पछि हट्ने कुरा छैन, सरकार जसरी आउँछ हामी त्यसको प्रतिकार गर्न तयार छौः ओम पुन, पोलिटब्यूरो सदस्य- विप्लव नेतृत्वको नेकपा

तस्बिरः बिएल

सरकारले बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाएको छ। देशमा चन्दा आतंक फैलाएर मान्छेको ज्यानै जाने गरी बम आतंक फैलाउन थालेको भन्दै सरकारले गत सातादेखि प्रतिबन्ध लगाएको हो। यसै विषयमा ब्रेक एण्ड लिङ्क्स (बिएल) सँग पार्टीका पोलिटब्यूरो सदस्य ओम पुनले कुराकानी गरेका छन्। प्रस्तुत छ- त्यही कुराकानीको सम्पादित अंश।

राज्यले तपाईँहरूको गतिविधिमा किन प्रतिबन्द लगायो?

केपी र प्रचण्डले यो देशलाई द्वन्द्वमा लगे। युद्वको घोषणा गरे, हामीले युद्वको घोषणा गरेका छैनौं। उनीहरुले युद्वको घोषणा गरेपछि हामी प्रतिवाद त गर्ने नै भयौं, देश अब द्वन्द्वमा गयो।

अब के हुन्छ ?

राज्यले हामीमाथि दमनात्मक कदम अघि बढाएको छ। हामीले त्यसको प्रतिवाद गर्नैपर्छ। राज्य जस्तो हिसाबले प्रस्तुत हुन्छ हामी पनि त्यही हिसावमा प्रतिवाद गर्न तयार छौ। अब हामी त्यसकै तयारीमा जुटिसकेका छौं।

तपाईहरू भूमिगत किन हुनुभयो?

होइन हामी भूमिगत भएका छैनौं, हामी जनताका साथमा गएका हौ। हामी निरन्तर अभियानमा छौं। केपी र प्रचण्डले प्रतिबन्ध लगाउने भनेका छन्। हामी त्यसलाई प्रतिवाद गर्ने तयारीमा छौ। जुन उनीहरुले हामीलाई ३५ दिनभित्र समाप्त गर्ने अल्टिमेटम दिएका छन्। उनीहरूको प्रतिबन्ध पानीको फोका जस्तै भएर जानेछ।

राज्यसँग प्रतिवाद गर्ने तपाईंहरूसँग शक्ति पुग्छ?

राज्य हामीसँग राजनीतिक हिसावले हारिसक्यो। अब प्राविधिक हिसाबमा लड्न खोजेको छ। हामी त्यसरी नै प्रतिवाद गर्नेछौं । हामीसँग सबैखाले क्षमता छ, राज्य फौजी हिसाबले अघि बढ्छ भने हामी पनि तयार छौं।

राजनीति हिसाबमा अघि बढ्ने भन्नुभयो, त्यो ठीकै होला। तर, राज्यसँग प्रतिवाद गरिहाल्ने स्रोत साधन छ त?

होइन हामीसँग सबै छ। राजनीति हिसावमा त राज्य हारिसकेको छ। प्राविधिक र फौजी हिसावले ऊ अन्तिम लड्न आउँदैछ, हामीसँग पराजित हुन्छ।

चन्दा नदिएको झोकमा पार्टी भौतिक कारबाहीमा लाग्यो भन्ने छ नि?

यो दलालहरूले हामी माथि लगाउने आरोप हो। किनभने भष्टचारविरूद्ध, जनघातविरूद्ध कारबाहीलाई केन्द्रीत गर्दै गएपछि हामीलाई लगाउने आरोप के त? अरु त केही पनि छैन।
एनसेलले ७५ अर्ब भष्टाचार गरेको छ, त्यसलाई कारबाही गर्दा जनताले ठीक भनेका छन्। १० अर्ब त केपी-प्रचण्डले खाएका रहेछन्, त्यो कुरा एनसेल आफैंले बोल्यो। अब उता मेनपावर कम्पनीका मालिक मानव तस्करलाई कारबाही गर्दा जनता खुशी भएका छन्। हामीले गरेका काम जनअनुमोदित छन्।
चन्दा लिएर बम आतंक गरेको भन्ने आरोप हो। कुनै पनि पार्टी चन्दा लिएरै चलेका हुन्छन्। कांग्रेस, केपी, प्रचण्डले धेरै चन्दा लिए। केपी र प्रचण्डजस्ता दलालले हाम्रो बदनाम गराउन यस्तो हल्ला चलाएका हुन्।

तपाईंहरू वार्ता र संवादका लागि लचक भएको भन्ने कुरा छ नि?

यो झुटो हो। हामी त्यसको पक्षमा छैनौं । वार्ता र संवादको बाटोमा हामी छैनौं। राज्य आफैं अत्तालिएको छ। राज्य आफैं विनासतर्फ गएको छ। केपी-प्रचण्डले जुन खाल्डो खनेका छन् त्यसमा उनीहरू आफैं पुरिनेछन्।

राज्यले तपाईंहरूका गतिविधिमा प्रतिबन्ध लगाएको छ, अब त गाहो भयो नि। त्यसमाथि तपाईंहरूसँग भएका हतियार पनि माग्यो नि!

होइन, जनयुद्वकालमा पनि त्यतिबेलाको राज्यसत्ताले प्रतिबन्ध लगाएकै थियो। जनयुद्व सुरू भयो। अहिले पनि त्यही हो।

तपाईहरूसँग अत्याधुनिक हतियार पनि छ रे नि

समानान्तर सत्ता चलाएको पार्टीसँग हतियार होला। सेना होलान् सबै संयन्त्र होलान्। यी सबै बुझाएर आत्मसर्पण गर्ने छैनौं। आत्मसर्मपण त प्रचण्ड र बाबुरामले गरे। हामीले पनि गर्ने भए उनीहरुको पछि लागिहाल्थ्यौ नि।
आत्मसर्मपण नगर्ने संसदीय ब्यवस्था नमान्ने, दलाल पूँजिवादलाई खारेज गर्ने वैज्ञानिक समाजवाद स्थापना गर्ने भनेर अगाडि बढेको शक्ति हामी दलाल पूँजिवादले अघि सारेका मुद्दालाई मान्दैनौं।

तपाईंहरूसँग अत्याधुनिक हतियार छन् भन्ने छ नि?

पुरानो युद्व होइन, दुनियाँमा साइवर वार, जल वार,  थल वार, तथा बायु वारलगायतका वारहरू सुरू भएका छन्।

आधुनिक जमानाअनुसार युद्व चल्दै आएको छ। स्वभाविक रुपमा हामीसँग पनि केही होलान्, हामी कुनै हिसावमा पनि पछि छैनौं।

प्रकाशित मिति: : 2019-03-16 20:16:01

प्रतिकृया दिनुहोस्