‘शान्तकुमार वलीलाई फेरि जिल्ला अध्यक्ष बनाउन रोल्पाली एमालेको माग’

नेकपा एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशन नजिकिएसँगै नेता–कार्यकर्तापंक्तिमा चहलपहल बढेको छ। जिल्ला पार्टीको नेतृत्व लिनका लागि नेताहरूले दौडधुप सुरु गरेका छन्।

फागुन २९ र ३० गते सदरमुकाम लिबाङमा आयोजित ‘कोठे–अधिवेशन’को तयारी एमाले रोल्पाले तीव्र बनाएको छ। अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकाक्षीहरूले नेतृत्वमा आउन लबिङलाई तीव्र बनाएका छन्।

‘पार्टी–संगठन कमजोर रहेको रोल्पा’मा केन्द्रीय नेताहरू नै आ–आफ्नो स्वार्थमा बाँडिँदा हिजोआज गुटबन्दी मौलाउँदै गइरहेको छ। पाँच जना केन्द्रीय सदस्यहरूले आफूनिकटका व्यक्तिहरूलाई अध्यक्षका लागि अघि सार्न थालेपछि भूँइ तहसम्मै एकखालको आक्रोश पैदा भएको छ।

संकटको समयमा इमान्दारितापूर्ण संगठन जोगाउन लागिपरेका नेतालाई केन्द्रीय र प्रदेश महाधिवेशनबाट पाखा लगाएको र ‘पार्टीले दिएको जिम्मेवारी बाहेक बाँकी सबैथोक गर्ने’ पात्र जिल्ला नेतृत्व सुम्पिन थालेको उनीहरूको गुनासो छ।

एमाले रोल्पाको नेतृत्वका लागि हालका उपाध्यक्ष विजय घर्ती, रोल्पा नगरपालिकाका अध्यक्ष घनश्याम आचार्य, हालका सचिव अमृत बुढा, उपसचिव ठाकुरप्रसाद वली, जिल्ला सचिवालय सदस्य रोशन वली र हरिप्रसाद वली मुख्य दावेदारको रूपमा देखिएका छन्।

सातौँ जिल्ला अधिवेशन–पछिको नेतृत्वका लागि यी ६ जना बाहेक पूर्वजिल्ला अध्यक्ष शान्तकुमार वलीको चारैतिर चर्चा छ। उनी आफै जिल्ला अध्यक्षका लागि आकांक्षी छैनन्। तर, केन्द्रीय नेताहरू विभाजित भइरहेको अवस्थामा फेरि एकपटक परिपक्क र इमान्दार छवि बनाएका शान्तकुमारलाई जिल्लाको नेतृत्व दिनुपर्ने कार्यकर्ताहरूको माग छ।

‘केन्द्रीय र प्रदेश कमिटीका नेताहरूले शान्तकुमार वलीलाई जिल्ला अध्यक्ष बनाउने कुरामा जोड दिनुपर्छ। रोल्पामा संगठन खुम्चिँदै गएको छ। त्यसैले एमालेलाई फेरि लयमा फर्काउने हो भने शान्त कमरेडको विकल्प छैन,’ एक सचिवालय सदस्यले भने।

प्रकाशित मिति: : 2024-02-14 08:14:00

प्रतिकृया दिनुहोस्