बुधबार, ३० जुलाई २०२५

गोली भर्सेस् गाली !

News Image
• • •

छ वर्षअघि कवि युयुत्सु आर डि शर्माले कुपण्डोलस्थित उनको लोटस बुक हाउसमा हरेक शुक्रवार कविता वाचन हुने जानकारी सहित निम्तो दिए। विश्व घुमेर कविता वाचन गर्न रुचाउने अग्लो कदका कवि युयुत्सुको निम्तो स्वीकार गरेर मैले त्यहाँ केही पटक आफ्ना कविता वाचन गरेको थिएँ। त्यहाँ त्यस्तै एक दर्जन कवि भेला हुन्थे। चिया खान्थे र रचना वाचन गर्ने गर्दथे। अनि आ–आफ्नो बिल सेटल गरेर काठमाडौं शहरको अनकण्टार भीडमा अलप हुने गर्दथे।

केही हप्ता बिते। कविता सुन्नु र वाचन गर्नु मेरो शौख भएकाले शुक्रवार म त्यहाँ जान्थेँ। केही घण्टामा नै हामी प्रायः सबैजना फ्रेश पनि हुने गर्दथ्यौँ। शहरमा बस्दाको तनाव ब्यवस्थापन गर्न कविता वाचन र श्रवण अत्यन्तै उपयोगी हुन्छन्। 

लोटस बुक हाउसमा जिन्दगीमा पहिलो पल्ट एउटा गफाडी जस्तो लाग्ने ठिकसँग लुगा नलगाएको, मैलोमैलो, पछाडि काँधमा एउटा चाइनिज ब्याग भिरेको आफूलाई कट्टर कम्युनिस्ट बताउने एउटा केटो भेटियो।

मलाई त्यहाँ भेट्नासाथ उसले मेरै पो नालीबेली सुनाउन थाल्यो। अनि ऊ बडा गज्जवसँग मेरो प्रशंशा पनि गरिरहेको थियो। आफ्नो उचाइको हेक्का राम्रोसँग भएकाले उसका कुरा सुनेर म तटस्थ बस्ने प्रयास गर्दथेँ। 

पुण्य गौतम मलाई हमेशा एक जासुस लाग्यो। मैले अनुमान गरेँ कि ऊ केवल एक पठाओ थियो। पठाओ, याने सुचना चोर्न कुनै ब्यक्ति वा संस्थाले तलबको व्यवस्था गरेरै एउटा ब्यक्तिलाई अर्को ब्यक्ति वरपर पठाउनु।

काठमाडौं शहरमा पत्रकारिता गर्दा कुनै पनि ब्यक्तिसँग भेटघाट गर्नु कामकै कुरा हुन्छ। कुनै लेखकले हिरा वा खोटा सिक्कालाई समान देख्न सक्छ। लेखकले कमलको फूल र हिलोका बारेमा उत्तिकै बयान गरिदिन सक्छ। स्वर्ग वा नर्क, फूल वा काँडा, धनी वा गरिब, दिन वा रात, जीवन वा मृत्यु– लेखकको कलम जता पनि बतासिन सक्छ। बहकिन सक्छ। बत्तिन सक्छ। 

सवाल केवल यत्ति– के त्यो लेख्नु जरुरी थियो ? 

कम्युनिस्टसँग हात मिलाउनु पर्छ भनेर भेटघाटहरुमा गोजीबाट हात ननिकाल्ने म आज सोसल मिडियामा धेरै गाली खाने एउटा पिलन्धरे कम्युनिस्ट युवाका बारेमा किन किबोर्ड ठोकिरहेको छु ? 

हाहाहा ... !

