घर फर्किएका भगवानहरू

BreaknLinks
BreaknLinks

सन् १९८४ मा ललितपुर महानगरपालिकाको पाटन नारायण मन्दिरबाट हराएको वासुदेव कमलाज (लक्ष्मीनारायण) को मूर्ति ३७ वर्षपछि २०२० मा अमेरिकाको डल्लास सङ्ग्रहालयको एउटा प्रदर्शनीमा राखिएको भेटियो।

त्यसपछि पुरातत्त्व विभागले मूर्तिकाे बारेमा आवश्यक अनुसन्धान र छलफल गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत मूर्ति फर्काउन पहल गर्‍यो। र प्रमाणहरू पूरा भएपछि अमेरिकास्थित नेपाली दूतावासको अगुवाइमा सन् २०२१ अप्रिलमा मूर्ति नेपाल फर्काइयो। अनि उनकै उत्पतिस्थलमा राखियो।

यसैगरी सन् १९६० को दशकमा ललितपुरको पाटन गाःहिटीबाट हराएको उमा महेश्वरको मूर्ति सन् १९७५ देखि कालोराडोस्थित डेनभर आर्ट सङ्ग्रहालयमा राखिएको पाइयो। र दूतावासको सहयोगमा वि.स. २०७९ जेठमा स्वदेश फिर्ता गरी राष्ट्रिय सङ्ग्रहालयमा राखिएको छ।

यी मूर्तिहरू १५औँ शताब्दीमा मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाका रुपमा थिए।

यद्यपि, हराएका मूर्तिहरू नेपालले फिर्ता पाएको यो पहिलो पटक होइन। धेरैजसो पश्चिमा विकसित देशहरूमा पुर्‍याइएका भगवानका प्राचीन मूर्तिहरू यसैगरी घर फर्काइएका छन्। तर कतिपय मूर्तिहरू अझै अज्ञात छन्।

करिब दुई वर्षअघि ईचाँगुनारायण मन्दिर परिसरको सत्तल निर्माणको क्रममा लापरबाही गर्दा करिब ७९२ तोलाबाट बनेको लक्ष्मीनारायणको मूर्ति चोरी भयो। प्रहरीको घेराबाट हराएको उक्त मूर्ति कहाँ पुग्यो? कसैलाई थाहा छैन।

यसैगरी २०६४ असार ७ गते डोल्पाको यत्सेर जाङचुमलिङ गुम्बाबाट हराएका मूर्तिहरू तथा चैत्यहरू ल्हासा तिब्बतबाट फिर्ता गरिएको थियो। यो चोरीको घटना नेपालमात्रै होइन, विश्वभरि व्यापक भएको थियो। अहिलेसम्मको सबैभन्दा ठूलो परिमाणमा भएको मूर्ति चोरी र फर्काइएकामध्ये सबैभन्दा धेरै परिमाणको हो।

हालसम्ममा नेपालबाट प्राचीन, लिच्छविकाल एवं मध्यकालमा कुँदिएका सयौँ महत्वपूर्ण मूर्तिहरू चोरी भएका छन्। तीमध्ये केही स्वदेश फिर्ता भएका छन् भने चोरी भएका धेरैजसो मूर्तिहरू अहिले कहाँ छन् भन्नेबारे कसैलाई थाहा छैन।

घर फर्काइएका भगवानहरू

सन् १९७० मा युनेस्कोमा सांस्कृतिक सम्पत्तिका स्वामित्व, अवैध आयात–निर्यात र स्थानातरणको निषेध तथा रोकथामसम्बन्धी महासन्धि भयो। जुन नेपालको लागि यहाँबाट हराएका मूर्तिहरू फिर्ता ल्याउने बलियो आधार बन्यो। त्योसँगै वि.स. २०५० पछि नेपालबाट हराएका मूर्तिहरू फर्काइन थाले।

पुरातत्त्व विभागकी क्युरियो शाखा प्रमुख सरिता सुवेदीका अनुसार हालसम्म विभिन्न देशमा पुर्‍याइएका र गैरकानुनी रुपमा बिक्री गरिएका ९९ वटा पुरातात्विक महत्वका वस्तुहरू नेपाल फिर्ता भएका छन्।

