राष्ट्रपति सी भारतको चेन्नाई पुगे,शनिबारदेखि नेपालको दुई दिने भ्रमण गर्ने

तस्बिरः एजेन्सी

चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुगेका छन्। उनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आएका हुन् ।

बैठकका क्रममा दुबै नेताबीच दिर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा गम्भीर विचारविमर्श हुनेछ ।

चेन्नाई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो । तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र पनि हो । राष्ट्रपति सीको चेन्नाईमा भव्य स्वागत गरिएको थियो ।

राष्ट्रपति सीको भ्रमणलाई लक्षित गर्दै चेन्नईमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय मिडियाहरुले जनाएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। सुरक्षालाई मध्यनजर गर्दै प्रहरी र अन्ना विश्वविद्यालयका वैज्ञानिकहरुको सक्रियतामा ६ वटा ड्रोनमार्फत सुरक्षा अवस्थाको मूल्यांकन भइरहेको बताइएको छ।

सो ड्रोनहरुले हालसम्म करिब ३० हजार तस्बिरहरु लिइसकेको बताइएको छ। ड्रोनबाट सुरक्षा मूल्यांकन भइसकेपछि आवश्यक्ता अनुसार सडकमा र्‍यापिड एक्सन फोर्स, क्विक रिएक्सन टिम र स्पेशल टास्क फोर्स परिचालन गरिनेछ।

राष्ट्रपति सीको भ्रमणमा कुनै ‌औपचारिक सम्झौता वा सन्धीमा हस्ताक्षर हुने कार्यक्रम नरहेको बताइएको छ। तर यसपालीको भेटमा कश्मीर विवादको विषय छायामा पर्नसक्ने ठानिएको छ।

भारत आउनु ठीक अगाडि चिनियाँ राष्ट्रपति सी ले बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका थिए।भारत र पाकिस्तानबीच कश्मीर विवाद चर्किरहेको बेला उक्त भेटघाट भएको हो।

ती भेटघाटमा चीनले कश्मीरलाई एक विवादित मुद्दा भन्दै त्यसको समाधान शान्तिपूर्ण ढङ्गबाट संयुक्त राष्ट्रसंघको बडापत्र, सुरक्षा परिषदले स्विकृत गरेका प्रस्ताव तथा द्विपक्षीय सम्झौताका आधारमा गरिनुपर्छ भनेको छ।

भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि नेपालको दुई दिने भ्रमण गर्नेछन् ।

प्रकाशित मिति: : 2019-10-11 15:57:03

प्रतिकृया दिनुहोस्