कमलबजारमा तालाबन्दी!

अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लगाएको ताला अझै खुल्न सकेको छैन।

नगर कार्यपालिकाले हालसम्म पनि  बजेट पारित हुन नसकेको र राजनीतिक दलहरूले उठाएका मागलाई सम्बोधन नगरेका भन्दै यही असोज १९ गते चार राजनीतिक दलले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए।

नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिष्ट पार्टी मालेले संयुक्तरुपमा ताला लगाएका हुन्। नगरपालिकामा भएको तालाबन्दीका कारण सेवाप्रवाह नहुँदा सेवाग्राहीलाई समस्या भएको छ।

तालाबन्दी भएको ६ दिन बितिसक्दा पनि समस्या समाधानको प्रयास नभएकामा सर्वसाधारण आक्रोशित भएका छन्। यही असोज २६ गते नगरपालिकाले सर्वदलीय बैठक आह्वान गरेको नगर प्रमुख यज्ञप्रसाद ढकालले बताएका छन्। 

अछामका सबै पालिकामा बजेट पारित भएको महिनौँ बितिसक्दा पनि कमलबजार नगर कार्यपालिकामा बहुमतको दम्भ देखाउँदै बजेट पास भएको छैन। कार्यपालिकामा एमालेको बहुमत छ। 

प्रकाशित मिति: : 2023-10-11 21:27:00

प्रतिकृया दिनुहोस्