अमेरिकाको संघीय जाँच एजेन्सी (एफबीआई) ले भारतले सर्वाधिक खोजी गरिरहेको मुम्बई बिस्फोटका अभियुक्त दाऊद इब्राहिम पाकिस्तानको कराची शहरमा लुकेर बसेको दावी गरेको छ।
एफबीआईले यस्तो दावी लन्डनको एउटा अदालतमा गरेको हो। एफबीआईले पाकिस्तानमै बसेर दाऊदले अन्तर्राष्ट्रिय अपराधको सिन्डिकेट चलाइरहेको पनि बताएको छ।
दाऊदका खास सहयोगी जाबिर मोतीवालालाई अमेरिका सुम्पिने सम्बन्धमा बेलायतको अदालतमा चलिरहेको मुद्धामा अमेरिकाको पक्ष वकिल जोन हार्डीले राखेका थिए।
वकिल हार्डीले भने, ‘एफबीआईले न्युयोर्कमा डि कम्पनीसँग जोडिएको विषयलाई लिएर अनुसन्धान गरिरहेको छ। डि कम्पनीको नेटवर्क पाकिस्तान, भारत र युएईमा फैलिएको छ।’
मुम्बई बिस्फोटमा अभियुक्त ठहर भएपछि दाऊद र उनका भाई सन् १९९३ मा भारतबाट भागेर पाकिस्तान पुगेका थिए।
डि कम्पनीले पछिल्लो १० वर्षमा अमेरिकामा पनि आफ्नो नेटवर्क फैलाउन थालेको बताइएको छ।