...अनि हामी भनिरहेछौँ देश बनेन !

भनिन्छ, एउटा आम नेताले अर्को चुनावका बारेमा सोचेको हुन्छ भने एउटा राजनेताले आगामी पिँढीको बारेमा सोचेको हुन्छ। 

भोलिको नेपाल कस्तो हुने ? एउटा स्पस्ट भिजन भएको नेताको अभावले नै देशले गति लिन सकेको छैन।

केही वर्ष पहिले कैलाली बहुमुखी क्याम्पसमा दक्षिण कोरियाका राजदूतको भ्रमण थियो।

स्वागतका लागि सभाहलमा कार्यक्रम राखिएको थियो। स्वागतपछि राजदूतले म तपाईंहरूलाई एउटा गरीब कोरियन परिवारको कथा सुनाउछु भनेर पावर प्वाइन्टमा केही तस्विरहरू देखाए।

सुरुमा एउटा गरीब परिवारको फोटो देखिन्छ। फाटेको लुगा लगाएका दुब्ला दुई जना स–साना भाइ बहिनी र सँगै उभिएका आमा-बुबा। दुरुस्त हाम्रै नेपालको कुनै दुर्गम गाँउको गरीब परिवार जस्तै। अर्को तस्बिरमा आमा बुबाको उमेर ढल्कन लागेको, केटाकेटीहरू ठुला भई विवाह भइसकेका।

राजदूत कथा भन्दै गए, त्यो परिवारको केटो ठुलो भयो। तर, उच्च शिक्षा हासिल गर्ने पैसा थिएन। अतः सैनिक सेवामा जागिर खान थाल्यो। जागिरको तलब थोरै थियो। हप्तामा एक दिन पनि केटाकेटीलाई मासु ख्वाउन नपाएकोमा श्रीमतीले गुनासो गर्थिन्।

अर्को तस्बिरमा त्यो परिवार बस्ने टोल, स-साना घरहरू फोहर बग्ने नाला थियो। त्यसपछि अर्को तस्बिर देखिन्छ, त्यसमा तत्कालीन राष्ट्रपति रामवरण यादव र कुनै राजदूतबाट ओहदाको प्रमाणपत्र ग्रहण गरिरहेका हुन्छन्।

राजदूतले त्यहाँ उपस्थित सबैलाई सोधे- नेपालको राष्ट्रपति त तपाईंले चिनिहाल्नु भो, तपाईंहरू भन्न सक्नुहुन्छ ? त्यो प्रमाणपत्र बुझाइरहेको राजदूत को हो ?

एक छिनको मौनतापछि उनले भने– त्यो प्रमाणपत्र दिन लागेको राजदूत सुरुमा देखाएको गरीब कोरियाली केटो हो। र त्यो गरीब केटो म नै हुँ !

त्यहाँ जम्मा भएका सबै आश्चर्य चकित भए। जोडदार ताली बज्यो।

उनले अगाडि भने, मैले देखाएको परिवारको फोटो म केटाकेटी हुँदाको मेरै परिवारको हो। यो म र म जस्ता धेरै दक्षिण कोरियालीहरूको कहानी हो।

मेरो बाल्यकालमा दक्षिण कोरियामा धेरै गरिबी थियो। मेरै जीवनकालमा मेरै आँखा अगाडि दक्षिण कोरिया संसारका विकसित राष्ट्रमा परिणत भयो। त्यसपछि उनले ठुल्ठूला भवन चारैतिर बगैँचा र हरियाली भएको सानो नदीको फोटो देखाए, र भने– अगाडिको फोटोमा देखाएको म केटाकेटी हुँदा हामी बस्ने फोहोर बस्ती र फोहर बग्ने नाला आज यस्तो छ।

त्यसपछि उनले दक्षिण कोरियाको आर्थिक विकासबारे बिभिन्न तथ्यांकहरू देखाए। एउटै मानिसको जीवनकालमा, एउटै पुस्तामा कसरी देशको कायापलट हुँदोरहेछ भन्ने दक्षिण कोरिया ज्वलन्त उदाहरण हो। उनले भने,- म र मजस्ता लाखौं दक्षिण कोरियालीहरूले धेरै दु:ख गरेका थिए। तर, आजको पुस्ताले त्यस्तो दु:ख गर्नुपर्दैन।

लागिपर्ने हो भने नेपाल पनि दक्षिण कोरियाजस्तै समृद्ध बन्नसक्छ। कोरियाको कायापलट गर्नमा राष्ट्रपति पार्क चुङको नेतृत्वको प्रमुख भूमिका रहेको छ।