मैले पाकेटमारहरुको कथा त लेखेको छु भने, यो निम्छरो गौतम केटाका बारेमा किन नलेख्ने? किनभने, चियापसलहरुमा उसले कैयौँपल्ट आफ्नो निम्छरोपन उजागर गरेको छ। कुख्यातीलाई प्रख्याती ठान्ने यो गौतम केटाका केही फरक अन्दाज छन्। ऊ अन्तर्वार्ता लिइदिनुहोस् भनेर युट्युबरको चाकडी बजाउने मान्छे। जताबाट पनि उसलाई प्रख्यात हुनुपर्ने। राजनीतिमा शक्ति हत्याउनु पर्ने। सोसल मिडियामा जोकरभन्दा पनि घटिया हर्कत गर्ने। त्यहाँ अनेक स्टन्ट हान्ने अनि हनाउने। तल्लोस्तरका स्क्रिप्टेड फण्डाहरु गर्ने अनि गराउने।

तर यथार्थको धरातलमा उभिएर भन्नुपर्दा प्रख्यात हुन पागलदौड लगाउनेहरु पत्तै नपाइ कुख्यात हुन पुग्छन्। त्यसरी पागलदौड लगाउनेहरुको सृजना भने क्रमशः ह्रास हुनपुग्दछ।  

हाँहाँहुँहुँ ... हेहेहोहही ... भूभूभू ... भ्याऊभ्याऊ ...!!

विचारको धार छाडेर सोसल मिडियामा पुण्य गौतमहरुले गर्ने यस्तै हो। स्क्रिनमा कहिले ऊ भिजेको बिरालो देखिन्छ त कहिले भुस्याहा कुकुर जस्तो। कहिले ऊ लास जस्तो लम्पसार हुन्छ। कहिले कोसँग बाझाबाझ वा कपाल लुछालुछ गरिरहेको हुन्छ। अनि उसले बोल्ने ती बासी उच्छ्वासहरु करीब तीन कप चियाको दाममा किन्न उद्यत हुन्छन् नेपाली युट्युबर। त्यसलाई देखाएर उनीहरु मनग्ये भ्यूज पनि बटुलिरहेका हुन्छन्।

धेरै मान्छेले मलाई पो सोधे, ‘त्यो पुण्य गौतम किन बजारमा त्यसरी नांगै हिँडिरहेको छ ?’

मेरो जवाफ, ‘मलाई के थाहा ? अनि मलाई छूः मतलव ?’ 

तर पनि वरपर उठेको धुँवा उपर तत्व मीमांसा हुनसक्छ। उता साउथ इण्डियन मूभीमा जाबो एउटा झिँगो त नायक हुन पुगेको थियो। यता हामीले झुसिलकिराहरुमाथि नाटक मञ्चन गर्न किन नहुने ?   

पद वा प्रख्यातीको लोभ गर्नेहरुको मुखबाट र्‍याल बगिरहेको हुन्छ र त्यहाँ झिँगाहरु भन्किरहेका हुन्छन्। केहीबेर त्यस्ता मान्छेका कुरा सुनेपछि भनिदिन मन पनि लाग्छ, ‘सर्वप्रथम तिम्रो अनुहारमा भन्किरहेका झिँगा त धपाऊ, महाशय !’

हो, केवल त्यत्ति नै ! 

किनभने भीरबाट लड्दै गरेको गोरुलाई रामराम भन्नु रे। अन्यथा यस्तो वाहियात कन्टेन्ट किन उग्राइरहनु ? यहाँ एउटा लेखक आजकै दिनमा मौरीको कथा थाँती राखेर झुसिल्किरोमाथि तत्व मीमांसा गरिरहेको छ। केवल एक आशामा कि कतै कुनै दिन त्यो झुसिल्किरो प्युपा हुँदै पुतलीमा रुपान्तरण हुने छ। नभए पनि कुनै गम चाहिँ छैन। कलम न हो, यो मौरीका बारेमा जति चल्छ झुसिल्किराका बारेमा पनि त्यति नै चल्न सक्छ। 
    
पहिलो भेटमै पुण्य गौतमले मलाई भन्यो, ‘तपाईंका लेख र फिचरहरु पढेको छु। तपाईंका रचना विश्वस्तरका हुन्छन्। ’हगडम बगडम।
उसले थप मस्का लगायो, ‘तपाईंका छेउछाउमा उभिँदा पनि मलाई आनन्द आउँछ !’

