के चीन र अमेरिका वार्ता गर्दैछन्?

राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि विश्वले सबैभन्दा धेरै पछ्याएका देशहरू कोही छन् भने ती अमेरिका र चीन हुन्। 

विश्व शक्ति राष्ट्रको दौडमा रहेका चीन र अमेरिकाबीच अहिले ‘कर युद्ध’ अर्थात् एकप्रकारको ‘ट्यारिफ वार’ चलिरहेको छ। 

यी दुईबाहेक बाँकी विश्व भने ‘पर्ख र हेर’को स्थितिमा छ। पूर्णतया आयातमा निर्भर कतिपय राष्ट्रहरू भने फेरि मन्दीले छुने हो कि भन्ने भयमा छन्। उसो त विश्व आर्थिकमन्दीको त्रास पनि यी दुई राष्ट्रकै कारण उत्पन्न भइरहेको छ। 

चीनको वाणिज्य मन्त्रालयले यो अन्योलको पर्दा हटाउनेखालको एउटा कुरा सुनाएका छन्। उनले अमेरिकासँग आयात शुक्लका बारेमा कुरा गर्न सकिनेबारेमा बेइजिङले ‘बिचार’ गरिरहेको बताएका छन्। 

अमेरिका र चीनबीच वार्ता होस् र विश्वब्यापारको चक्र नबिथोलियो, बाँकी विश्वले चाहेको पनि यही नै हो।

कर लगाउने मामिसलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि सबैभन्दा निर्मम र आक्रामक पनि भए। अरु देशको तुलनामा चीनसँग कुनै रिसिइबी नै साँधेको जसरी ट्रम्पले एकपछि अर्को गर्दै अप्रत्याशित लाग्नेखालको करको घोषणा गर्दै गर्दै लगभग २४५ प्रतिशतसम्मै कर लगाइदिए। 

यसबाट एकातिर चीन अमेरिकासँग अझ चिढियो भने त्यसले विश्व आपूर्ति र ब्यापारिक चक्रलाई बिथोलेर फेरि मन्दी छाउने हो कि भन्ने डर पनि उत्पन्न भयो। 

‘हाम्रो भनाइ र नीति त्यही नै छ। कि अमेरिकाले लगाएको त्यो एकतर्फी कर गलत छ। हामी लड्ने हो भने त अन्तिमसम्मै लड्छौं। तर वार्ता गर्ने हो भने त्यसका लागि पनि ढोका खुल्ला छ’ शुक्रबार चिनियाँ वाणिज्य मन्त्रालयले गरेको एउटा पत्रकार सम्मेलनमा प्रवक्ताले भनेका थिए ‘तर त्यसका लागि अमेरिका इमान्दार हुनुपर्छ र आफूले गरेका गल्तीहरू सच्च्याउने तत्परता हुनुपर्छ।’ 

उनले अमेरिकाले त्यसबारे बुझ्नका लागि पटक पटक उच्चस्तरी सूचना र सन्देशहरू पठाउने गरेको र त्यसबारे बेइजिङले मन्थन गरिरहेको पनि बताए। 

तर अमेरिकाले सिधै वार्ताका लागि भनेर आह्वान गरेको छैन। त्यस्तो त चीनले पनि वार्ताबारे अमेरिकालाई केही खबर पठाएको छैन। 

यद्यपि यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग आफू कुरा गर्न तयार रहेको र आफूले चिनियाँ राष्ट्रपति सी चीन फीङको फोन कल कुरिरहेको बताएका थिए। 

यो एकअर्को देशमाथि करको प्रहारसँगसँगै विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीचको ब्यापार लगभग निसासिने अवस्थामा पुगेको छ। 

तर वार्ताका लागि भने कोही अघि सरेका छैनन्। अर्थात् अहिले त स्थिति यस्तोसम्म भइदिएको छ कि कुरा गर्न दुबै चाहन्छन् तर ‘पहिला को बोल्ने’ भन्ने अन्योल छ। चीनले पहिला अमेरिकाले औपचारिकरुपमा वार्ताका लागि आह्वान गरोस् भन्ने चाहन्छ, अमेरिका पनि चीनले नै पहिला आह्वान गरोस् भन्ने चाहन्छ। 

वास्तवमा यो कर युद्ध सामान्य भने होइन। 

अहिले दुबै आफूलाई नगलेकोजस्तो देखाइरहेका अर्थात् दुबै राष्ट्रमाथि आफूलाई ‘बलियो’ देखाउनुपर्ने एकप्रकारको दबाव पनि उत्तिकै छ। 

भविष्यमा यसले साँच्चिकै युद्धकै रुप लिन पनि सक्छ वा पूरैलाई प्रभावित गर्नेगरी व्यापारिक चक्र बिथोलिन पनि सक्छ। यस्तो हुनु भनेको पनि विश्वले युद्धको भन्दा कम सास्ती भोग्नु भने होइन। 


 

प्रकाशित मिति: : 2025-05-03 07:16:00

प्रतिकृया दिनुहोस्