भारतीय निर्वाचनमा पाकिस्तानी–हिन्दु ‘किङमेकर’ बन्लान?

तस्बिरः एजेन्सी

केही वर्षअघि अप्रवासीको रुपमा भारत प्रवेश गरेका पाकिस्तानी–हिन्दुहरू गुमनाम झै थिए। उनीहरूको राजनीतिक हैसियत शुन्य थियो।

तर, समयले कोल्टे फेरेको छ। यतिबेला भारतमा उनीहरूको संख्या दिनहुँ बढ्दो छ। जसका कारण भारतमा आसन्न निर्वाचनमा पाकिस्तानी–हिन्दु ठूलो भोट बैकमा रुपान्तरण भएका छन्।

केही दिनअघि राजस्थानको जोधपुरमा सम्पन्न लोकसभा निर्वाचन परिणाममा पाकिस्तानी अप्रवासी हिन्दुहरू ‘किङमेकर’ बन्न सक्ने अनुमान गरिएको छ।

यसपालिको निर्वाचनमा राजनीतिक पार्टीहरूले आफ्नो घोषणा पत्रमा यी अप्रवासी हिन्दुहरूलाई लोभ्याउन विभिन्न आश्वासन दिएका छन्। जसमा पानी र बिजुली जस्ता अत्यावश्यक पूर्वाधार समेटिएका छन्।

पाकिस्तानी हिन्दुका लागि च्यारेटीको काम गर्दै आइरहेका सिंह सोडाका अनुसार जोधपुरमा मात्र यतिबेला २० हजार भोटर छन्। उनी बाडमेर, जैसलमेर र बीकानेरजस्ता अन्य जिल्लामा करिब ५ लाखको हाराहारीमा पाकिस्तानी हिन्दुहरू बसोबास गर्ने गरेको बताउँछन्। जसमा २ लाखले भारतीय नागरिकता प्राप्त गरिसकेको उनको भनाई छ। अप्रवासी पाकिस्तानी हिन्दुहरूले भारतीय नागरिकता प्राप्त गर्न सात वर्ष भारतमा अनिवार्य बसोबास गर्नुपर्छ।

नागरिकता नपाउँदासम्म उनीहरू लामो भिजामा भारतमा बसोबास गर्ने गरेका छन्। सिंह सोडाले भारतीय कांग्रेसले यी समूदायलाई लोभ्याउन आफ्नो घोषणा पत्रमा पानी, बिजुली र पूर्वाधारलगायत अन्य आवश्यक ढाँचाको आश्वासन दिएको बताए। ‘यसमा शिक्षा तथा रोजगार पनि समेटिएको छ,’ सोडाले भने।

पाकिस्तानबाट भागेर जोधपुर आएका २२ वर्षीय जगदीश ठाकुरले जोधपुरदेखि १४ किलोमिटर टाढा मागरा पुन्जलामा ८ सय ५० अन्य हिन्दु शरणार्थी अस्थायी शिविर बनाएर बसिरहेको बताए। उनले शिविरमा बिजुली नभएको, जसका कारण सूर्य उस्ताउनुअघि नै सबै काम गरिसक्नु पर्ने बाध्यता रहेको बताए। उनले सर्प र गंगटोले टोक्ने विषय शिविरमा सामान्य भएको दुःखेसो पोखे।

उनले हिन्दु विचारधारा भएका कारण पाकिस्तानबाट आउने अप्रवासी हिन्दुहरू भारतीय जनता पार्टी (भाजपा) को भोट बैंक भएको बताए। तर, उनले यस निर्वाचनमा पाकिस्तानी हिन्दुले जीविकोपार्जनको मुद्धा हेरेर भोट गर्ने बताए।

जोधपुरमा २९ अप्रिलमा निर्वाचन सम्पन्न भएको थियो। यस क्षेत्रबाट कांग्रेसका प्रत्यासी मुख्यमन्त्री अशोक गहलोतका छोरा वैभव छन्। भाजपाले सांसद तथा केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखावतलाई उठाएको छ।

प्रकाशित मिति: : 2019-05-04 07:33:34

प्रतिकृया दिनुहोस्