यसबाट के स्पष्ट हुन्छ भने देश बनाउन सही नेतृत्व चाहिने रहेछ। नारा र भाषणले देश बन्दो रहेनछ।

केही दिनअगाडि आफ्नो कार्यकाल सकेर जाने क्रममा यिनै राजदूतले नेपालमा सबै कुरा राम्रो भएर पनि हरेक क्षेत्रमा राजनीतिकरण भएकोले विकास हुन नसकेको टिप्पणी गरेका थिए।

छोटो अवधिमा तीव्र आर्थिक विकास गरेका तर केही दशक अघिसम्म नेपालकै हाराहारीका देशहरूको विकासको अध्ययन गर्दा के देखिन्छ भने भिजनरी नेतृत्वको कारणले नै ति देश अल्प-अवधिमा नै विकसित भएका रहेछन्। त्यस्तो नेता जसको एउटा सपना हुन्छ। र, जसरी भए पनि लक्ष्य प्राप्त गरी छाड्ने र त्यसको लागि मरिमेट्ने प्रवृत्ति विद्यमान हुन्छ।

छोटो अवधिमा चमत्कारिक विकास गरेका देशहरूको अध्ययनले के देखाउँछ भने, त्यहाँ एक कालखण्डमा त्यस्तो नेताको उदय भयो जसले देशको कायापलट गर्‍यो।

मलेसियाको रुपान्तरण गर्ने महाथिर मोहम्मदले औद्योगिकीरणमा जोड दिए। १९९० को दशकमा महाथिरले ‘मलेसिया क्यान’, अर्थात् मलेसियाले गर्नसक्छ ! भन्ने नाराका साथ पूर्वाधार निर्माणमा ठुलो लगानी गरे।

दक्षिण कोरीयाका पार्क चुङ हिले १९५० को दशकमा जापानी युद्वमा ध्वस्त भएको मुलुकलाई छोटो अवधिमा नै कायापलट गरे। दक्षिण कोरियाको विकासलाई ‘इकोनोमिक मिराकल’ भन्ने गरिन्छ।

सिंगापुरमा लि क्यान युले सानो र गरीब बन्दरगाहको सहरलाई विश्वकै वित्तीय केन्द्रको रुपमा विकास गरे। किनकि सिंगापुरमा आयको अरु स्रोत नै थिएन। कुनै समयको अति भ्रष्टाचार हुने सिंगापुर लि क्यान युको सुशासन र भ्रष्टाचार विरोधी नीतिका कारण अहिले विश्वकै न्यून भ्रष्टाचार हुने देशमा गनिन्छ।

चीन १९८० को दशकमा देङ सियाओ पेङको उदयसम्म विकासशील देश थियो। तर, देड सियाओ पेङसँग छोटो अवधिमा नै चीनलाई विकसित राष्ट्रमा रुपान्तरण गर्ने एउटा स्पष्ट भिजन थियो।

परिणाम, चीन १९८० को दशकमा एउटा विकासशील राष्ट्र थियो, आज अमेरिका पछि विश्वको दोश्रो ठुलो अर्थव्यवस्था भएको छ।

विभिन्न प्रकारका उद्योग, व्यवसायको विकास नभईकन देशको आर्थिक विकास हुँदैन।

नेपालको सन्दर्भमा कुरा गर्दा हजारौँ मानिसलाई रोजगारी दिएर आर्थिक जग मजबुत बनाउने सम्भावना भएका सरकारी लगानीका दर्जनौँ संस्थानहरूलाई तिनको व्यवस्थापन सुधार्नुको सट्टा कौडीको भाउमा निजी व्यवसायीलाई बेच्ने काम भयो। देशको आर्थिक अधोगतिको त्यो एउटा प्रमुख कारण हो। सार्वजनिक संस्थानको साथै निजी उद्यमलाई संरक्षण र प्रोत्साहन दिएको भए आज देशको आर्थिक नक्सा नै फरक हुने थियो।

अरु देशका उदाहरण हेर्दा सरकारी उद्यमहरूले राष्ट्रिय अर्थतन्त्रमा प्रमुख भूमिका खेलेका छन। आज चीनका कम्पनीहरूले विश्वभरि अस्तित्व जमाएका छन्। नेपालमै पनि अधिकांश ठुला परियोजनाहरूमा चिनियाँ कम्पनीहरू संलग्न छन्। अधिकांश चिनियाँ कम्पनीहरू सरकारी लगानिमा सञ्चालित छन्। भारतमा संस्थानहरूको त्यहाँको अर्थतन्त्रमा प्रमुख भूमिका छ।

