‘एनआरएनए’सँग आरजुको आग्रहः यहाँ आएर राजनीति नगर्नु, देश समृद्ध बनाउन सहयोग गर्नु

Break n Links
Break n Links

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई नेपालमा आएर राजनीति नगर्न आग्रह गरेकी छन्।

सर्वोच्च अदालतको फैसलाअनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा आजदेखि काठमाडौंमा सुरु भएको एनआरएनए एकता महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री राणाले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन्।

उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन्।

मन्त्री राणाले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस्। यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईँहरूले सहयोग गरिदिनुस्। हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन। तपाईँहरू त कहीँ लेबर गरेर पनि गर्नुभएको छ। एउटै जेनेरेसनभित्र तपाईँहरूले कति ठुलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ।’

एनआरएनएको समन्वय गर्ने मन्त्रालयको रुपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैरआवासिय नेपालीहरू एक भएर अघि बढ्नुपर्ने सुझाव दिइन्।

उनले अब एनआरएनएमा विवाद भन्दा साझा संस्थाको रुपमा अघि बढ्ने आफूले विश्वास लिएको बताइन्।

प्रकाशित मिति: : 2025-05-03 15:49:00

प्रतिकृया दिनुहोस्