभन्दा धेरै खपत हुने तरकारीको मूल्य आकाशिँदा आमनागरिकको भान्छामा असर पार्न थालेको छ।

कुनै समयमा कालीमाटी छिरेर झोलाभरि तरकारी बोक्ने नागरिक अहिले एकथरि तरकारीमात्रै लिएर फर्कन बाध्य छन्। त्यसमाथि गोलभेँडा आमनागरिकले किनेर खान सक्ने अवस्था छैन।

मूल्य आकाशिँदा घट्दै छन्, उपभोक्ता

केही सातादेखि भइरहेको गोलभेँडाको उच्च मूल्यवृद्धिले उपभोक्ताहरु गोलभेँडाको मूल्य सोध्ने तर नकिन्ने गरेको पसल सञ्चालक बताउँछन्। उपभोक्ता तरकारीमा भइरहेकाे मूल्यवृद्धिका कारण भान्छामा धेरै समस्या उत्पन्न भएको बताउँछन्।

‘दुई महिनाअघि ५० रुपैयाँमा किनेको गेलभेँडाको मूल्य अहिले १५० रुपैयाँ पुगेछ। किनेर खान सक्ने अवस्था नै छैन’, गोठ्ठाटार बस्दै आएका पुष्प बस्नेतले भने। उनी मात्र हाेइन, अहिले सबै उपभोक्ता महंगीको चर्को मारमा छन्।

‘सधैँ किनेर खानुपर्ने ग्राहकको लागि महंगीले धेरै समस्या परेको छ, अब तरकारी किनेर खान सकिँदैन जस्तो छ’, उनले चिन्ता व्यक्त गर्दै भने।

हाल काठमाडौँमा मात्रै होइन, सबै ठाउँमा महंगीको मार उस्तै छ। तरकारी किनेर खानुपर्ने उपभोक्तालाई साँझ बिहान के तरकारी खाने ? भन्ने चिन्ता छ।

यसैगरी उपभोक्ता बद्रीमान श्रेष्ठ गोलभेँडाकाे मूल्य आफूले थाहा पाएदेखि सबैभन्दा उच्च भएको बताउँछन्। ‘१५ वर्ष भइसक्यो, म कालीमाटीमाबाट नै तरकारी लिएर जान्छु। दुई महिना अघिसम्म गोलभेँडा सस्तो थियो। हिजो लिन जाँदा त भाउ सुनेर छक्कै परेँ’, उनले भने, ‘अनि १ सय २५ रुपैयाँ तिरेर आठ किलो लिए। के गर्नु खानै पर्छ।’

त्यस्तै कालीमाटी तरकारी बजारका अर्का उपभोक्ता हुन्, लक्ष्मण चापागाई‌ं। लामो समयदेखि कालीमाटीका उपभोक्ता उनी तीन/चार महिनाको अवधिदेखि तरकारीहरुमा मूल्यवृद्धि भएको र अहिले गोलभेँडा खान छाडेको बताए। ‘तरकारी त किन्न सक्ने अवस्था नै छैन। सबै कुरामा मूल्यवृद्धि भएको छ। त्यसमाथि गोलभेँडा त झन् किन्न नसकिने भएको छ’, उनले तरकारीका पोका देखाउँदै भने, ‘आजकाल गोलभेँडा लिने गरेको छैन।’

यी उपभोक्ताहरु त केही प्रतिनिधिमुलक पात्रमात्रै हुन्। जसले महंगीको मारमा आफ्ना भान्छा नै परिवर्तन गर्नु परेको छ। उनीहरुजस्तै कयौँ छन्, जो तरकारीजन्य वस्तुमा भएको मूल्यवृद्धिले आफ्ना भान्छाको स्वरुप नै परिवर्तन गर्न बाध्य छन्।

विशेषत मूल्यवृद्धिको मार गृहिणी वर्गमा परेको उनीहरुको भनाइ छ। ‘छोराले गोलभेँडाको चटनी नभई खाना खाँदैन। अब उसलाई खाना खुवाउन पसलमा नै गोलभेँडा छैन भनेर बहाना बनाउनुपर्छ’, टेकुकी शर्मिला रेग्मीले भनिन्, ‘के गर्नु साना केटा–केटीलाई के थाहा मूल्यवृद्धि कति भएको छ।’

गोलभेँडाको मूल्यवृद्धिबारे के भन्छन्, कालीमाटीका तरकारी व्यवसायी ?

काठमाडौँमा अन्य समयमा र हालको समयमा गोलभेँडा तथा तरकारी पर्याप्त मात्रामा आयात नभएको कारण मूल्यवृद्धि भइरहेको कालीमाटीका व्यवसायीहरु बताउँछन्। माग बढी भएको तर पर्याप्त मात्रामा तरकारीहरु नआएकाे कारण मूल्यवृद्धि भएकाे व्यवसायीहरुकाे भनाइ छ।

विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका हरि थापा नेपालमा उत्पादन भएका गोलभेँडाहरु काठमाडौँमा पर्याप्त मात्रामा आयात हुन नसक्दा मूल्यवृद्धि भएको बताउँछन्। ‘पहिला जता हेरे पनि गोलभेँडाले भरिभराउ हुन्थो। अहिले कालीमाटीमा नै गोलभेँडा छैन,’ उनले भने, ‘आउनुपर्ने ठाउँबाट पठाएको छैन। अनि मूल्यवृद्धि भइहाल्छ नि।’

