भारतीय प्रधानमन्त्री मोदीको माल्दिभ्सपछि श्रीलंका भ्रमण

Agency

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनभित्र दक्षिण एसियाको दुई राष्ट्र माल्दिभ्स र श्रीलंकाको भ्रमण गरेका छन्।

दोस्रो कार्यकालका लागि यसै महिना प्रचण्ड बहुमतसहित प्रधानमन्त्री चुनिएका मोदीले छिमेकीहरु सँग विश्वासको सम्बन्ध राख्न आफूले यी मित्र राष्ट्रको भ्रमण गरेको बताएका छन्।

तर, दोस्रो कार्यकालको पहिलो भ्रमणमा मोदीले माल्दिभ्स र श्रीलंकाको छनोट गर्नुलाई कुटनीतिज्ञहरुले पछिल्लो समय दक्षिण एसियामा फैलदो चीनको प्रभावलाई रोक्न उनको भ्रमण भएको बताएका छन्।

चीनले पछिल्लो केही वर्षयता माल्दिभ्स र श्रीलंकामा आफ्नो प्रभाव विस्तार गरेको थियो। दक्षिण एसियामा जल र थल दुवै मार्गबाट आफ्नो प्रभाव विस्तार गरिरहेको चीनलाई रोक्न भारत असक्षम रहँदै आइरहेको टिकाटिप्पणीका बीच प्रधानमन्त्री मोदीको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

शनिवार माल्दिभ्सको पहिलो भ्रमण सम्पन्न गरेका मोदीलाई त्यहाँको उच्च सम्मानबाट सम्मानित गरिएको थियो। माल्दिभ्सको सांसदलाई सम्बोधन गरेका भारतीय प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा चीन र पाकिस्तानको नाम नलिइकन आलोचना गरेका थिए।

आइतबार दिउँसो श्रीलंका पुगेका मोदीलाई कोलम्बो विमानस्थलमा रानिल विक्रमसिंघेले स्वागत गरेका थिए।

गत इस्टरमा आतंकवादी हमलामा श्रीलंकामा २ सय ५८ जनाको ज्यान गएको थियो। हमलामा ११ भारतीय पनि ज्यान गुमाएका थिए। २१ ऋप्रिलमा श्रीलंकामा भएको आतंकवादी हमलापछि कुनै राष्ट्राध्यक्षले भ्रमण गरेको पहिलो पल्ट हो।

मोदीले श्रीलंका भ्रमणमा इस्टरमा मारिएका व्यक्तिलाई चर्चमा पुगेर श्रद्धाञ्जली दिए। उनले श्रीलंकाका राष्ट्रपछि मैत्रीपाला सिरिसेनासँग पनि भेट गरेका थिए। मोदीले राष्ट्रपछि भवनमा बृक्षारोपण पनि गरेका थिए।

मोदीले विपक्षी नेता महिन्द्रा राजपक्षे तथा तमिल राष्ट्रिय गठबन्धनका नेतासँग भेट गरेका थिए।
  

प्रकाशित मिति: : 2019-06-09 16:29:50

प्रतिकृया दिनुहोस्