‘विभिन्न समयमा चोरी गरी अमेरिका, अस्ट्रेलिया, क्यानाडा तथा विभिन्न देशमा पुर्‍याइएका पुरातात्त्विक महत्वका ९९ वस्तुहरू फिर्ता भएका छन्’, उनले भनिन्, ‘तर हालसम्म नेपालबाट कति त्यस्ता प्राचीन महत्वपूर्ण वस्तुहरू हराए भन्ने विभागसँग यकिन विवरण छैन।’

विभागका अनुसार फर्काइएको मूर्तिहरूमध्ये सबैभन्दा बढी अमेरिकाबाट फर्काइएको छ। अमेरिकाबाट २९, बेलायतबाट २२, कलकत्ताबाट १३, अस्ट्रेलिया ४ वटा, चीन, अस्ट्रियाबाट र जर्मनी बाट एक–एक तथा ल्हासाबाट २८ थान पुरातात्त्विक महत्वका वस्तुहरू नेपाल फर्काइएको छ।

विभागसँग छैन २०६२ भन्दाअघिका तथ्यांक

पुरातत्त्व विभागका अनुसार सन् १९६० को दशकदेखि पुरातात्त्विक महत्वका वस्तुहरू हराउन थालेका हुन्।

जब नेपालमा पर्यटकहरूको चहलपहल बढ्दै जान थाल्यो, त्योबेलादेखि नेपालका पुरातात्त्विक वस्तुहरू हराउँदै जान थाले। सन् १९६० को दशक देखि १९९० को बीचमा झण्डै पाँच सयको हाराहारीमा पुरातात्त्विक वस्तुहरू हराएकाे विभागको अनुमान रहेको छ।

विभागकी अधिकृत सुवेदीका अनुसार प्राचीन स्मारक ऐन २०१३ सालमा आए पनि सरकारी निकायले पुरातात्त्विक महत्वका वस्तु हराएको अभिलेख राखेको थिएन।

‘प्राचीन स्मारक ऐन २०१३ सालमै आए पनि विभागसँग हराएका, चोरी भएका ती वस्तुहरूको तथ्यांक छैन। २०६२ मा उजुरी दर्ता प्रणाली बन्यो, त्योसँगै विभागले ती वस्तुको तथ्यांक राख्न थालेको हो। हाल विभागसँग २०६३ यता हराएका २१६ थान मूर्तिको अभिलेख मात्रै रहेको छ। जसमध्ये चारवटा भेटिएका छन्’, उनले भनिन्।

उनका अनुसार सन् २००० पछि भने पुरातात्त्विक वस्तुको चोरी हुने क्रम अलि कम भयो।

‘हाम्रो समाजमा सांस्कृतिक तथा पुरातात्त्विक वस्तुको महत्व बढ्दै जान थाल्यो, अनि चोरी कम भएका पाइन्छन्। त्यसभन्दा अघि खुल्ला सिमाना भएका कारण पनि त्यो बढेको थियो’, उनले भनिन्, ‘अहिले महत्व र संरक्षणको चेत बढेको छ।’

२०६३ देखि ०८० सम्म २६३ थान पुरातात्त्विक महत्वका वस्तुहरू चोरी

विभागमा दर्ता भएका उजुरीका आधारमा २०६३ सालदेखि २०८० वैशाख मसान्तसम्म २३६ थान पुरातात्त्विक महत्वका वस्तुहरू चोरी तथा गैरकानुनी ओसारपसार भएका छन्।

सन् १९७० देखि १९९० को दशकमा नेपालबाट धेरै संख्यामा पुरातात्त्विक महत्वका वस्तुहरू चोरी भएर विदेश पुगे पनि त्यसको तथ्यांक पुरातत्त्व विभागसँग छैन।

