भारतको बंगालमा ‘जय श्रीराम’ को नारा लगाउँदा एक युवाको हत्या

Agency

भारतको पश्चिम बंगालमा भगवानको नाममा फेरि एकपल्ट हिंसा भएको छ। बंगालको नदिया जिल्लामा एक युवाले ‘जय श्रीराम’ को नारा लगाउँदा उनको ज्यान गएको छ।

सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) दोस्रो कार्यकालका लागि प्रचण्ड बहुमतका साथ सत्तामा फर्किएपछि बंगालमा हिंसा भड्किएको छ। हिन्दु समर्थकहरूले स्थानीय वासिन्दालाई जबरदस्ती ‘जय श्रीराम’ भन्न लगाउने, नभनेको खण्डमा मारपीट गर्ने गरेका छन्।

तर, बंगालमा सरकार बनाएका तृणमूल कंग्रेसका कार्यकर्ताले ‘जय श्रीराम’ बोल्ने व्यक्तिहरूलाई निशाना बनाउँदै आइरहेका छन्।

गत बुधबार पनि ‘जय श्रीराम’ को नारा लगाएको आरोपमा ती युवाको हत्या भएको बताइएको छ।

कुटपीटको घटनामा ज्यान गुमाउने युवाको पहिचान कृष्ण देवनाथ भएको बताइएको छ। उनी दक्षिण भारतको चेन्नईमा नाम चलेको एउटा होटलमा शेफको काम गर्थे। उनी डेढ वर्षपछि छुट्टी बिताउन बुधबार मात्र घर फर्किएका थिए।

शनिबार मृतकको शव बोकेर बिजेपीका कार्यकर्ताले फकिरतलाको नवद्धीप रोडमा विरोध प्रदर्शन गरेका थिए। रोड जाम गरेर गरिएको विरोधमा युवालाई मार्ने व्यक्तिलाई तुरुन्त पक्राउ गर्नुपर्ने माग राखिएको छ।

घटनाको दिन उनी आफ्नो साढुभाईसँग घर बाहिर बसेर मधपान गर्दैथिए। नशाको हालतमा उनको केही युवाहरूसँग बादबिवाद भएको र केही युवाहरूले उनलाई बोलाएर तृणमुल कंग्रेसले सञ्चालन गरेको एउटा क्लबमा लगेका थिए। जहाँ उनीमाथि कुटपीट भएको थियो। उनलाई कुटेर ती युवाहरूले क्लबभन्दा अलि टाढाको नालीमा फ्याँकेका थिए।

नालीमा उनी भेटिदा रगताम्मे थिए। उनलाई सुरुमा शक्तिनगर अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार नहुने भएपछि निलरतन सरकारी अस्पतालमा रिफर गरिएको थियो।

घटनामा संलग्न इन्द्रजीत देवनाथ, गोविन्द देवनाथ र शंकर देवनाथविरूद्ध प्रहरीले उजुरी दर्ता गरेको छ। प्रहरीले यो मुद्धालाई गैरराजनीतिक भनेको छ।

प्रकाशित मिति: : 2019-07-07 16:07:52

प्रतिकृया दिनुहोस्