‘हो र ?’ मैले त्यतिबेला शंका ब्यक्त गरेको थिएँ।

‘कुनैबेला तपाईं यति माथि पुग्नुहुन्छ कि त्यतिबेला मैले भन्न पाउँ कि यो मान्छेसँग मैले पनि केही भलाकुसारी गरेको थिएँ।’ उसले भनेको वाक्य यहाँ हुबहु राखिदिएँ। 

कविता वाचन सकेर थापाथली पुल छेउको एउटा चिया पसलमा उसले मलाई एक कप चिया अफर गर्यो। बिल तिर्ने मान्छे उसले साथैमा ल्याएको थियो। त्यतिबेला मेरो हातमा एउटा फ्रेन्च पाइप थियो। चिया आएपछि मैले पाइपमा आफ्नो विशेष कंकड हालेर लाइटर झोसेँ। 

गल्लीको कुकुर जसरी पसले भुक्यो, ‘यहाँ यस्तो खान पाइँदैन !’

मैले आफ्नो बुलन्द आवाज झिकेँ, ‘कस्तो खान पाइन्छ त ?’

‘सूर्य चुरोट !’ पसलेको ठाडो जवाफ आयो।

मैले पाइप बुझाएँ र चुरोट सल्काएँ। लाग्यो, यहाँ मान्छेहरु आजकल घिऊ भन्दा पानी हालेको दूध नै खाने आदतको सिकार भएका छन्।

पुण्य गौतमले यावत गफ हान्यो। उसले बतायो कि ऊ माओवादी द्वन्दमा सामेल थियो। प्रचण्ड र बाबुरामसँग क्रान्ति गरेको, मान्छेको रगतले हात रंगाएको, द्वन्दकालमा गिरफ्तार पनि भएको, कस्टडीमा हुँदा बाबुको मृत्यु भएपछि किरिया गर्न जाने बहानामा फरार भएको इत्यादि किस्साहरु उसले सुनायो।

उसलाई विश्वको कम्युनिस्ट इतिहास कण्ठै रहेछ। ऊ विभिन्न क्रान्तिकारीहरुका नाम, अनेक महत्वपूर्ण तिथीमिति, घटना विवरणहरु कण्ठस्थ सुनाउँथ्यो। बेलाबेला ऊ झ्याप देखिन्थ्यो भने बेलाबेला निकै फ्रेश पनि लाग्थ्यो। बोल्दाखेरी बेलाबेला ऊ ट्रेमर पनि गर्थ्यो।

त्यस चियापानमा मणि थापालगायत अन्य केही माओवादी युवा नेता पनि थिए। अर्को हप्ता फेरि लोटस बुक हाउसमा उनीहरुसँग भेट भयो। त्यतिबेला आफ्नो ‘मकोहुँ’ पुस्तक प्रकाशनको अन्तिम चरणमा थिएँ। केही समयको मुम्बई बसाईंबाट फर्किएपछि म पहिलोपोस्ट डट कममा कथा र तरुण साप्ताहिकमा समसामयिक स्तम्भ लेख्थेँ। त्यतिबेलाको सोसल मिडिया अहिले जस्तो फस्टाएको थिएन। मेरा पाठक सिमित हुन्थे।

मणि थापाले पुस्तक प्रकाशनमा सघाउने बताए। 
उनले आत्मिय भावमा भने, ‘तपाईंको पुस्तक कामरेड प्रचण्डबाट बिमोचन गराउनु पर्छ। म समन्वय गर्छु।’

मैले ठानेँ, नेपाली साहित्यमा प्रचण्डको के योगदान छ र उनीबाट आफ्नो पहिलो उपन्यास बिमोचन गराउँ ?

त्यस्तो प्रस्तावलाई ठाडै अस्वीकार गर्नुको अर्को बिकल्प थिएन। पछि पुस्तक प्रकाशन गरेर बिमोचन नै नगरी बजारमा पठाएर म घर फर्किएको थिएँ। ‘मकोहुँ’ दोस्रो संस्करण मात्रै बिमोचन हुनपुग्यो, गतसाल!

