
बिएल संवाददाता
विराटनगर
कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई जे बोले पनि छुट दिन कांग्रेसलाई के बाध्यता आइलाग्यो? भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।
प्रमुख सत्ता साझेदार पार्टीले प्रधानमन्त्री र सरकारका बारेमा छलफल नगरेर एउटा व्यक्तिका बारेमा मात्रै केन्द्रीत रहेर पदाधिकारी बैठक बसेको उनले त्यसलाई हास्यास्पद पनि भनेका छन्।
‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला। तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ कोइरालाले भने, ‘मलाई अचम्म लागेको छ। यस्तो पनि कहिँ हुन्छ?’
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रुपमा कहिंकतै नबोलेकोमा आफूलाई अचम्म लागेको बताए।
कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए।
विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन ‘नेपाल नाई संघ’को राष्ट्रिय परिषद उदघाटन गर्दै कोइरालाले भने, ‘के बाध्यता आइपर्यो? त्यस्तो प्रधानमन्त्रीले जे-जे गरे पनि कांग्रेसले छुट दिंदै जाने?’ कोइरालाले प्रश्न गरे।
पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे। यसअघि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई उनले राजीनामा दिएर नैतिकता देखाउन र छानबिनमा सहयोग गर्न भनेका थिए।
तर सोमबार बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भने उनले किन राजीनामा मागेको? भन्नेमात्रै चर्चा भयो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमहामन्त्री शशांक कोइरालाले त शेखर कोइराला, सुनिल शर्मा र राजेन्द्र बजगाईंसँग स्पष्टीकरण माग्नुपर्ने बताएका थिए। डा. सशांकले नै उनीहरूलाई बोलाएर पार्टी सभापतिले त्यसबारेमा सोध्नुपर्ने प्रस्ताव बैठकमा गरेका थिए।
पदाधिकारीको बैठकले भने लेखकको कुनै संलग्नता नदेखिएको भन्दै राजीनामा दिनुनपर्ने निश्कर्ष निकालेको छ।
लेखकको राजीनामाको विषयलाई लिएर प्रतिपक्ष दलहरूले भनेका मंगलबार प्रतिनिधिसभाको बैठक चल्न दिएनन्।
१ .
२ .
३ .
४ .
५ .