नेपालमा लगानी बारे ओमानस्थित दूतावासको सक्रियता, लगानीमा व्यवसायीको चासो (भिडियोसहित)

तस्बिरः बिएल

नेपालमा लगानी गर्नेबारे ओमानका व्यवसायीले चासो देखाएका छन्।  ‘नेपालमा लगानीको सम्भावना र अवसर’ का बारेमा नेपाली राजदूतावास ओमानले मस्कटमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओमानका व्यवसायी नेपालमा लगानी गर्न उत्साहित भएका हुन्।

ओमानमा रहेका विभिन्न देशका राजदूत तथा कुटनीतिज्ञलाई सहभागी गराएर आयोजित कार्यक्रममा नेपाली दूतावासले नेपालमा लगानीको सम्भावना र अवसरबारे चासो राखेको थियो।

मस्कटस्थित होटल डब्लीउमा आयोजित कार्यक्रममा मोमानका उद्योग मन्त्रालयका सचिव अहमद बिन हसन अलदिब, दक्षिण एसिया विभागका प्रमुख एवं परराष्ट्र मन्त्रालयका महामहिम हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा परराष्ट्र मन्त्रालयका डाक्टर याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सिइओ अब्दुल अधैम अल बाहराइनीलगायत ओमानमा रहेका विभिन्न देशका राजदूत तथा कुटनीतिज्ञको सहभागिता थियो।

गत मार्च २९–३० मा काठमाडौंमा आयोजित ‘नेपाल इन्भेष्टमेन्ट समिट २०१९’ मा नेपालका प्रधानमन्त्रीसहित अन्य देशका प्रमुख व्यक्तिद्वारा सम्बोधित प्रमुख विषयलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो।

सम्बृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नको लागि नेपालमा लगानीको महत्वबारे ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले प्रकाश पारेकी थिइन्।

कृषि, ऊर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायातलगायतका क्षेत्रमा लगानीबारे राजदूत ढकालले धारणा राखेकी थिइन्।

कार्यक्रममा सम्बन्धित क्षेत्रका भिडियो पनि सँगै प्रस्तुत गरिएको थियो।

राजदूत ढकालले लगानी अनुकुल वातावरण बनाउन नेपाल सरकारद्वारा विभिन्न सरकारी र संस्थागत नीतिमा ल्याएका सुधारबारे प्रकाश पारेकी थिइन्।

विभिन्न देशका राजदूत, मिसन प्रमुख, विभिन्न दूतावासका आर्थिक तथा व्यापार सल्लाहकार, इन्भेस्टमेन्ट प्रोमोशन तथा निर्यात विकासको लागि सार्वजनिक प्राधिकरण आइटिएचआरएए ओमान र स्टेट जनरल रिजर्भ कोषका विशेष प्रतिनिधिहरु सहित करिब ५५ जनाको सहभागिता थियो। 

राजदूत ढकालले यसअघि पनि नेपालमा लगानी गर्न ओमान तथा विभिन्न देशका लागनीकर्तासँग समन्वय गर्दै भेटघाट समेत गरेकी थिइन्।

प्रकाशित मिति: : 2019-07-03 15:17:16

प्रतिकृया दिनुहोस्