बुधबार, ०९ जुलाई २०२५

झाँक्रीको मुखमा ‘पट्टी टाँस्न’ खोजेको देखेर गोकुललाई ‘उदेक’ लाग्यो

News Image
• • •

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीमाथि उनकै पार्टीले कारबाहीको तयारी गरेपछि झाँक्रीको मुखमा पट्टि लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बास्कोटाले केपी ओलीविरुद्धका झाँक्रीका पहिलेका अभिव्यक्तिहरूमा ताली ठोक्नेहरू यति छिट्टै उनको मुखमा पट्टि टाँस्न तम्सिएको देखेर आफूलाई उदेक लागेको बताएका छन्।

बास्कोटाले भनेका छन्, ‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम। हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिष्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैं ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु।’

अख्तियारले अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर गरेपछि झाँक्रीले गरेको टिप्पणीका कारण पार्टीभित्र उनको सम्बन्ध बिग्रिएको छ। नेतृत्व परिवर्तनको पक्षमा बोलेपछि पार्टीले यतिबेला उनलाई स्पष्टीकरण सोधेको छ।

प्रक्रियाका लागि मात्र स्पष्टीकरण सोधिएको र जवाफ आउने बित्तिकै झाँक्रीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाटै निष्कासित गर्ने तयारी रहेको बुझिएको छ।

०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले नेकपाभित्र विवाद बढेपछि संसद विघटन गरेका थिए। त्यतीबेला ओलीको आलोचना गर्ने अग्रपंक्तिमा थिइन् झाँक्री। उनले भृकुटीमण्डपमा प्रचण्ड-माधव समूहले गरेको विरोध सभामा नेतृत्वविरुद्ध बोल्न पाउनुपर्छ भन्दै मुखमा कालोपट्टी लगाएर विरोध गरेकी थिइन्।

र, पार्टी विभाजनपछि ०७८ भदौ २ गते नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न माधव नेपालको हात नै समाएर निर्वाचन आयोग पुगेकी थिइन्।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?