जापानमा आएको आँधीमा परि ज्यान गुमाउनेहरुको संख्या १८ पुग्यो,उद्धारका लागि २७ हजार सेना परिचालन

REUTERS

जापानमा आएको ६० वर्षयताकै आएको ठूलो आँधीमा परि ज्यान गुमाउनेहरुको संख्या १८ पुगेको छ । आँधिमा दर्जनौं व्यक्ति हराइरहेकाले प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार २७ हजार सेना पनि परिचालन गरिएको छ। आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ ।

राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो निम्त्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । क्योडो न्युज एजेन्सीका अनुसार आँधीपछिको वर्षा र पहिरोले हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

आँधीका कारण ९० भन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ११ बेपत्ता भएको सरकारी अधिकारीहरूको बताएका छन् ।इगु प्रायद्वीपबाट सुरु आँधी अहिले पूर्वी तटमा रहेको जापानको मुख्य टापुतर्फ बहिरहेको छ । बीबीसीका अनुसार आँधीको गति अहिले २२५ किलोमिटर प्रतिघण्टा छ ।

आँधीले जापानको अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । २ लाख ७० हजार घरको विद्युत् सेवा अवरुद्ध भएको छ । हवाई तथा सडक आवागमन पनि आँधीले प्रभावित पारेको छ ।भीषण आँधीसँगै रग्बी विश्वकप तथा फर्मुला–वानका केही खेलहरू स्थगित गरिएका छन् ।

जापानको जलवायु संस्थाका अधिकारी यासुशी काजिवाराले शनिबार राति र आइतबार बिहानसम्म राजधानी टोकियोमा कम्तीमा आधा मिटर वर्षा हुने बताए उनले भने, ‘कतिपय सहर तथा गाउँमा हालसम्मकै ठूलो वर्षा भएपछि आपत्कालीन अवस्था सूचना जारी गरिसकिएको छ ।’

अधिकारीहरूले सम्भावित जोखिमका क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न सूचना जारी गरेका बीबीसीले जनाएको छ । थप मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने आकलन गर्दै जापान सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको छ ।

 

प्रकाशित मिति: : 2019-10-13 14:51:04

प्रतिकृया दिनुहोस्