आइतबार, १८ मे २०२५

‘वाटर पार्क’मा विद्यार्थी र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते

News Image
• • •

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ।

शनिबार जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले कक्षा १२ दिएका विद्यार्थीहरूका लागि भनेर मात्र एकसय रुपैयाँ शुल्क लाग्ने गरी कार्यक्रम आयोजना गरेको थियो।

वाटरपार्कको क्षमता भन्दा बढी विद्यार्थीको उपस्थित भएपछि पार्क व्यस्थापन र विद्यार्थीहरू बीच तनाव उत्पन्न भएको थियो। सो क्रममा झडपसँगै तोडफोड हुँदा लाखौंको क्षति भएको वाटरपार्कका व्यवस्थापक अभिषेक गोइन्काले बताए।

कृष्णा फाउन्डेसनसँग सातसयदेखि नौं सयजना विद्यार्थी मात्र आउने भनि सहमति भएकोमा दुई हजार भन्दा बढी विद्यार्थी प्रवेश गर्न खोजेपछि झडप हुन पुगेको उनले बताए।

आक्रोशित विद्यार्थीहरूले पार्कको मूल गेट, सीसीटीभी, सिसा, रुख बिरुवा, गमला, टेन्ट, फलामको गेट, सामान राख्ने कोठा, कुर्सी, फलामलगायतमा तोडफोड गरेको उनले बताए।

सडकमा गुडिरहेका दुईवटा हाइसमा समेत तोडफोड गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ। विद्यार्थीहरू उग्र भएपछि अवस्थामा नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ।

झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। तोडफोडमा उत्रिएका १० जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अहिले व्यापक मात्रामा प्रहरी तैनाथ रहेका छन्।

अवस्था सामान्य भएपछि क्षतिको विवरण गरिने प्रहरीले जानकारी दिएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?