बर्मेली नेपाली: दसैं छैन, दसैंजस्तो 

कुसुम गौतम

म्यान्मार

जता हेर्‍यो त्यतै उराठलाग्दो देखिन्छ। मौसम पनि मौसमजस्तो छैन। आफैँमा उराठलाग्दो, निराशाका बादलभित्र गुम्सिरहेको समयजस्तो।

वातावरण यस्तो लाग्छ कि, यो मौसमको हावामा दसैंको सुवास कतै छैन। न कसैको मुहारमा देखिन्छ दसैंको उमङ्ग, न कसैको अधरमा त्यसको खुसी।

बस् हेर्दा लाग्छ, एउटा बनावटी खुसी बोकेर जिन्दगीको जोहो गर्न मान्छे कुदिरहेका छन्, पाइलाहरू अघि नबढे पनि।

पहिला दसैं आयो भन्नेबित्तिकै सूर्यको ताप न्यानो लाग्थ्यो। पारिजातको सुवासमा घुलेको बतासले दसैंलाई बोलाइरहेको जस्तो लाग्थ्यो।

बिहानीको शीतले छोएका गुलाबका रङ्गीन फूलहरू नै दसैंका प्रतीक हुन्, जस्तो लाग्थ्यो।

शीरमा पहेंलिएका जमरा र रातो टीकामा जीवन देख्थेँ, सार देख्थेँ दसैंको प्रफुल्लित मुहार देख्थेँ।

दसैं भनेपछि हुरुक्कै हुन्थ्यौँ हामी सबै। तर, आज त्यस्ता भाइब्सहरू हराइसकेका छन्, यो सहर यी गाउँहरूबाट। यहाँका जीवनहरूबाट।

आँखामा झलझली देख्छु हाम्रा रमाइला ती दिनहरू।

दसैं आउनुभन्दा एक महिना अगाडिबाट घरघरमा गएर चेलीबेटी जम्मा गरेर नाच देखाइरहेका अनि सिकाइरहेका दाजुभाइहरू।

युवाहरु तँछाडमछाड गर्दै नाच सिकाउन तम्सिने गर्थे, जोश जाँगर उस्तै थियो।

तर, आज यी सब गाउँ-ठाउँहरू खाली-खाली छन्। युवाहरू छैनन्। उमङ्ग छैन। उत्साह मृत छ।

आज न त दसैंका गीत गुञ्जिएका छन्, न त दसैंका धुन।

दुर्गा मन्दिरको प्राङ्गण पनि सुनसान छ। जहाँ फूलपातीदेखि नवमीका दिनसम्म तीनदिने नाचो चल्थ्यो। एकाङ्की नाटक र युवाहरूको नेतृत्वमा हुने गर्थ्यो सांगीतिक कार्यक्रमहरू। त्यतिबेला नेपालबाट कलाकारहरु पनि आउँथे। तर, आज त्यो  आँगनले पनि दसैं बोलाउन सकेन।

किनकि, त्यस प्रकारका कार्यक्रमहरू गर्न यहाँको सैनिक सरकारले रोकिदिएको छ।

बिहान मन्दिरको आरतीमा हिजोका भीडभाड केही देखिँदैन न उत्साह हुन्छ।

नवरात्रिमा व्रत बस्ने युवा-युवतीहरू निकै कम छन्। अझ भनौं तन्नेरीहरू छैनन्, अब हाम्रा यी नेपाली गाउँघरमा। 
हिज रंगीन उत्साह र उमङ्ग बोकेर आउने दसैं यसपालि खल्लो-खल्लो छ।

म्यान्माली नेपाली समाजको सबैभन्दा नाजुक परिस्थिति बन्न पुगे सांस्कृतिक चाडपर्वहरू पनि।

यहाँ कोरोनाको महामारीदेखि हरेक पर्वको भव्यता हराएको छ। त्यसपछिको राजनीतिले गर्दा त झन् खरानी भएका गाउँघरहरूसँगै यहाँका चाडपर्वहरू पनि सबै त्यही ज्वालामा खरानी भए।

कोरोनाको समयमा जन्मिएका केटाकेटीहरूले भने आजसम्मको चाड पर्वको रुप देख्न पाएका छैनन्, विचाराहरू।

१२-१३ वर्षका एकहुल केटीहरू गन्गन गर्दै थिए, ‘हामी सानामा दसैं आएपछि नाटक हेर्न जान्थ्यौँ। कति रमाइलो हुन्थ्यो नि! मिठाई खान पाइन्थो। राम्रा लुगा लगाउन पाइन्थ्यो। नाच्न पाइन्थ्यो। गाउन पाइन्थ्यो। तर, अहिले त नाच्नु गाउनुको त कुरै छोड ठुलो स्वरले गीत पनि सुन्न हुन्न रे!’

उनीहरूको यो पीडा सुनिदिने को छ र अब यहाँ?

एकछिन् सबै मौन हुन्छन्। सोच मग्न हुन्छन्। अनि  कहीबेर पछि एउटी फुच्ची केटीले भन्छे, ‘हो नि साथी दसैं पनि दसैं जस्तो छैन।’

अनि, सायद सबैको मन भन्छ- ‘हो दसैं, दसैंजस्तो छैन।’

प्रकाशित मिति: : 2023-10-23 22:45:00

प्रतिकृया दिनुहोस्