चोर : सरकार कि बालेन ?

दक्षिण एशियामा चर्चित एक जना गजलकार राहत इन्दोरीले एकपटक आफ्ना गजलका ‘सेयर’मा  भनेका थिए ‘सरकार चोर है…’

त्यो बेला भारतमा इन्दिरा गान्धीको शासन थियो र उनले ‘संकटकाल’(इमर्जेन्सी)लगाएकी थिइन्।

एउटा ‘मेहफिल’मा इन्दोरीले बाचेको त्यो ‘चोर’ शब्दलाई लिएर त्यो बेला सरकारले उनलाई गिरफ्तार गर्‍यो।

केरकारमा उनलाई पुलिसले सोध्यो- सरकारलाई चोर किन भनेको ?
उनले जवाफ दिए- हजुर मैले सरकारलाई चोर भनेकै हो। तर, यो भनेको छैन कि, हिन्दुस्तानको सरकार चोर हो वा पाकिस्तानको वा अंग्रेजको…’
अनि प्रहरी अधिकारीले इन्दोरीलाई भने- ‘हामीलाई बेवकुफ ठानेको ? हाम्लाई थाहा छैन र कुन सरकार चोर हो…’


महानगरपालिका प्रमुखको मर्यादाक्रम कति ? ११औँ नम्बर।

अर्थात्, महानगरपालिका प्रमुखको मर्यादाक्रम प्रदेश सरकारका राज्यमन्त्री सरह हो।

जुन संवैधानिक निकायका सदस्य तथा आयुक्त, नेपाल सरकारका मुख्यसचिव भन्दा माथि हो। संवैधानिक निकायका सदस्यको १२औँ र मुख्यसचिवको मर्यादाक्रम १३औँ नम्बरमा छ।

देशका ६ वटा महानगरपालिका प्रमुखमध्ये काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)को अभिव्यक्ति याद छ ?

शनिबार (भदौ १६ गते) देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमाथि आगो लगाइदिने आपत्तिजनक अभिव्यक्ति दिए।

बालेनको अभिव्यक्तिलाई राजनीतिक विश्लेषक मुमाराम खनालले अराजक, अराजनीतिक र असभ्यको संज्ञा दिएका छन्।

एमाले नेता विष्णु रिमालले बालेनको मर्यादाक्रम सम्झाउने गरी सत्तापक्ष र प्रतिपक्ष कस्तो हुने भनेर सम्झाएका छन्। आम रुपमा सत्तापक्ष र विपक्षको अभिव्यक्तिको कोण फरक हुने रिमालको भनाइ छ।

बालेनले शनिबार राति सरकारलाई ‘चोर’ भन्दै जनताको सम्पत्ति सिंहदरबारमा आगो लगाउने धम्की दिनुका पछाडि ठुलो कुनै कारण छैन। मात्र श्रीमती सवार गाडी प्रहरीले रोकेर चेकजाँच गरेको विषय हो।

यद्यपि, उनले फेसबुक पेजमा शनिबार लेखेको स्टाटरमा महानगरको गाडी सरकारले रोकेको बताए पनि कुन गाडी, के काममा गएको गाडी रोकिएको भन्ने खुलाएनन्। यस विषयमा बिएल नेपाली सेवाले काठमाडौं महानगरसँग शनिबार राति नै जानकारी लिने प्रयास गरेको भएपनि सफल हुन सकेन।

महानगरपालिकाका सह–प्रवक्ता दीपक अधिकारी मात्र सम्पर्कमा आएका थिए। उनले महानगरको कुन गाडी रोकिएको भन्ने आफूलाई कुनै जानकारी नभएको बताएका थिए। प्रमुख र उपप्रमुखको फोन नउठ्ने समस्या पहिलेदेखिकै हो।

शनिबार ललितपुरबाट घर फर्किन लागेकी बालेन पत्नी सविना काफ्ले चढेको महानगरकाे गाडी रोकेर काेटेश्वरमा राेकेर ट्राफिक प्रहरीले सोधपुच्छ गरेको थियो। प्रहरीले पाँच मिनेट पनि नरोकेको बताउँछन्।

सिंहदरबारमा आगो लगाउने अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि बालेनको सचिवालयले आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीमाथि प्रश्न उठाएको छ। महानगरको गाडी रोकेर प्रहरीले मानवीय सम्वेदनशीलता ख्याल नगरेको विज्ञप्तिमा उल्लेख छ।

बालेनको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले सामान्य मानवीय संवेदनाको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई अस्वभाविक र मनोमानी प्रश्न गरे।’

सचिवालयद्वार जारी विज्ञप्तिमा प्रहरीले मादक पदार्थ, गुट्कालगायत खाएको र रुखो बोलेको पनि आरोप छ। अहिले बालेन आफ्नो आलोचनाबाट बच्न जसको मर्यादाक्रमको सूचीमा नामनै रहँदैन उसलाई दोषारोपन गर्दैछन्।

गाडी चेकिङको विषयलाई लिएर सिंहदरबारमा आगो लगाइदिने धम्की दिए। के यो उनलाई मात्र परेको समस्या हो ? महानगर प्रमुखको अभिव्यक्ति स्वभनीय हो ? होइन। जसले बालेनको अहिले आलोचना भइरहेको छ।

अहिले सचिवालयबाट विज्ञप्ति जारी गरेर आलोचनाबाट बच्ने प्रयास बालेनले गरेका छन्। उनले शनिबार सरकारी गाडी चलाउन पाइदैन भन्नेसमेतलाई बिर्सिएर गाडीलाई प्रहरीले किन चेकजाँच गरेको भनेर प्रश्न उठाएका छन्।