केही हप्ता कविता वाचन र नयाँनयाँ भेटघाट कायमै थिए। पुण्य गौतम लगभग मेरोपछि लागेको थियो। डिल्लिबजार बाटुलेघर छेउ अन्य साथीहरुसँग बसेर गफ गर्दै गर्दा कताबाट हो पुण्य गौतम त्यहाँ टुप्लुक्क आइपुग्थ्यो र हाम्रो गफ सुन्थ्यो। अनि उसको पनि सुनाउँथ्यो। त्यहाँ मुकुन्द घिमिरे पनि हुन्थे। मुकुन्दे नामले चिनिने उनी त्यतिबेला रत्नपार्कको एउटा रुखमाथि बसेर डुक्रिन्थे। उनीमाथि पनि मेरो रिसर्च छ। जरुरी ठहरिए कुनै दिन लेख्ने छु। 

पछि त्यो जासुसहरुको अड्डा कहलिएपछि मैले क्रमशः बाटुलेघरतिर भेटघाट बन्द गरिदिएँ। लेखन पेशामा लागेका कारण मलाई जिन्दगीको रजतपटमा अनौठा पात्र अवश्य चाहिन्छन्। मलाई अनेक स्थानमा बरालिएर अनेक पात्रहरुसँग घण्टौँ गफमा बत्तिन मनपर्छ। तर जासुसहरुले ज्यादा अभिनय गर्ने र झूठ बोल्ने हुँदा यिनीहरुसँग अलिक परै बस्नु उचित हुने गर्दछ।

पुण्य गौतम मलाई बेलाबेला फोन हान्थ्यो र चाबहिलतिर भेटौँ भन्थ्यो। आफू पशुपति र आसपासमा हुने रामायण भजन नियमित गइरहने हुँदा फुर्सदमा गणेशथान वरपरका चियापसलहरुमा विभिन्न तप्काका मानिसहरुसँग लामोलामो गफमा आहाल बसिन्थ्यो। त्यतिबेला पुण्य गौतम राप्रपाको कुनै नेताका साथमा बढी जसो हिँड्ने गर्थ्यो। टाउकोमा अकडको मयलपत्र बोकेर मन्त्री हुन राजनीतिमा लागेका कतिपय नालायकहरुका साथमा पनि भेटिने गर्थ्यो। 

कतिपय लाजहरु उसले पचाइसकेको थियो भने कतिपय लाज ऊ अब पचाउनेवाला थियो।

ऊ धैरैजसो अरुकै खर्चमा चिया र खाजा भ्याउने गर्थ्यो। एक कप होइन। दुई कप होइन। पुण्य गौतमले पायो भने जति कप पनि चिया भ्याइदिन्थ्यो। ऊ चिनी थपीथपी चिया खान्थ्यो। चुरोट, खैनी र गुट्का उसका अम्मल थिएनन्। उसका अन्य अम्मल थाहा भएन। तर प्रख्यात हुने उसको अभिप्सा के कुनै अम्मलभन्दा कम होला, जसले कालान्तरमा त्यस कथित क्रान्तिकारी युवालाई सडकको जोकरमा कायाकल्प गरिदियो ?

साँच्चै भन्नुपर्दा मलाई यो पात्र चाख लाग्दै गयो। ऊसँगको सम्बन्ध ठिकै थियो। तथ्यगत कुरा गर्ने हुँदा उसलाई सुन्न मजै पनि आउँथ्यो। तर ऊ अति नै डिंग पनि हाँक्ने गर्थ्यो। ऊ एक शक्तिपिपासु पनि नजर आउँथ्यो। मन्त्री बन्ने सपना देख्थ्यो। र ल्यांगफ्यांग जिन्दगी ज्युँथ्यो। मलाई उसको पारिवारिक प्रसंगको कहिल्यै चासो भएन। ऊ जोरपाटीतिरबाट फ्यांग्ल्यांग फ्यांग्ल्यांग शहरको केन्द्रमा प्रकट हुन्थ्यो। र, अनेक मानिसहरुसँगका जिद्दी संवादको छालमा फाल हाल्ने गर्दथ्यो। 

उसको एउटा खराब आदत के थियो भने, फेसबुकमा अनावश्यक ट्याग हानेर ऊ म लगायत अन्य कतिपयलाई हैरान पनि पार्ने गर्दथ्यो। ऊ आफ्ना एंगल र लाइट नमिलेका सेल्फीफोटो पनि अरुलाई ट्याग गर्ने गर्थ्यो। 

उसको अर्को खराब आदत, ऊ किताब ज्याक हान्ने खालको थियो। एकपटक सिनामंगलको एउटा लजमा बसेका बेला ऊ मेरो कोठामा आयो। म कहिलेकाहिँ महिना दिनसम्म कुनै लजमा बसेर लेखपढ गर्ने गर्दथेँ। उसले त्यहाँबाट केही किताब जबर्जस्ती उठायो। 

उसले एकै सासमा भन्यो, ‘एक हप्तामा फिर्ता ल्याइदिन्छु। यो हिटलरको किताब त तपाईंले पढिसकेको होला। म नै राख्छु है !’