विभागले उपलब्ध गराएको विवरणअनुसार २०४२ सालमा भारतको कोलकाताबाट राष्ट्रिय सङ्ग्रहालय छाउनी फिर्ता भएको तारा, महांकाल, वाद्यवादन, भूस्पर्श बुद्ध, धर्मचक्र, बुद्ध (वैरोचन), प्रज्ञापारमिता, बज्रकिला (फुर्वा), लामा, बसुन्धरा, बुद्ध, स्तुपा र प्रभालगायत १३ थान धातुका मूर्ति हाल राष्ट्रिय सङ्ग्रहालय छाउनीमा सङ्ग्रहित छन्।

२०५३ मा बेलायतको लन्डनबाट प्रस्तरको अगस्थमुनि, श्रीधर विष्णु २ थान, कमलासनमाथि विष्णु र गरुडको पाउ तथा अप्सरा २ थान, पद्यहस्ता देवी, बुद्धको शिर, बोधिसत्व बुद्धको मूर्ति, नाचिरहेको देवीको मूर्ति, विष्णु पूरा भाग नभएको तथा खुट्टाको भाग नभएको २ थान, प्रस्तरको खण्डित श्रीधर विष्णुको (लक्ष्मीको भागमात्र भएको), टाउकोको भाग नभएको विष्णुको मूर्ति, काठको भैरव मुकुन्डको २ थान, हस्तलिखित ग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिता र युजडित शिव परिवार यन्त्रलगायत १९ थान फिर्ता भएका मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा सङ्ग्रहित छन्।

२०५६ सालमा जर्मनबाट फिर्ता गरिएको प्रस्तरको उमामहेश्वरको मूर्ति १ थान पाटन सङ्ग्रहालयमा राखिएको छ। त्यो धुलिखेलबाट हराएको थियो। सोही वर्ष भदौमा अमेरिकाबाट फिर्ता भएका प्रस्तरको गरुडासन विष्णुको मूर्ति १ थान, पाटनको भिन्छेबहादबाट हराएको प्रस्तरको बुद्धको मूर्ति १ थान, फर्पिङबाट हराएको सरस्वतीको शीर १ थान र पनौतीबाट चोरी भएको प्रस्तरको सूर्य मूर्ति १ थान पनि राष्ट्रिय सङ्ग्रहालयमा राखिएका छन्।

२०५७ मा इटालीयन नागरिकबाट फिर्ता गरिएको प्रस्तरको उभिएको पद्मपाणि लोकेश्वरको मूर्ति १ थान राष्ट्रिय सङ्ग्रहालय छाउनीमा सङ्ग्रहित छ। यस्तै २०५९ सालमा अस्ट्रियाबाट फिर्ता भएको तामामा सुनको जलप लगाएको दीपांकर बुद्धको मूर्ति पाटनको पिम्बहालमा पुनःस्थापना गरिएको छ।

डोल्पाको यत्सेर जाङचुमलिङ गुम्बाबाट हराएका २८ थान मूर्तिहरू तथा चैत्यहरू २०६४ मा तिब्बतको ल्हासाबाट फिर्ता ल्याइएको थियो र स्थानीयको आग्रहमा पूजाआजा गरी त्यही गुम्बामा पुनःस्थापना गरिएको थियो।

युरोपियन कला संकलन रोबर्ट एको व्यक्तिगत सङ्ग्रहमा रहेको ताडपत्रमा लेखिएको मार्कण्डेय पुराण १ थान २०७१ सालमा नेपाल फिर्ता ल्याएर राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएको छ।

अमेरिकी नागरिक लेरोय एलेन एरेनरिचको व्यक्तिगत सङ्ग्रहमा रहेको १५औँ शताब्दीको ढलौटको ध्यानी बुद्ध तथा अमोघपास लोकेश्वर, १६औँ शताब्दीको अमोघपास लोकेश्वर र १७औँ शताब्दीको मञ्जुश्री गरी ४ थान मूर्ति उनको मृत्युपश्चात् २०७४ मा नेपाल फिर्ता ल्याइएको थियो।