बालेनले आलोचनाबाट बच्न यसअघि नै प्रयास गरेका थिए। आइतबार बिहानै बालेनलाई चुनाबमा निकै सघाएको एक फेसबुक पेजबाट पुत्रीलाभको कामना आयो। त्यसले बालेनप्रति केही सहानुभुति प्रकट हुँदैथियो।

यद्यपि, मिडियामा छोरीको जन्म भएको विषय शनिबारको नभएर हप्तादिन पहिलेको हाे भन्ने कुरा आयो। त्यसपछि बालेनमाथिको सहानुभूति कम भएको छ भने आलोचना बढेको छ।

मिडियामा पुत्रिलाभाको विषय बाहिर ल्याएपछि उक्त फेसबुकले पनि स्टाटस सच्याएर केही दिन पहिले छोरी जन्मिएको सूचना जारी गर्यो। एकपछि अर्कोबाट आलोचनाबाट बच्ने प्रयास गरेका बालेन अहिले शान्ति सुरक्षामा खटिएका ट्राफिक प्रहरीमाथि दोषारोपण गरेका छन्।

तर, महानगर यो विषय महानगरको नभएको बताउँछ। बालेनको व्यक्तिगत विषय भन्दै महानगर पन्छिन खोजेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘उहाँको विषय व्यक्तिगत हो। महानगरसँग सरोकार छैन।’

पटक–पटक आलोचित बालेन

बालेनको यो आलोचना पहिलो होइन। यसअघि पनि पटक–पटक विवादमा पर्दै आएका छन्, उनी। काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार भएर भारी मतका साथ विजयी भएका बालेनले सुरुमा टुकुचा खोला उत्खनन्मा लागे। अदालतले रोकेपछि अहिले त्यो काम त्यसै अलपत्र छ।

गत चैत २५ गते बालेनले सामाजिक सञ्जालमा अर्को आपत्तिजनक अभिव्यक्ति दिए। सिंहदबारको फोहोर नउठाउने भनेर। सुकम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेको भन्दै उनले फेसबुकमा लेखे, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

काठमाडौंको कार्यसम्पादनक निकै कमजोर छ। आएको बजेट खर्च गर्न सकेको छैन। महानगरका प्रमुख भने पटक–पटक विवादित अभिव्यक्ति दिँदै सामाजिक सञ्जालमा उग्रता प्रदर्शन गरिरहेका छन्।

वैशाख २० गते नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नयाँ पुराना सबै नेता चोर हुन भनेर अभिव्यक्ति दिए। यसरी एकपछि अर्को गर्दै कहिले दक्षिण भारतीय चलचित्र रोक्ने र कहिले अदालतको निर्णय मान्दैन भन्दै चुनौती दिने गर्छन्।

आफ्ना काम असरल्ल छाडेर अरुमाथि दोषै-दोष

बालेनले सुरु गरेका केही योजनाहरु सफल छन्। फुटपाथ खाली गर्ने, मिचिएका जग्गामा बनेका संरचना भत्काउने काममा बालेनको सफल देखिएका छन्। तर, बालेन जति सफल देखिएका छन्, उनको कमजोरी पनि कम छैनन्।

सुरुमै टुकुचा खोला उत्खनन्मा विवादित बनेका बालेन, कहिले सुकुम्बासी बस्ती हटाउन र कहिले फुटपाथका व्यापारीमाथिको ज्यादतीले आलोचित बने। चुनावको समयमा ‘गरिबीको चमेली बोलिदिने कोही छैन’ भन्ने बालेनलाई अहिले चमेली समूह बालेनको कार्यशैलीको विरोधमा छ।

केही अतिक्रमित गरेर बनाइएका संरचना भत्काएर बालेनले राम्रो गरेका छन्। कुनै आयोजना भने दीर्घकाल रुपमा नसोचेर भत्काउँदा अहिले सामाखुशी खोलाका नागरिक जोखिममा छन्।

खोला खुला गर्ने भन्दै ढलको व्यवस्थापनबिनै सामाखुशी खोलाका स्ल्याबहरु भत्काएपछि नागरिक ढलको दुर्गन्धको मारमा छन्।

र, आफ्नै महानगरको भवन अलपत्र छ। टेकुमा निर्माण भइरहेका भवन दुई वर्षदेखि अलपत्र छ। मात्र रडहरु छड्याएर खिया लगाइएको छ। यस विषयमा महानगर बेखबर छ।

महानगरको प्रशासनिक भवन बन्दाबन्दै अदालतमा मुद्दा परेपछि काम रोकिएको हो। विशेष अदालतमा परेको मुद्दाको किनारा लागिसकेको छ। त्यसपछि मुद्दा सर्वोच्चमा छ कि कहाँ छ भन्ने महानगरका प्रवक्ता, सूचना अधिकारी कसैले भन्ने सक्दैनन्।

महानगरका मेयर बालेन र उपमेयर सुनिता डंगोललाई यो विषय जानकारी छ छैन, आजसम्म सम्पर्क हुन सकेको छैन। बिएल नेपाली सेवाले यस विषयमा बुझ्न खोज्दा प्राय मेयर–उपमेयरको फोन सुइचअफ गरिएको पाइन्छ।

यसरी आफ्नो काम अलपत्र पारेका मेयर बालेन केन्द्रको सरकार, नयाँ–पुराना नेतामा भने खोटैखोट देख्छन्। एउटा ठेलामा फलफूल बेचेकालाई अभद्र व्यवहार गर्ने बालेन शनिबार गाडी चलाएको विषयमा ट्राफिक प्रहरीले चेक गर्दा अमानवीयता सम्झन्छन्।

धराप बन्दैछन्, बालेनले ढक्कन उघारेका खोलाहरू

चाैतर्फी आलोचनापछि बालेनले हटाए स्टाटस

प्रकाशित मिति: : 2023-09-05 20:20:00

प्रतिकृया दिनुहोस्