उसले त्यतिबेला मैले भारत घुम्दा रेल्वे स्टेशनमा किनेका अमृता प्रितमका दुइवटा कविता संग्रह पनि लगिभ्याएछ। मलाई त लाग्छ, उसले अन्त पनि किताब ज्याक हानेको छ। तर मलाई त्यतापट्टी चासो भएन। तर अझै पनि उसको दराजमा छापा मार्ने हो भने मेरो हस्ताक्षर भएका केही पुस्तक फेला पर्न सक्छन्।

कुनै तरहले जानकारीहरु रटराट पारेर भीड भुट्न सकिन्छ। तर त्यसको आयु कति ? ज्ञान त स्मृति भन्दा भित्र छ। बौद्धिकता ज्ञान होइन। कौतुहल हुनु र मुमुक्षु हुनुमा आकाशपातालको भेद छ। 

मैले ठानेँ, ती पुस्तकहरु उसैका लागि थिए। किनभने, मैले किनेर कैयौँ पुस्तक पढेँ। तर मैले एउटा पनि पुस्तक संग्रह गरिँन। मैले पुस्तक पढेँ। अनि बिर्सिएँ। मलाई आफूले पढिसकेको पुस्तकको कहिल्यै चिन्ता हुन्थेन। मलाई त हमेशा चिन्ता हुन्थ्यो, अब पढ्ने पुस्तकको। आजकल त म पुस्तक नै पढ्दिँन। टण्टै साफ ! त्यसैले पुण्य गौतमले लगभग जबर्जस्ती मेरो कोठाबाट उठाएका ती पुस्तक फिर्ता गर्नगराउन मैले यो लेख लेखिरहेको होइन।     

लेख्नुपर्ने एउटा प्रमुख कारण छ। जो म यसै लेखको अन्त्यमा उजागर गर्ने छु। पहिले उसको अन्य खराब आदतको पनि प्रसंग झिकिहालौँ। मसँगका भेटहरुमा ऊ ठिकसँग नुहाए जस्तो देखिँदैन थियो। अथवा ऊ ठिकसँग नुहाउँदैन थियो। कतिपय सुकिलामुकिला मान्छेहरुलाई ऊ ठुँस्स गन्हाउन पनि सक्थ्यो।

उसमा प्रख्यात हुने भूत चढेको प्रष्ट आँकलन गर्न सकिन्थ्यो। तर यसको ठिक उल्टो ऊ कुख्यात हुँदै गयो। ऊ आफूलाई मदन भण्डारीसँग दाँज्थ्यो। बोल्दा अलिक नक्कल पारेर बोल्थ्यो। आफ्नो आवाजलाई ऊ जबर्जस्ती बोल्ड बनाउने प्रयास गर्थ्यो। बोल्दा सासको आरोहअवरोहको ख्याल ऊ राख्दैन थियो। 

उसले मलाई बडा अहंकार प्रदर्शन गर्दै भनेको छ, ‘मान्छेको रगतको होली खेलेर आएको हुँ। सत्तामा पुग्न म कुनै पनि कसर बाँकि राख्ने छैन। र, मैले जिन्दगीमा एकपल्ट सत्तामा पुग्नै पर्छ।’ 

मैले उसको चेहरामा ब्याप्त घृणाको रसायन नियाल्दै भनेको थिएँ, ‘अहिले भर्खर यस्तो लागिरहेको छ कि तपाईं मान्छेको रगतको होली मात्रै खेलेर होइन, तपाईं त टनाटन मान्छेको रगत पिएर आउनु भएको छ, कामरेड !’

