शान्तिबाटीकाबाट खलेटिएकाहरु:

‘के यो सहरमा बालेनले मात्र बाँच्न पाउने हो?’

महानगर भन्छन्- सार्वजनिक क्षेत्र कब्जा गरेर कुरुप बनाउने अधिकारी कसैलाई छैन

शान्तसँग बसिरहेकाे रानीपाेखरी र हाे-हल्ला मच्चिरहेकाे रत्नपार्क।

त्यसकै बिचमा छ, शान्तिबाटीका। रुखहरु भएकाे त्यही चाैर शान्तिबाटीकामा राैतहटकी गिरिजा माझीले खाना बनाउँदै थिइन्।

मंगलबार बिहानकाे ९ बज्नै लाग्दासम्म दाल पाकिसकेकाे थियाे। भात कुकरमा सिट्ठी मार्दै थियाे।

अचानक प्रहरी आए।

उनीहरुले पाकिसकेकाे दाल र पाक्दै गरेकाे भात भाँडाेसहित मिल्काइदिए।

गिरिजा हेरेकाे हेरै भइन्।

त्यसैगरी प्रहरीले दुई महिनादेखि यही बस्दै आएकाे आरती साहकाे परिवारले राखेका सामान पनि प्रहरी मिल्काइदियाे।

त्यहाँ साह परिवार र गिरिजाजस्ता अरु पनि थिए। उनीहरुकाे पनि सबै सामान प्रहरीले फालिदियाे।

गिरिजा मिटरब्याज (अनुचित लेनदेन) पीडित हुन्। उनले छाेरा बिरामी भएपछि उपचारका लागि १ लाख ७० हजार ऋण लिएकी थिइन्।

ऋण तिर्न नसकेपछि महाजनले प्रहरीमा उजुरी दिए। प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे छ।

तर, उनले भने मिटरब्याजकाे पासाेबाट उन्मुक्ति पाउनुपर्ने मागसहित काठमाडाैँमा बसेर आन्दाेलन गरिरहेकी छन्।

यही शान्तिबाटीकामा गत वर्ष पनि आन्दाेलनका लागि आएका विभिन्न जिल्लाका मिटरब्याज पीडितहरु बास बसेका थिए। गिरिजाले पनि उनीहरुले जसरी ओतलाग्ने ठाउँ बनाएर बास बसाएकी थिइन्।

उनले यहीँ पकाएर खान्थिन्। यहीँ सुत्थिन्। त्यहीँ आन्दाेलन गर्थिन्।

साह परिवार पनि दुई महिना बढी भयाे। गिरिजा जसरी शान्तिबाटीकामा बस्न थालेकाे। उनीहरुकाे पनि आफ्नै आन्दाेलन छ।

बिहे भएर गएकी छाेरीलाई दाइजाे नल्याएकाे निहुँमा श्रीमानसहित परिवारले कुटपिट गरेर हत्या गरिदिएपछि साह परिवार न्यायकाे खाेजीमा पाँच महिना अगाडि काठमाडाैँ आएकाे थियाे।

सुरुमा मृतक आरतीका बुबा, आमा र भाइले माइतीघर मण्डलामा धर्ना दिएका थिए। उनीहरु त्यहीँ बस्थे, त्यहीँ खान्थे।

तर, माइतीघरमा जिल्ला प्रशासन कार्यालयले आन्दाेलनका कार्यक्रम गर्न निषेध गर्याे। अनि, साह परिवार पनि शान्तिबाटीका पुगेकाे थियाे।

आरती साहकाे हत्यामा संलग्नलाई अदालतले सजाय ताेकिसकेकाे छ।

हत्याराहरुमाथि अदालतले अपुराे कारबाही गरेकाे भन्दै उनकाे परिवारले काठमाडाैँमा धर्ना दिइरहेकाे छ।

साह परिवारले पनि शान्तिबाटीकामा बास जमाएकाे थियाे। उनीहरु त्यहीँ पकाउने, खाने र सुत्ने तथा दिनभर न्यायकाे माग गर्दै राजनीतिक दलका दैलाेदेखि सिंहदरबारसम्म धाउने गरेका छन्।

शान्तिबाटीकामा बस्ने अरुका कथा पनि त्यस्तै छन्। उनीहरु पनि दिनभर आन्दाेलनका लागि कता-कता जान्छन्। रातिमा यही आएर बस्छन्।