भारतका संस्थानहरूले सरकारी खजानामा हरेक वर्ष अर्बौ रुपैयाँ राजस्व र नाफा बुझाउँछन्।

भारतमा सरकारी लगानी भएका सफल कम्पनीहरूलाई कार्य सम्पादन र नाफाको आधारमा विभिन्न नाम दिएर सम्मान गरिएको छ। जस्तै महारत्न कम्पनी, नवरत्न कम्पनी, मिनिरत्न कम्पनी आदि, भारतमा संस्थान फस्टाउने, चीनमा फस्टाउने अनि नेपालमा चाहिँ बेच्नुपर्ने अवस्था किन आयो त ?

कुनै जमानामा नाम चलेका भृकुटी कागज कारखाना, हेटौंडा कपडा, बाँसबारी जुत्ता कारखाना आदिलाई प्रोत्साहन दिएर यस्तै रत्नको श्रेणीमा राख्नुपर्नेमा आज तिनको नामोनिसान छैन।

यो सबको कारण हो राजनीति। संस्थानका अध्यक्षमा व्यावसायिक व्यवस्थापक नियुक्ति हुनुपर्नेमा पार्टीका कार्यकर्ताहरू नियुक्ति गरियो। तिनको ध्यान कारखानाको विकासभन्दा पनि जग्गा बेचेर कमिसन खानमा गयो। यसबाट नै देशको अद्योगति सुरु भयो।

केही दशक अगाडिसम्म रुसको सहायताले स्थापना भएको परवानीपुर कृषि औजार कारखाना स–साना हाते कृषि उपकरणको उत्पादनमा प्रख्यात थियो। सिमावर्ती भारतीयहरू पनि कृषि उपकरण किन्न नेपाल आउँथे। सही नीति भएको भए आज त्यस कारखानाले देशलाई चाहिने कृषि उपकरणहरू र स-साना हाते ट्रयाक्टरसमेत उत्पादन गरिरहेको हुन्थ्यो। अहिले त्यो कारखानाको नामोनिसान छैन। देशमा यत्तिका गाडी मोटर छन्। वार्षिक लाखौँ टायरको माग छ। तर, हामीले भएको एउटा टायर कारखाना पनि चलाउन सकेनौं। देश कसरी अद्योगतितर्फ गयो भन्ने यी केही उदाहरण मात्र हुन्।

उत्पादन गर्नुभन्दा आयात गर्ने सजिलो बाटो हामीले रोज्यौं। संविधानमा समाजवाद उन्मुख लेखेको छ तर जनतालाई आधारभूत सुविधा उपलब्ध गराउने क्षमता भएका सार्वजनिक उद्यम धमाधम बेचिएका छन्।

हामी कहाँ यस्तो सोच्ने फुर्सद कुनै नेतालाई भएन। देशमा सानैस्तमा भए पनि केही आधारभूत उद्योगको विकास गर्नेतर्फ कसैको ध्यान गएन। देश सम्पन्न हुने प्राकृतिक सम्पदाको दोहनले हो। नेपालमा प्रशस्त विद्युत ऊर्जा छ। विद्युत ऊर्जाको प्रयोग गरेर फलाम, तामा, अभ्रक, सुन आदिका खानीहरू सञ्चालन गर्ने सोच नै आएन। वास्तवमा नेपाल अल्पविकसित ‘अन्डर डेभलप्ड’भन्दा पनि अल्पव्यवस्थित ‘अन्डर म्यानेज्ड’ देश हो भन्दा फरक नपर्ला।

नेपालजस्तो सानो देशमा रोजगारी दिने र आत्मनिर्भर बनाउने प्रसस्त सम्भावना भएका स-साना उद्योग धन्दामा समेत ध्यान गएको छैन। जस्तै नेपालमा भण्डै ७५ लाख विद्यार्थीहरू विभिन्न स्कुलमा पढ्छन। ती अधिकांश विद्यार्थीले प्रयोग गर्ने औजार बक्स, पेन्सिल, डटपेन, कलम, ईरेजर, नोट बुकजस्ता वस्तुहरू जसको वार्षिक अर्बौंको खपत हुन्छ, ती वस्तुको देशभित्र उत्पादन छैन।

यसबाट नै हजारौँ रोजगारी श्रृजना हुनसक्छ। देशभित्र हरेक दिन करोडौंको नुहाउने सावुन, तेल, टुथपेष्ट, स्याम्पु, बुट पालिस, आदिको खपत छ तर ती वस्तुको कुनै नेपाली ब्रान्ड छैन।

