एमाले प्रवेश गर्दै कुलानन्द गिरी

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी आज एमालेमा प्रवेश गर्ने भएका छन्।

एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराउने कार्यक्रम रहेकाे छ। गिरीले सोमबार एमाले महासचिव पोखरेललाई कोटेश्वरमा भेटेका थिए।

लामो समय रोल्पाको शैक्षिक विकासमा जुटेका ‘गिरीलाई धेरैजसो रोल्पालीहरू गुरु नै मान्छन्।’ उनी माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका सहपाटीसमेत हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले रोल्पास्थित त्रिवेणी गाउँपालिकाकाे अध्यक्षको टिकट नदिएपछि उनी बागी उम्मेदवारसमेत बने। त्योबेला गिरीलाई अध्यक्ष प्रचण्ड र उपाध्यक्ष महराले ‘राजदूत वा सांसद’को अफर गरे। तर उनी नेतृत्वको आश्वासन लत्याउँदै माओवादीविरुद्ध विद्रोही बनिछाडे।

महरा र गिरी विगतमा रोल्पाको एउटै स्कुलमा पढाउँथे। उनीहरूको राजनीतिक जीवन पनि लगभग एकै समयमा सुरु भएको हो। तर, महराले राजनीतिमा फड्को मारेर पटक–पटक सभामुख–मन्त्री खाइसक्दा गिरी भने जहाँको त्यहीँ छन्।

पूर्वयुवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, एमाले पूर्वसांसद गोकुल घर्तीलगायतलाई गिरीले पढाएका थिए। उनी जुँगार मावि रोल्पाको प्राचार्य पद छाडेर माओवादी युद्धमा लागेका थिए।

प्रकाशित मिति: : 2023-09-23 06:24:00

प्रतिकृया दिनुहोस्