त्यहाँ उनीहरु सबैका साना-सान छाप्रा थिए।

तर, त्यहाँ बसेका आन्दाेलनकारीहरुले चाैर र रानीपाेखरीमा फाेहाेर गरेकाे भन्दै काठमाडाैँ महानगरपालिकाले मंगलबार बिहान उनीहरुलाई हटाउन बल प्रयाेग गर्याे।

त्यसक्रममा त्यहाँ बस्दै आएकाहरु प्रहरीकाे प्रतिकार गर्दा घाइते पनि भए।

यसरी सूचना नदिई अकस्मात नगर प्रहरी आएर सामानहरु मिल्काइदिएकाेमा पीडितहरुले असन्तुष्टि पाेखे। ‘मिटरब्याजमा फसेर बर्बाद भएँ। घर जाउँ प्रहरीले समात्ला भन्ने डर छ, यहाँ बसाैँ यस्ताे छ हालत, अब कहाँ गएर बस्ने?’ गिरिजाले प्रश्न गरिन।

महानगरले सूचना नदिएर अकस्मात आएर हातपात गरेका उनकाे चित्त दुखेकाे छ। ‘हामीलाई यहाँबाट हटाउँदैछ भनेर थाहासमेत थिएन। कम्तिमा सूचना दिएको भए केही व्यवस्था गर्ने थियाैँ। अब कहाँ जाने केही टुङ्गाे छैन’, गिरिजाले भनिन्।

साह परिवारकाे पनि चिन्ता छ, अब कहाँ जाने?

‘माइतीघरबाट यहाँ लखेट्याे। आज त यहाँबाट पनि लखेट्याे, जहाँ जान्छाैँ त्यही खाेज्दै आउँछन् हामी कहाँ गएर बस्ने?’, मृतक आरतीका भाइ प्रेम साहले भने।

पीडितहरुले महानगरकाे शैलीकाे बिराेध गरेका छन्।

अर्की मिटरब्याज पीडित पुनम मगरले त महानगरले यसरी लखेट्दै गए त्यसकाे परिणाम राम्राे नहुने चेतावनी दिइन्।

‘के यो सहरमा बालेन मात्रै बाँच्न पाउने हो? हामीहरुको कुनै हक छैन। यदि बालेनले मात्रै पाउने हो भने के हामी एक-दुई लाख मानिस मर्नुपर्ने हो,’ मगरले भनिन्, ‘हामीहरु न्याय माग्न यहाँ आएका हौँ। कसैको सम्पत्ति लिन होइन। यदि हामीलाई यहाँबाट निकाल्न खोजिन्छ भने त्यसको परिमाण पनि राम्रो हुने छैन।’ उनले महानरले ज्यादती कम नगरे अरु मिटरब्याज पीडितलाई उतारेर आन्दाेलन गर्ने चेतावनी दिइन्।

तर, महानगरले पनि सम्पदाहरुलाई कुरुप गराउने गरी यहाँ बस्न नदिने बताएकाे छ।

महानगरले यहाँ बसाइएका अव्यवस्थित छाप्राहरु हटाएर मर्मत गरी चाैरलाई सफा र सुन्दर बनाउने याेजना सुनायाे।

शान्तिबाटीका मर्मतका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेकाे काठमाडाैँ महानगरका सह-प्रवक्ता दीपक अधिकारीले बताए।

‘११ महिनादेखि एउटा सार्वजनिक पार्कलाई कब्जा गरी राखिएको छ। अब मर्मत पनि गर्नुपर्ने भएकाले त्यहाँबाट उनीहरुलाई हटाइएको हो’, अधिकारीले भने।

आन्दाेलनकारी तथा अप्ठ्याराेमा परेकाहरुलाई सरकारले नै काठमाडाैँ विभिन्न स्थानमा व्यवस्थित बस्ने ठाउँ बनाइदिएकाेले त्यही गएर बस्ने उनले सुझाव दिए।

तर, पीडितहरु भने शान्तिबाटीका बाहिर बसेर महानगर र बालेनकाे विराेध गरिरहेका छन्।

प्रकाशित मिति: : 2024-02-06 21:21:00

प्रतिकृया दिनुहोस्