स्थानीय तह निर्वाचन

गठबन्धन निल्नु न ओकल्नु

स्थानीय तहकाे निर्वाचन नजिकिएसँगै चाेक–चाैतारी, चिया–पसल र जताततै दिनहुँ जसाे चुनावी बहस चलिरहेको छ। दुई/चार जना मानिस जम्मा भएको ठाउँमा पनि बहस भइहाल्छ, निर्वाचनकै।

गठबन्धनको कुरा के हुन्छ? स्थानीय चुनावमा कुन पालिकामा कुन पार्टीबाट कसले टिकट पाउँछ? विद्यार्थीदेखि व्यापारी, कृषक सबैको चासोको विषय बनेको छ गठबन्धन।

२०७४ को स्थानीय तहको निर्वाचनमा डोटीका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकामध्ये एउटा नगरपालिकासहित २ वटा गाउँपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको थियो भने ५ वटा एमाले र १ वटा माओवादीले जितेकाे थियाे।

त्यस्तै गाउँपालिकामा ७ वटा वडामा वडाध्यक्षसहित सबै ३५ जना, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ३७ जनाको सिङ्गो टीमले जितेको थियो।जुन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको गृहपालिका पनि हो। त्यसैले पनि यहाँ माओवादीको दृष्टि परेको छ। तर यस पालिकामा माओवादीको जनाधार देखिँदैन। २०७४ को निर्वाचनमा कांग्रेसका लोकेन्द्रबहादुर शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज जोशीलाई आधा मतले पछाडि परेका थिए।

माओवादी केन्द्रले नेतृत्व मागेको ४ वटा पालिकामा जित्नु त परै जाओस्, कहीँ कतै दोस्रो स्थानमा आउने सम्भावना समेत नरहेकाे बताइन्छ। त्यस्तै जिल्लाभरीका ६५ वडामध्ये ३४ वडामा वडाध्यक्ष मागेको माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जम्मा ४ वटा वडामा मात्र जितेकाे थियाे।

त्यस्तै बेलाबखत विभिन्न कारणले चर्चामा आइरहने पर्यटनमन्त्री प्रेम आलेको समेत नजर परेको छ केआईसिंह गाउँपालिकामा। माओवादी केन्द्रको जस्तै पेचिलो माग नेकपा एकीकृत समाजवादीले पनि गरिरहेको छ। मन्त्री आलेको गृह जिल्ला रहेको डोटीको राजनीति अन्य जिल्लामा समेत चर्चाको बिषय बनेको छ।

अघिल्लो निर्वाचनमा काकताली परेर एमालेबाट निर्वाचन जितेका पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनी जिल्लाकै एक्ला पलिका अध्यक्ष हुन्। जो अहिले नेकपा एस डोटीका जिल्ला अध्यक्ष पनि छन्।

पूर्वीचौकी जितेको गाउँपालिका भएको नजिर राख्दै नेकपा एसले माग गरिरहेको छ। यद्यपि यस गाउँपालिकामा नेकपा एकीकृत समाजवादी कमजाेर देखिन्छ। जहाँ अघिल्लो निर्वाचनमा ७ वडामध्ये ५ वटा वडा कांग्रेसले जितेको थियो।

यस्तै नेकपा एसले अन्य सम्भावित पालिकामध्ये जोरायल गाउँपालिकालाई पनि ताकेको छ। जुन गाउँपालिका मन्त्री आलेको गृह पालिका हो। त्यस्तै बडीकेदार गाउँपालिकालाई पनि उनले आफ्नो निशानामा राखेका छन्। नेकपा एसले जिल्लामा १६ वडाध्यक्ष समेत मागेको छ।

जिल्लाका सम्पूर्ण पालिकामा आफूले सजिलै जित्नसक्ने आँकलन गरेको कांग्रेस रनभुल्लमा परेको छ। डोटी पूर्वमन्त्री तथा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर र संविधान सभा सदस्य हर्कबहादुर सिंहको पनि गृह जिल्ला हो। बलायरलगायतका प्रभावशाली नेताहरुको गृह जिल्ला भएको डोटीमा पछिल्लो समय गठबन्धनले छुट्टै तरङ्ग पैदा गरेको छ। जिल्ला स्तरमा निर्णयमा पुग्न निकै कठिनाइ भएको कुरा स्रोतले जनाएको छ।

माओवादी केन्द्र र नेकपा एसले दाबी नगरेको शिखर नगरपालिका कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री वीरबहादुर बलायरको गृहपालिका हो। उक्त नगरपालिकाका कांग्रेसी आकांक्षीहरुलाई पालिकास्तरमा मिलाउन नसकेपछि क्षेत्र हुँदै जिल्लामा पुगेको नामावली सूची जिल्लाले समेत मिलाउन नसक्दा प्रदेश पठाइएको छ।

यतिखेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवानिकटका नेता वीरबहादुर बलायर र जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलगायत कांग्रेसी नेताहरुमा गठबन्धनकै कारण अन्यौलता छाएको छ। एकातिर केन्द्रको निर्देशन मान्नुपर्ने, अर्कोतिर माओवादी केन्द्र र नेकपा एसले मागेबमोजिम दिन नसक्ने भएपछि डोटी कांग्रेसमा गठबन्धन निल्नु न ओकल्नु भएको छ।

प्रकाशित मिति: : 2022-04-18 08:19:00

प्रतिकृया दिनुहोस्