उनी खुल्ला बजारको नीति नै मागअनुसार चल्ने भएको हुँदा मूल्यवृद्धि भएको बताउँछन्। ‘जति माग बढी भयो उती नै मूल्य बढ्छ। अनि माग कम भयो भने मूल्य स्वतः कम हुन्छ,’ उनले भने, ‘खुल्ला बजारको नियम नै यस्तै छ। आयात कम, माग ज्यादा भएको कारणले हालको अवस्था उत्पन्न भएको हो।’

यस्तै अर्का व्यवसायी छिरिङ लामा उत्पादनमा कमी भएका कारण मूल्यवृद्धि भएको बताउँछन्। ‘डेढ महिना अघिमात्रै मूल्य नपाएर गोलभेँडा फालेपछि किसानले उत्पादनमा नै कमी गरेका छन्,’ उनले भने,‘किसानले उत्पादनमा कम गरेपछि आयात कम र मूल्यवृद्धि भएको हो।’

खपतका आधारमा उत्पादन हुने भएकाले गोलभेँडाको उत्पदनमा कमी आएको उनको बुझाइ छ। ‘यहाँ भएका गोलभेँडा सबै वरपरका जिल्लाबाट आएका छन्। उनीहरुले पहिला जति पठाउँथे उती नै छ। तर, त्यतिले मात्रै यहाँ कमी हुन्छ,’ उनले भने, ‘त्यसकारण पनि मूल्य बढेको हो।’

नेपाली उत्पादन भारतीय बाजरमा जाँदा मूल्य वृद्धि

कालीमाटी तरकारी तथा फलफूल विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ उपत्यकामा गोलभेँडाको आपूर्ति कम हुँदा मूल्यवृद्धि भएको बताउँछन्। ‘एक महिना अघिसम्म दैनिक ६० देखि ६५ टनसम्म गोलभेँडा काठमाडौँ आयात हुन्थे। तर, अहिले ३५–४० टन पनि आएको छैन,’ उनले भने, ‘आपूर्ति नै कम भएकाले मूल्य बढिरहेको छ।’

नेपाली उत्पादन भारततर्फ अथवा बढी मूल्य भएको ठाउँमा जाँदा मूल्यवृद्धि भएको उनी बताउँछन्। ‘हाल नेपाली बजारमा भन्दा भारतीय बजारमा गोलभेँडाको मूल्य हाबी भएको हुँदा नेपाली उत्पादन उतै गएका छन्,’ उनले भने, ‘७० प्रतिशत उता जान्छ भने ३० प्रतिशत मात्रै नेपालमा बिक्री भइरहेको छ। जसकारण मूल्यवृद्धि भइरहेको छ।’

पछिल्लो समय नेपालमा उत्पादन भएका तरकारीहरुसमेत भारततर्फ निर्यात हुने गरेका कारण अझै मूल्य बढ्ने श्रेष्ठ बताउँछन्। ‘हाल टमाटरको अफ सिजन हो। अफ सिजनमा उत्पादन कम हुन्छ। भएका उत्पादनसमेत मौसमका कारण बिग्रन्छन्। त्यसकारण केही समय मूल्यवृद्धि हुन सक्ने सम्भावना रहेको छ,’ उनले भने।

यसैगरी उनी वरपरका जिल्लाबाट उत्पादन घटेको र भारतबाट आयात नहुने अवस्था रहेसम्म मूल्यवृद्धि बढ्ने बताउँछन्। उनले भने, ‘हाल काठमाडौँबाट गोलभेँडा भारतर्फ गइरहेको समयमा वरपरका क्षेत्रहरुमा पनि उत्पादन कम छन्। जसका कारण भारतबाट आयात नहुने अवस्था गोलभेँडाको मूल्यमा कमी आउने अवस्था रहँदैन्।’

कहाँबाट आउँछ काठमाडौँमा तरकारी ?

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनअनुसार नेपालमा भारतबाट सबैभन्दा बढी तरकारी आयात हुने गरेको छ।

उसाे त नेपालमा तरकारी तथा फलफूल उत्पादन नहुने भने होइन्। तराईका जिल्लाहरु र काठमाडौँ वरपरका जिल्लाहरुबाट उपत्यकामा तरकारी तथा फलफूलहरु आयात हुने गरेका छन्। तर, थोरै मात्रामा।

प्रतिवेदनअनुसार काठमाडाैँमा भारतबाट सबैभन्दा बढी ४३.७८ प्रतिशत तरकारी तथा फलफूहरु आयात हुने गरेका छन्। त्यससँगै स्वदेशका चितवनबाट १४.०९ प्रतिशत, धादिङबाट १०.१८ प्रतिशत सर्लाहीबाट ९.०७ प्रतिशत, काभ्रेबाट ८.३९ प्रतिशत आयात हुन्छ। तीबाहेक अन्य जिल्लाहरु र चीनबाट ०.०७ प्रतिशत तरकारी आयात हुने गरेको छ।

 

 

प्रकाशित मिति: : 2023-08-08 17:25:00

प्रतिकृया दिनुहोस्