 
पछि जब ऊ सडक र सोसल मिडियामा अनेक चटक देखाउन थाल्यो, मैले सर्वप्रथम उसलाई फेसबुकमा ब्लक हानेँ। अनि उसको कल पनि मैले रिसिभ गर्न छाडेँ। तर पनि ऊसँग यदाकदा भेट हुन्थ्यो र छिटफूट कुराकानीहरु हुन्थे।

डेढ वर्षअघि काठमाडौंमा ऊ टुप्लुक्क भेटियो। उसले थुक निल्दै भन्यो, ‘हेर्नुहोस् लिलाजी, मान्छेहरुले जति मेरो विरोध गर्छन् म भने त्यति नै शक्तिशाली बन्दै जान्छु। यहाँ कुरा त्यसैको ज्यादा काटिन्छ जो शक्तिशाली छ। ल, चिया मगाउनुहोस् एक कप !’

त्यतिबेला मसँग ठमेलका केही भाइ पनि थिए। ती भाइहरु सोसल मिडियामा पुण्य गौतमका सत्तालिप्सा, विरोधाभासी र घटिया कुरा सुनेर निकै चिढिएका पनि रहेछन्।

एउटा भाइले खुसुक्क मलाई भन्यो, ‘पिटिदिऊँ दाइ, यसलाई ?’ 

मैले उसलाई रोक्दै भनेँ, ‘हुँदैन। हामीले पिट्ने भनेको मुखले वा कलमले मात्रै हो।’

नत्र त्यसदिन पुण्य गौतम मेरै अगाडि पिटिन्थ्यो। अनि त्यहाँ मैले उसको बचाउ गर्नुपर्ने हुन्थ्यो। 

त्यस् यता उसँग मेरो भेट भएको छैन। पहिले उसले  मलाई यति धेरै फोन हानेको थियो वा मिस्ड कल पठाएको थियो कि मलाई उसको मोवाइल नम्बर कण्ठै थियो। खासमा मैले उसको नम्बर कहिल्यै सेभ गरिँन। तर उसको नम्बर मलाई अझै पनि कण्ठ छ।

पेशाले गर्दा मिडियामा म जस्तो लेखक अपडेट हुन रुचाउँछ। भर्चुअल बजारमा के कसो भइरहेको छ भनेर तटस्थभावमा अवलोकन गर्ने आदत पनि छ। हिजोआज सोसल मिडियामा धेरै मान्छेहरु बर्बराएको सुन्न पाइन्छ। थोरै मात्रै छन् जो बोलिरहेका छन्। नत्र यहाँ धेरै जसो त भ्याऊ भ्याऊ गरेर भुकिरहे झैँ लाग्छन्। 

भर्चुअल बजार भनेको त्यस्तै हो। त्यहाँ कुनै नियन्त्रण पनि छैन। अराजकता त्यहाँको औषत रसायन हो। जसले जता जसलाई पनि मुख छाडिरहेको वा तथानाम भनिरहेको हुन्छ। विधायक टिप्पणीहरु कम हुँदै गइरहेका छन्। त्यहाँ हरदम नकारात्मकले सकारात्मकलाई ओझेलमा पार्न खोजिरहेको जस्तो महसुस हुन्छ।

सोसल मिडियामा कसैले चटक देखाउँछ भने त्यो भाइरल पनि हुन सक्छ। त्यहाँ चटक देखाएर भाइरल हुने एककिसिमको होड पनि तिब्र छ। चकाचौँध इन्टरनेटको युग जो हो। अनि यहाँ आज को भन्दा को कम ?

यस्तैमा एक महिनाअघि अचानक मलाई पुण्य गौतमको फिक्का याद आयो। अनेक पात्रहरुका बारेमा कलम चलाउन रुचाउने म उसको बारेमा अनलाइनमा केही लेख्ने मूड क्रिएट गरिरहेको थिएँ। 

फोन हानेँ। पहिले सामान्य कुराकानीहरु भए। मैले उसलाई हमेशा आदरसाथ नै कुराकानी गरेको थिएँ। नमस्कारको आदानप्रदान र सम्बोधनमा सधैँ तपाईंकै भाषाको प्रयोग हुन्थ्यो। ऊ पनि त्यस्तै गर्थ्यो।

त्यसदिन उसले अलिक बढी नै बोल्यो। उसले अलिक बनावटी स्वरमा भन्यो, ‘हेर्नुहोस् लिलाजी, म त आजकल पिएचडी गर्दै छु। अब मेरो हैसियत निकै माथि छ। बरु मलाई फोन गर्ने तपाईंको हैसियत के हो ?’ 

