मोदीको वधाई, खानको ट्विट : भारतमा हलचल

तस्वीर: इण्डिपेन्डेन्ट

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको राष्ट्रिय दिवसको उपलक्ष्यमा त्यहाँका जनतालाई बधाइ दिएको जानकारी पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएका छन् । 

उनले एक ट्वीटमार्फत मोदीले पाकिस्तानी जनतालाई शुभकामना दिदै लोकतन्त्र, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणका लागि यस उपमहाद्वीपका जनता एक हुनुपर्ने र त्यहा हिंसा र आतंकको लागि कुनै ठाउँ नहुने बताएको पुष्टि गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीको वक्तव्यको पाकिस्तानी समकक्षी खानले स्वागत गर्दै द्विपक्षीय वार्ताका लागि  प्रस्ताव गरेका छन्। खानले भनेका छन्- 'भारतसँग कश्मिरलगायत सबै विषयमा बृहत कुराकानी हुनुपर्छ।'

तर,  पाकिस्तानी प्रधानमन्त्री खानको यो ट्वीटले भारतमा भने हलचल मच्चाएको छ। भारतका प्रतिपक्षी राजनीतिक दलहरूले प्रधानमन्त्री मोदीको आलोचना गर्दै जवाफ मागेका छन्।  कांग्रेसकी राष्ट्रिय प्रवक्ता प्रियंका चर्तुवेदीले भनेकी छिन्- 'एकातिर भारत सरकार पाकिस्तानकोे राष्ट्यि दिवस वहिष्कार गरिरहेको छ भने अर्कोतिर देशका प्रधानमन्त्री भने पाकिस्तानका प्रधानमन्त्रीलाई ट्वीट गरेर बधाइ दिइरहेका छन्। मोदीको अडान के हो?, देशले जान्न चाहेको छ।'

यसैगरी जम्मु-कश्मिरका नेता उमर अव्दुल्लाले भनेका छन्- , जनतालाई पाकिस्तानको राष्ट्रिय दिवसमा भाग लिनमा रोक लगाइएका बेला मोदीले पनि पाकिस्तानलाई बधाईं दिनु हुदैन थियो। यस्तो व्यवहारले गर्दा पाकिस्तानसँगको हाम्रो सम्बन्ध उल्झिएको हो।' 

हरेक वर्ष मार्च २३ तारिखका दिन पकिस्तानले आफ्नो राष्ट्रिय दिवस मनाउने गर्छ। भारत सरकारले यो वर्ष दिल्लीस्थित पाकिस्तानको उच्चायुक्तको कार्यालयमा मनाउन लागिएको कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेको थियो। उसले पाकिस्तानमा हुने समारोहमा पनि भारतका कुनै प्रतिनिधि सामेल नहुन आदेश दिएको थियो।

जम्मु कश्मिरको विवादित दल हुर्रियत कन्फ्रेन्सका प्रतिनिधिलाई समारोहमा निम्त्याइएपछि भारतले पाकिस्तानको राष्ट्रिय दिवस वहिष्कार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: : 2019-03-23 04:16:08

प्रतिकृया दिनुहोस्