स्थानीय तह निर्वाचन

को–को छन् रामपुरमा मेयरका आकांक्षी

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ। आउँदो वैशाख ३० गते देशभर एकै चरणमा हुन गइरहेको निर्वाचनले गाउँ–गाउँमा चुनावी माहोल तातेको छ।

निर्वाचन आयोगले वैशाख १२ र १३ गते दुई दिन उम्मेदवारी मनोनयन गर्दैछ। स्थानीय सरकार नजिकको सरकार भएकोले पनि अबको नेतृत्वमा को आउँछ भन्ने जनचासो बढेर गएको हो।

यतिबेला स्थानीय तहमा जनप्रतिनिधि बन्न आकांक्षीहरूको दौडधुप जिल्लादेखि केन्द्रसम्म दौडधुप सुरू भएको छ। आकांक्षी धेरै हुँदा दलहरूमा उम्मेदवार चयनको विषय जटिल बनिरहेको छ।

सत्ता गठबन्धनभित्र चुनावी गठबन्धन गरेर जाने/नजाने भन्ने विषयमा छलफल भइरहेको छ। तर कुनै टुंगो भने लागिसकेको छैन। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस कम्युनिष्ट पार्टीभित्र आएको विभाजनले स्थानीयदेखि संघीय निर्वाचनसम्म आफूलाई फाइदा पुग्ने अपेक्षामा छ।

नेकपा (एमाले) भित्रको विभाजनले कांग्रेस उत्साहित देखिन्छ। तर गाउँ नगरपालिकाको प्रमुखको लागि आकांक्षी धेरै हुँदा उम्मेदवार चयन भने सजिलो देखिँदैन।

जिल्लाका दश स्थानीय तहमध्येको एक पालिका हो, रामपुर नगरपालिका। जहाँको नेतृत्व लिन होडबाजी नै चलेको छ। मेयर पदको टिकट प्राप्तिको लागि आकांक्षीहरू प्रदेशदेखि केन्द्रीय स्तरका नेताको लभिङ्गमा लागेका छन्।

पाल्पाको पूर्वीभेग कालीगाण्डकीको बेसीमा अवस्थित रामपुर नगरपालिका पाल्पाको प्रमुख व्यापारिक केन्द्र हो। जसको नेतृत्वको लागि नेताहरूको चासो बढ्नुलाई स्वाभाविका रूपमा लिन सकिन्छ।

गत स्थानीय निर्वाचनमा रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो। नगरप्रमुखमा रमणबहादुर थापा ८ हजार ८ सय ८५ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी एमालेका राजु श्रेष्ठले ७ हजार ६ सय ६७ मत प्राप्त गरेका थिए। कुल २२ हजार १ सय ९ मतदाता रहेको रामपुर नगरमा १७ हजार २ सय ३८ मत खसेको थियो।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसबाट वर्तमान नगरप्रमुख रमणबहादुर थापा नै दोहोरिने सम्भावना प्रबल रहेको बताइन्छ। रामपुरको विकासमा परिवर्तन ल्याउन सफल मेयर थापालाई फेरि मेयरमा दोहोर्याएर रामपुरको विरासत जोगाउने योजनामा नेपाली कांग्रेस छ।

अहिले रामपुर नगर सरकारको मेयरको टिकट पाउने दौडमा कांग्रेसका लुम्बिनी प्रदेश सदस्य कल्प पौडेल, निर्वतमान जिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधिहरू देवराज ढकाल, खगेश्वर पाठक र नगर सभापति नेत्र भट्टराईबीच कसले टिकट पाउने भन्ने प्रतिस्पर्धा नै चलेको छ।

यता नेकपा एमालेबाट रामपुर नगरप्रमुखका लागि राजु श्रेष्ठ फेरि प्रतिस्पर्धामा दोहोरिने सम्भावन प्रबल छ भने एक आइएनजिओबाट हालै अवकाश लिई राजनीतिमा होमिएका अनन्त सिलवाललाई मेयरमा अगाडि सार्ने तयारी नेकपा एमाले पाल्पाले गरेको छ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट कमल भट्टराई र यमबहादुर विश्वकर्मा नगरप्रमुखमा सम्भावित मुख्य उम्मेदवार हुन्। नेकपा एसले पनि आफ्नो तर्फबाट वा गठबन्धन गरेर नगरप्रमुखमा उम्मेदवार बनाउने गरी आन्तरिक तयारीमा लागेको बुझिएको छ।

रामपुरमा गठबन्दन हुने सम्भावना कम

रामपुर नगरमा लालकिल्ला बनाएको नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन तोडेर एक्लै निर्वाचनमा होमिने तयारी अगाडि बढाएको स्रोतले जनाएको छ।

कांग्रेस रामपुरमा बलियो भएकोले गठबन्धन गर्दा उपमेयर नेकपा एकीकृत समाजवादी पार्टीलाई दिनुपर्ने भएकोले गठबन्धन नगर्ने रणनीतिमा रामपुर कांग्रेस छ। यता माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनमोर्चा भने गठबन्धन गरेर जानुपर्ने बताउँछन्।

यस्तै, एमालेले भने रामपुरमा साना राजनैतिक दलसँग चुनावी गठबन्धन गर्ने तयारी गरेको छ। एमालेले राप्रपा, मंगोल, जनमुक्तिसहितको पार्टीसँग चुनावी तालमेल गर्ने योजनामा रहेको एमाले पाल्पा स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-07 07:00:00

प्रतिकृया दिनुहोस्