सोही वर्ष चैतमा अमेरिकाको न्युयोर्कस्थित द मेट्रोपोलिटेन म्युजियम अफ आर्टबाट प्रस्तरको स्थानक बुद्ध र उमामहेश्वरको मूर्ति दुई थान फिर्ता भएका थिए। तीमध्ये स्थानक बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा सङ्ग्रहित भएका छन् भने उमामहेश्वरको मूर्ति पाटनको टंगलहिटीमा पुनःस्थापना गरिएको छ।

पाटनको मोमडु टोलको नारायण मन्दिरबाट हराएको प्रस्तरको वासुदेव कमलाज (लक्ष्मीनारायण)को मूर्ति २०७८ सालमा अमेरिकाको टेक्सासस्थित डालास म्युजियन अफ आर्टबाट फिर्ता लिइएको थियो। त्यो अहिले उत्पत्तिस्थलमै पुनःस्थापना गरिएको छ।

त्यही वर्ष डिस्ट्रिक एटोर्नी अफिसको सहयोगमा नेपाल फिर्ता भएका ढलौटको सुनौलो बुद्धको मूर्ति, पोलिक्रोम काठको सालभञ्जिका टुँडाल र ढलौटको गणेशको मूर्ति गरी ३ थान राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रहित छन्।

विभागले सोही वर्ष अमेरिकाको रुबिन म्युजियम अफ आर्टबाट फिर्ता भएका इटुम्बहालको देवाली घरबाट हराएको काठको गन्धर्व (विद्याधर) १ थान र पाटन एम्पी महाविहारबाट हराएको मूलढोकामाथिको काठको तोरण एक थान सोही स्थानमा पुनःस्थापना गरिएको छ।

त्यही वर्ष अमेरिकाको म्याहटमस्थित तिब्बत हाउस कलेक्सनबाट फिर्ता भएको प्रस्तरको एक थान बुद्ध मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा सङ्ग्रहित छ।

गत वर्ष अमेरिकाको डेनभर आर्ट म्युजियमबाट फिर्ता भएको पाटन गाःहिटीबाट हराएको १ थान प्रस्तरको उमामहेश्वरको मूर्ति, आर्ट इन्टिट्युट अफ सिकागोबाट फिर्ता भएको पशुपति परिसरबाट हराएको १ थान प्रस्तरको चतुर्मुखी शिवलिंग, निजी कम्पनी मार्लिन बी अल्स्डोर्फ ट्रस्टबाट फिर्ता भएको नक्साल क्षेत्रबाट हराएको प्रस्तरको नागराज र पद्मपाणि लोकेश्वरको मूर्ति र शाक्यमुनि बुद्ध गरी ३ थान राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएका छन्।

यसैगरी यसैवर्ष जेठमा चीनको हङकङस्थित त्यहाँका एक स्थानीयको व्यक्तिगत सङ्ग्रहबाट दोलखाको कोर्छेटोलस्थित कोर्छेमी परिवारको व्यक्तिगत सम्पत्तिको रुपमा रहेको १६औँ शताब्दीमा बनेको तामामा सुन जलप लगाएको बज्रधरको मूर्ति १ थान फिर्ता भएको छ।

साउन ४ गते नेशनल ग्यालेरी अफ अस्ट्रेलियाबाट नेपाल फिर्ता भएका २०औँ शताब्दीका काठको छेपुको मूर्ति भएको तोरण २ थान, भैरवको मूर्ति भएको तोरण १ थान, काठको कलात्मक वस्तुको संरक्षक दायाँबायाँ लुई सदल र बीचमा यक्षिणी भएको प्यानल १ थान राष्ट्रिय सङ्ग्रहालय छाउनीमै छन्।

यस्तै साउन १८ गते नेपाल फर्काइएका अमेरिकाको न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा रहेको १८औँ र १९औँ शताब्दीको प्रस्तरको दुर्गाको मूर्ति १ थान र बेलायती नागरिक रोगर मेल्भिन मंकले प्रस्तरको सूर्यको मूर्ति १ थान राष्ट्रिय सङ्ग्रहालय छाउनीमा सङ्ग्रहित रहेका छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा देशभरबाट चोरिएका ५९२ थान पुरातात्त्विक महत्वका वस्तुहरूमध्ये १४५ थान अझ फेला परेका छैनन्।