लाज लाग्ने कुरा त के भने यत्तिका वन जंगल भएको देशमा कोदालो बींड र दाँत कोट्याउने सिन्कासमेत भारतबाट आउँछ। स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा प्रोत्साहन छैन। दैनिक जीवनमा प्रयोग हुने र थोरै पूँजीले स्थापना गर्न सकिने यस्तो सयकडौ उद्यमहरू छन्। जसबाट देशभित्रै रोजगारी श्रृजना हुन सक्छ। भारतमा प्रधानमन्त्री नरेन्द मोदीले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन ‘लोकल के लिए भोकल बनना है’ भने जस्तो सोच हामी कहाँ आएन।

देश बदल्ने नेताहरूमा ठुला ठुला भाषण गर्ने भन्दा स-साना कुराहरूलाई हेर्ने संवेदनशीलता आवश्यक हुन्छ। भारतमा नेहरूले पहिलो पञ्च वर्षीय योजना लागु गर्दा कल कारखाना र उद्योगहरू भनेका आधुनिक भारतका मन्दिर हुन भनेका थिए। त्यो केवल एउटा भनाइ मात्र थिएन। देशलाई कसरी औद्योगिकरण गर्ने भन्ने एउटा सोच र एउटा सपना पनि थियो। जसको फलस्वरुप आज भारत उदाउँदो अर्थव्यवस्थामा परिणत भएको छ।

भारत स्वतन्त्र भएपछि विदेशी सामानमा प्रतिबन्ध लगाइयो। त्यसै क्रममा विदेशी सौन्दर्य प्रसाधन पनि आउन बन्द भयो। विदेशी सौन्दर्य प्रसाधनका सौखिन केही सम्भ्रान्त महिलाहरूको प्रतिनिधि मण्डल प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेटी भारतमा राम्रो सौन्दर्य प्रसाधन उत्पादन नहुने भएकोले आयात खुला गर्नुपर्ने माग राखेछन्। नेहरूले विदेशी सामान खुला गर्न त सम्भव नभएको तर त्यसको विकल्पको बारेमा आफूले बिचार गर्ने आश्वासन दिए। नेहरूले पछि टाटा कम्पनीका मालिक उद्योगपति जे.आर.डी टाटालाई बोलाएर भारतमा स्तरीय सौन्दर्य प्रसाधन उत्पादन गर्न अनुरोध गरेछन्। त्यसबेला टाटाले अरु वस्तुहरू उत्पादन गरे पनि सौन्दर्य प्रसाधनहरू उत्पादन गर्ने गरेको थिएन। तर, नेहरूको अनुरोधलाई स्वीकार गरी केही समयपछि टाटा कम्पनीले लाक्मे ब्रान्ड नाम दिएर विभिन्न प्रकारका स्तरीय सौन्दर्य प्रसाधनहरूको उत्पादन सुरु गरेको थियो। 

नेपालको विकासको सन्दर्भमा एउटा आश्चर्य के पनि छ भने अहिलेसम्म विश्वमा प्रचलित विकासका मान्यताहरू यहाँ लागु भएका छैनन्। केही उदाहरण हेरौं प्राकृतिक स्रोत विकासको पूर्वसर्त हो भन्ने गरिन्छ तर नेपालमा पर्याप्त श्रोत भइकन पनि विकास भएन। अर्को कुरा, शान्ति र राजनीतिक स्थिरताले विकास हुन्छ भन्ने विश्वव्यापी मान्यता पनि नेपालको सन्दर्भमा सही सावित हुन सकेन। पञ्चायत कालको ३० वर्ष नेपालमा शान्ति र राजनीतिक स्थिरता दुवै थियो।

त्यसै काल खण्डमा दक्षिण कोरिया, मलेसिया, सिंगापुर, चीनमा विकासले गति लियो। तर, नेपालमा त्यसले काम गरेन। सन् १९६० तिर यी देशहरूको र नेपालको प्रतिव्यक्ति आय लगभग समान थियो। त्यस्तै विश्वका कतिपय द्वन्द्धग्रस्त देशहरूमा त्यसको समाप्तिपछि तीव्र गतिमा आर्थिक विकास भएको छ। जस्तै भियतनाम, कम्वोडिया, लिविया, घाना, ईथोपिया यसका उदाहरण हुन्।

तर, नेपालमा द्वन्द्ध समाप्तिपछि पनि आर्थिक विकासमा फड्को मार्न सकेको छैन। मेहनती र ईमान्दार जनताले विकास हुन्छ भन्ने मान्यता पनि छ। तर, संसारभरि मेहेनती, ईमान्दार र बहादुरीको लागि कहलिएका नेपालीले आफ्नो देशभित्र भने केही गर्न सकेनन्।

यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने हाम्रो समस्याको को मूल कारण नेतृत्वको अभाव हो।

देश पहिले ‘कन्ट्रि फर्स्ट’ भन्ने नेता भएन। यहाँ जति आए परिवार पहिले पार्टी, पहिले कार्यकर्ता नातागोता पहिले भन्ने नै आए। ‘कन्ट्रि फर्स्’ भन्ने कोही भएन। देश त्यसै सिंगापुर बन्दैन सिंगापुर बन्नलाई त लि क्यान युजस्तो सोच हुनु पनि आवश्यक हुँदो रहेछ।

संसारभरिका विभिन्न राष्ट्रहरूको विकासको अध्ययनले के देखाउँछ भने एउटा पुस्ताले दु:ख नगरी देश बन्दैन। ईजरायलमा वेन गुरियन र गोल्डा मायरको पुस्ताले दुःख गर्‍यो, चीनमा माओ र चाओ एन लाईको पुस्ताले दुःख गर्‍यो, सिगापुरमा लु क्यान यु पुस्ताले दुःख गर्‍यो। ती देशको वर्तमान पिँढी सम्पन्न र विकसित भएको छ। एउटा पस्ताले दु:ख गरेपछि पछिल्लो पुस्ताले सुखभोग गरिरहेको हामी परिवारमा पनि देख्न सक्छौं। कुनै परिवारमा बाजेले दु:ख गरेर सम्पत्ति छोडेर गएपछि नातीसम्म सम्पन्न भएको हुन्छ। बाजेको मेहनतले नाती सम्पन्न भयो। कसैले न कसैले मेहनत नगरी, दुःख नगरी सम्पन्नता आउँदैन।

दुर्भाग्यवश हाम्रो देशमा दु:ख गर्न कुनै पुस्ता तयार भएन। पहिलेको कुरा छोडौँ नयाँ संविधान बनेपछि नेपाल नयाँ युगमा प्रवेश गरेको भन्ने गरिन्छ। राजनीतिमा लागेको अहिलेको पिँढीले दुःख गर्नुपर्ने हो। तर दु:ख गर्ने त छोडौँ गाउँपालिका जसको आन्तरिक आय एक लाख पनि हुँदैन त्यहाँका नेता करोडौंका गाडीमा चढ्छन्। गाउँपालिकादेखि माथिसम्मका नेता कोही पनि सार्वजनिक बसमा यात्रा गर्दैनन्। सबैलाई प्लेनमै चढ्नुपर्ने। नेताहरूले कहिले काहीँ जनतालाई देखाउनलाई भए पनि बसमा चढी दिए जनतामा सकारात्मक सन्देश जान्थ्यो। देखाउनलाई मात्र भएपनि कहिले काहीँ साइकलमा कार्यालय जानुपर्थ्यो। सत्तामा जानासाथ सबैले राष्ट्रिय स्वार्थभन्दा निजी स्वार्थलाई महत्व दिए। आमजनताभन्दा आफूलाई फरक सम्झन थाले त्यसै कारणले देश बनेन।

अब के डर छ भने जसरी लामो समयसम्म अविकास र गरिबीको कारणले पहिला टर्कीलाई युरोपको विरामी ‘सिक म्यान अफ युरोप’ भनिन्थ्यो त्यस्तै कतै नेपाललाई पनि एसियाको बिरामी भन्ने बिल्ला नलागोस्। किनकि हाम्रा आसपासका देशहरू विकासमा हामीभन्दा निकै अगाडि गइसकेका छन्। भुटानको समेत प्रतिव्यक्ति आय हाम्रो भन्दा दोव्बर भइसकेको छ।

झण्डै ६ दशक लामो योजना अवधिमा १५ वटा आवधिक योजना कार्यान्वयन भइसके, विकासको नाममा खर्बौं डलर सहायता आयो। र, पनि हाम्रो प्रतिव्यक्ति आय एक हजार डलरको आसपास मात्रै छ। यसको मतलब के हो भने कहीँ न कहीँ समस्या पक्कै छ।

कि हाम्रो राजनीति गलत छ, कि नेता गलत छन् ? कि जनता गलत छन् ? या योजनाहरू गलत छन् ? यसको खोजी गर्न अब ढिला भइसकेको छ।

(डा. पन्तके फेसबुक वालबाट)

प्रकाशित मिति: : 2023-08-20 21:30:00

प्रतिकृया दिनुहोस्