मैले केही सेकेण्ड आफ्नो मस्तिष्कलाई चकमन्न राखेँ। नयाँ स्टोभले ज्यादा मट्टितेल खाइरहेको थियो। मलाई स्टोभको हावा खुस्काइदिन मन लाग्यो। 

अनि आफ्नो ड्रयागन आवाज ओकलेर अलिक तल ओर्लिदैँ भने, ‘गरेर देखा ! ओये घामड, पहिले पिएचडी गरेर देखा !! रह्यो हैसियतको कुरा, बुझिस् कि नाईं ? तेरो बाउ हुँ म ! अब तँ तेरो हैसियत फेरि बता !!’ 

पलभर सन्नाटामा रहेर उसले घड्याप्पै फोन काट्यो।

उसलाई त्यसो भन्दा मेरो सास बढेन र मैले मेरो शान्तभाव कायम राखेँ। म पानी हुँ। जस्तो भाँडो, त्यस्तै आकार लिन्छु। मैले भनेको छु कि मसँग फूल र काँडा दुबै छन्। जसलाई जे चाहियो त्यही दिन्छु। यो पुण्य गौतमलाई चाहिँ बिगतमा मैले अलिक बढी नै फूल दिएँछु। दिएको फूल त म खोस्न सक्दिँन। तर च्वास्स काँढाले घोचिदिन त सक्छु। किनभने, अखबारमा नियमित लेख्ने लेखकको हैसियत सोध्ने त्यो मतान्ध कम्युनिस्टको यत्रो हिम्मत ?   

आदरको सिँढी चढ्न सक्छु भने म गालीको सिँढी ओर्लिन पनि सक्छु। पुण्य गौतमले घमण्ड देखाउँछ भने उसको त्यो घमण्ड चूर हुन पनि सक्छ। उसलाई मैले कहिल्यै तँ भनेर सम्बोधन गरेको थिइँन। उसलाई तँ भन्नेबारे तत्काल मेरो मनमा कुनै ख्याल पनि थिएन। तर उसको पिएचडी अभिमानलाई टक्कर दिन ऊमाथि हल्का तल्लो स्तरको भाषाको प्रयोग गर्दा मलाई खूब मजा पो आएको थियो। कनीकुथी वा कतैबाट सारेर एउटा पिएचडी थेसिस लेख्न खोज्दै यति झूर अभिमान ? बीसपच्चीस पेजको नविनतम प्रोटोकल त म एक छाक टट्टी गरुञ्जेलमा नै लेखिदिन्छु। नामको अगाडि डा. लेख्नेहरुले नै त्यो पिएचडी उपाधिको धज्जी उडाइरहेका छन्। सबै त त्यस्ता नहोलान्। तर भारत र नेपालमा धेरैजसोले नामअगाडि डा. लेख्न छाडेर आ–आफ्ना अनुहारमा भन्किरहेका झिँगाहरु उडाउन थालून्।   

जहाँकहीँ जोसुकैलाई म आदरको भाषामा बोल्ने गर्छु। तर आवश्यक पर्दा मलाई गाली दिन पनि आउँछ। किनभने, म पनि यसै समाजमा हुर्किएको मान्छे हुँ। हरेक क्रियाको प्रतिक्रिया हुन्छ भने जस्तै यहाँ जे दिइन्छ त्यही परावर्तन हुने गर्दछ। यसबाट म कसरी अलग रहन सक्छु ?

पुण्य गौतमलाई बजारमा प्रहार भएका टिप्पणीहरुलाई बेवास्ता गरेर भन्नु पर्दा पनि ऊ कम्युनिस्ट सत्ताको उपजका कारण गोब्रेच्याऊ जसरी उम्रिएको एक स्ट्रीट जार्गोन मात्रै हो। ऊ भुटिएको छ। अनि अरुलाई पनि भुट्न खोज्छ। ऊ डामिएको छ। अनि अरुलाई पनि कुनै न कुनै तरहले डाम्न नै खोज्छ। अब भन्नुहोस् यस्तो जार्गोनलाई सत्तामा पुर्‍याउने हो भने बरबादी नाप्ने स्केल खोज्न कहाँ जाने ? 