आर्थिक वर्ष २०७०/०७१ देखि वैशाख मसान्तसम्म देशभरबाट पुरातात्त्विक महत्वका ५९२ थान वस्तुहरू चोरी भएका थिए, तीमध्ये १४५ थान फेला नपरेको प्रहरीको तथ्याङ्क छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आव २०७९/८० को वैशाख मसान्तसम्म देशभरबाट ८ वटा पुरातात्त्विक महत्वका वस्तु चोरी भएको घटना दर्ता भएका छन्।

नेपाल प्रहरीले धनुषाबाट तामाको गिलास तथा मरअंकित वस्तु, चाँदीको मूर्ति तथा मुकुटको टुक्रा र अंखरा गरी ९४ थान र बाँके जिल्लाबाट १ थान बुद्धको मूर्ति चोरी गर्ने ८ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आव २०७८/०७९ मा देशभरबाट ६० वटा पुरातात्त्विक महत्वका वस्तु चोरी भएको घटना दर्ता भएका थिए।

त्यसमध्ये सोलुखुम्बु, सप्तरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ललितपुर र काठमाडौँबाट १९ थान हिन्दुका मूर्ति, ३ थान तामा कलश, ४ थान शालिग्राम, २ थान पञ्चदियो, २ थान कलश, १ थान आरती थान, ८ थान मुगा दाना, ७ थान तुथादुना, २ थान पानस थाल, २ थान गजुर, १ थान जलौरी, ४ थान जलौरी, ४ थान शंख र १ थान अंखरा चोरी भएका थिए। प्रहरीले देशभरबाट २६ जनालाई पक्राउ गरेको छ। तर ती वस्तुहरू सबै फेला परेका छैनन्।

किन चोरी हुन्छन् पुरातात्त्विक वस्तुहरू?

हरेक मूर्ति वा प्राचीन स्वरुप र कलात्मक वस्तुका कालखण्डअनुसार महत्व हुन्छ।

धेरेजसो खुल्ला स्थानमा रहेका त्यस्ता वस्तुहरू बढी चोरी हुने गरेको विभागकी अधिकृत सरिता सुवेदी बताउँछिन्।

‘नेपाल कला-संस्कृतिले भरिपूर्ण देश भएका कारण जताततै यस्ता वस्तुहरू छन्। भारतसँगको खुल्ला सिमाना भएका कारण सिमाना कटाउन सजिला भएको छ। र ती वस्तुहरू सजिलै तेस्रो मुलुक पुग्छन्’, उनी भन्छिन्, ‘ऐन, नियम र कानुनहरू कमजोर हुँदा पनि त्यस्ता घटनाहरू बढेको पाइन्छ।’

मूर्ति चोरीमा कस्तो छ कानुनी व्यवस्था?

प्राचीन स्मारक संरक्षण ऐनले पुरातात्त्विक वस्तुको खरिदबिक्री, निकासी वा सङ्ग्रहमा प्रतिबन्ध लगाएको छ। एक सय वर्षभन्दा पुराना वस्तुहरूलाई त्यस्तो प्रतिबन्ध लगाइएको छ।

कसैसँग सय वर्षभन्दा पुराना मूर्ति वा पुरातात्त्विक वस्तु भएमा त्यसलाई पनि सरकारले तोकेको कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधान त्यसमा छ। यद्यपि, कुलदेवताका मूर्तिहरू त्यसरी दर्ता गराउनु पर्दैन।

त्यस्तै क्युरियो उत्पादन र बिक्री गर्न चाहनेले पनि प्रत्येक क्युरियो विभागमा दर्ता गराउनुपर्ने व्यवस्था छ।

कानुनले तोकेका यस्ता कार्यविपरीत हुने गतिविधि गर्नेलाई २५ हजारसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने ऐनमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-08-31 21:50:00

प्रतिकृया दिनुहोस्