टी–ट्वाण्टी विश्वकप–

पाकिस्तानसँग हारेका दुई देश भारत र न्युजिल्याण्ड भिड्दै, हार दुवैका लागि महङ्गो 

Breaknlinks
Breaknlinks

अघिल्लो खेलमा पाकिस्तानसँग हार व्यहोरेका दुई मुलुक भारत र न्युजिल्याण्ड संयुक्त अरब इमिरेट्स(युएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइतवार बेलुकी ७:४५ मा भेट्दै छन्। प्रतियोगिता सुरु हुनुअघि उपाधि दाबेदारका रूपमा हेरिएका यी दुई टोलीबीचको यो स्पर्धा दुवैका लागि ‘गर या मर’को खेल हुनेछ।

समूहका उत्कृष्ट तीन टोली– न्युजिल्याण्ड, भारत र अफगानिस्तानलाई हराएर पाकिस्तानले सेमी-फाइनलको यात्रा सुनिश्चित गरिसकेको छ। भारत र न्युजिल्याण्ड दुवैका लागि सेमी-फाइनल प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाब छ।

न्युजिल्याण्डले हालसम्म दुई खेल खेलेर एकमा जीत हासिल गरेको छ। उक्त टोली अङ्क तालिकाको चौथो स्थानमा छ।

अर्को प्रतिस्पर्धी भारतले चाहिँ आफ्नो एकमात्र खेलमा पाकिस्तानसँग हारिसकेको छ। भारत अङ्क तालिकाको पाँचौ स्थानमा छ। उसले एक खेल मात्र खेलेकाले यसबाहेक पनि तीन खेल खेल्न बाँकी छ। अघिल्लो खेल हारेकाले पनि उसका लागि सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने दबाब बढेको हो।

पाकिस्तानसँग शर्मनाकको हारको पीडा

एक साताअघि पाकिस्तानसँग हारेको भारतीय टोलीलाई यी सात दिन सबैभन्दा लामा थिए। उक्त हारको क्षतिपूर्ति न्युजिल्याण्डसँग लिन आतुर छ भारत।

विश्वकपमा आफूहरूलाई कहिल्यै नहराएको चीर-प्रतिद्वन्द्वी पाकिस्तानसँगको हार मात्र हैन, उक्त हारसँगै समर्थकहरूबाट आएको गालीगलौजको भारी  बोकेर भारतीय टोली मैदानमा उत्रिदैछ। भारतीय खेलाडीको भन्दा पनि उसका भारतीय समर्थकको शेखी पाकिस्तानले झारेपछि निहुँरिएको शीर उचो बनाउन पनि आज भारतीय खेलाडीमाथि थप दबाब छ।

भारतीय टोलीमा रहेका एक मात्र मुस्लिम खेलाडीका मोहम्मद शमीलाई  भारतीय टीमका अतिवादी 'फ्यान'हरुले देशद्रोही भन्नसम्म पछि परेका छैनन्। यस्तो आरोपको निन्दा गर्दै विभिन्न खेलाडीहरू द्वारा वक्तव्य नै आएको छ तर पनि भारतीय टोलीका खेलाडीहरू यसबारे मौन छन्। 

शमी त मौन हुने नै भए। उनको बचाउमा भारतीय टोलीका अन्य खेलाडीहरू बोलेका छैनन्। अतिवादी भारतीय फ्यानको उक्त आरोप चिर्न भारतीय टोलीका अरु खेलाडी नबोलेकोमा शमीप्रति सहानुभूति राख्ने समर्थकहरुले भारतका अरु खेलाडीको पनि आलोचना गरिरहेका छन्। 

न्युजिल्याण्डमाथि दबाब कम

विश्वकपको प्रतिस्पर्धा त्यो पनि ‘गर या मर’को स्थिति! दबाब त हुन्छ नै। तैपनि कप्तान केन विलियमसनको नेतृत्वमा रहेको न्युजिल्याण्ड भारतभन्दा तुलनात्मक रूपमा हलुका काँध लिएर मैदानमा उत्रिदैछ।

पाकिस्तानसँगको हारले न्युजिल्याण्डलाई अङ्क तालिकामा पछि पारेको बाहेक अरु कुनै ठूलो मानसिक दबाब छैन। फेरि शान्त र सरल विलियमसनको नेतृत्वले तनावलाई यसै पनि हलुका बनाउँछ।

भारतीय टोलीका कप्तान विराट कोहलीको 'एरोगेन्ट' स्वभावबाट भारतीय टोलीले त्यो अपेक्षा गर्न सक्दैन। इस्लामिक खेलाडी शमीप्रति अतिवादी भारतीय फ्यानले गरेको टिप्पणीको बचाउ गर्न कोहलीले केही नबोल्नुले पनि उनको स्वभावगत कमजोरी प्रष्ट देखिन्छ।

‘हेड् टू हेड्’मा दुई टोली

बेलुकीको खेल भएकोले टस कसले जित्छ, त्यसले पनि खेलको परिणाममा महत्वपूर्ण प्रभाव पार्ने छ। रात ढल्दै गएपछि शीतले मैदान ओसिलो हुने र त्यसले बल गिलो बनाउने भएकोले  दोश्रो ब्याटिङ् अलिक सजिलो हुने गर्छ।

'टस' जित्न खासै राम्रो भाग्य नभएका खेलाडी भन्ने छवि बनाएका छन् कोहलीले। यद्यपि यो अन्धविश्वास मात्र हो।  विलियमसनको विषयमा भने त्यस्तो अन्धविश्वास छैन। दुवै टोली टस जीतेर पहिले 'फील्डिङ्' गर्न इच्छुक हुने छन्।

टी-ट्वाण्टी 'फर्म्याट' मा न्युजिल्याण्ड र भारतको १७ चोटी प्रतिस्पर्धा भइसकेको छ। गजब त के भने दुवै टोलीले बराबरी अर्थात् आठ-आठ खेल जितेका छन्। एक खेल भने नतिजाबिहीन रहेको थियो।

टी-ट्वाण्टी विश्वकपमा भने भारतले न्युजिल्याण्डलाई आजसम्म एकपटक पनि हराउन सकेको छैन। दुईचोटी भएको यी दुई टोलीको भेटमा दुवै पटक न्युजिल्याण्डले भारतलाई स्तब्ध बनाएको थियो।

सम्भावित ११ खेलाडी–

भारतीय टोली :
रोहित शर्मा, के एल राहुल, विराट कोहली (कप्तान), सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट कीपर ), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, वरुण चक्रवर्ति, भुवनेश्वर कुमार, मोहम्मद शामी र जसप्रित बुमराह।

किवी (न्युजिल्याण्ड) टोली :
मार्टिन गप्टिल, डेरिल मिचल, केन विलियम्सन (कप्तान), जेम्स निशम, डेभोन कन्वे, ग्लेन फिलिप्स, टिम सेफर्ट (विकेटकीपर), मिचेल सेन्टनर, ईश सोधी, टिम साउदी र ट्रेन्ट बोल्ट।

प्रकाशित मिति: : 2021-10-31 17:41:00

प्रतिकृया दिनुहोस्