पत्रकारितामा यदाकदा जार्गोनको प्रयोग हुने गर्दछ। चाहे त्यो नियतवश होस् वा अनियतवश। जार्गोन केवल जार्गोन हो। त्यसैले एउटा कवि कर्नरमा छ वर्षअघि फेलापरेको पुण्य गौतम नामको कवि सडक र सोसल मिडियामा जार्गोन हुन पुग्दा त्यस्तो चरित्रले समाजका अन्य जार्गोनहरुलाई पनि आकर्षित गर्ने गर्दछ। लाग्छ, एक हूल मानिसहरु हटियामा शिलाजित बेच्ने चटके वरपर झुरुप्प भेला भएर उसको तमाशा हेरिरहेका छन्।
 
आज पुण्य गौतम मार्फत नेपालका सारा कम्युनिस्टहरुलाई भन्न मन लागेको छ, यदि तिमी कम्युनिस्ट हौ र तिमीले गर्ने गराउने काम वा हर्कत यस्तै हो भने, याद राख हामी पनि यहाँ रातारात हिटलर जन्माइदिन सक्छौँ। साम्यवाद रोपेर अधिनायकवाद उब्जाइदिन्छौँ। कम्युनिस्ट र यहुदीहरुको आततायीका कारण हिटलर पैदा भएको थियो। सत्तामा पुगेर उसले सर्वप्रथम लाखौँ कम्युनिस्ट र यहुदीहरुको गोप्य हत्याको क्रम उद्घाटित गरिदियो। हेर्दाहेर्दै उसले करोडौँ मानिसहरुलाई अनेक यातना दिएर मार्यो। सन् १९३१ तिरको जर्मनी मलाई आजको नेपाल र भारत जस्तो लाग्छ। त्यतिबेला त्यहाँ दलगत राजनीति थियो र चौँतिस भन्दा बढी मार्क्सवादी दलहरु त्यहाँ अति सकृय थिए। शासन सत्ता हातमा लिएपछि क्रूर हुँदै गएका कम्युनिस्ट र सारा यहुदीहरुलाई अष्ट्रियामा जन्मिएको त्यो गरिब केटाले जति घृणा अरु कसले गर्यो होला र ? त्यो गरिब केटो अर्थात एडोल्फ हिटलर !

आफ्नो पुस्तक मेनकाम्फमा हिटलरले लेखेको छ, असंभवको तलाश गर। किनभने यहाँ हमेशा असंभव नै संभव हुने गर्दछ।

बर्तमानमा मान्छेहरु ठिकसँग हिँडेनन् भने इतिहास दोहोरिन्छ। राजनीतिमा त इतिहास झन् दोहोरिन्छ। 

केही दिनअघि अचानक त्यो कथित क्रान्तिकारी पुण्य गौतमलाई फेरि चलाउन मन लाग्यो। किनभने, बिगतमा उसले पनि मलाई हैरान हुन्जेल फोन हानेको थियो। 

अबेर नगरी मैले फोन हानेँ। 

उताबाट उसले सोध्यो, ‘को हो ?’

मैले भनेँ, ‘तेरो बाऊ ! चिनिनस्, घामड ?’

उसले घड्याप्पै लाइन काट्यो।

केहीबेरपछि उसको टेक्स्ट आयो, ‘तेरो खिलाफ पुलिसमा रिपोर्ट गर्छु।’

मैले जवाफमा लेखेँ, ‘ओके !’

हाहाहा...

युद्ध लडेर आएको पुण्य गौतम ! 
उसकै भनाइ अनुसार मान्छेको रगतको होली खेलेर आएको रे। सत्तामा पुग्न मान्छेका छातीमा गोली चलाएको रे। मेरो एउटा गाली सुन्न नसकेर फोन काट्छ !

बुझ्नुहोस् यहाँ, गोली र गालीको भेद !

यहाँ एकातिर निर्दोष जनताका छातीमा कैयौँ गोली हानेर आएको एउटा कथित क्रान्तिकारी अर्कातिर लगातार कलम तिखारिरहेको लेखकको केवल एक गालीले बेहोश ?

पुण्य गौतमलाई पिएचडीको शुभकामना !

आइतबार, बैशाख १९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)