चीनका अर्बपतिले अमेरिकामा छोरी पढाउन ७२ करोड खर्चेको खुलासा

तस्बिरः बिएल

चीनको एउटा अर्बपति परिवारले आफ्नो छोरीलाई ‘स्टेनफोर्ड विश्वविद्यालय’ मा भर्ना गर्न कन्सल्टेन्टलाई ६५ लाख डलर (करिब ७२ करोड १५ लाख) उपलब्ध गराएको खुलासा भएको छ।

विद्यार्थीको नाम युसी झाओ भएको पुष्टी भइसकेको छ। एक रिपोर्टअनुसार ताओ शेनडोङ्ग बुचोग फर्मा कम्पनीका अध्यक्ष झाओ ताओकी छोरी हुन्, युसी।

कलेजका कन्सल्टेन्ट विलियम रिक सिङ्गरले आफूहरूलाई धोका दिएको युसीकी आमाले बताएकी छिन्। उनले वकिलमार्फत दिएको सूचनाअनुसार उनको परिवारले गरिब तथा जेहन्दार विद्यार्थीको स्कलरसीपका लागि विश्वविद्यालयलाई डोनेशन दिएको थियो।

कन्सल्टेन्ट विलियम रिक अमेरिकाको ख्याती प्राप्त विश्वविद्यालयको भर्ना काण्डका मुख्य अभियूक्त हुन्।

यही वर्ष मार्चमा घटना सार्वजनिक भएको थियो। विलियम रिक र उनका केही सहयोगी ठगीको आरोपमा दोषी प्रमाणित भइसकेका छन्। उनीहरू विरूद्ध यही महिना सजाय तोकिने सम्भावना बलियो छ।

विलियम रिकले विद्यार्थीहरूलाई उनीहरूले चाहेको कलेजमा भर्ना गराउन परिवारसँग मोटो रकम असुल्दै आइरहेका थिए। चिनियाँ परिवारसँग मोटो रकम लिने क्रममा विलियम रिकले डोनेशनको रकम कलेज स्टाफको तलब, स्कलरसीप र खेलकुदमा खर्च हुने बताएका थिए।

झाओ परिवार माथि कुनै आरोप दाखिल भएको छैन।

अदालतको दस्तावेजमा पनि उनीहरूको बारेमा कुनै कुरा भनिएको छैन। तर, मार्चमा आरोपीलाई गिरफ्तार गर्ने बेला अमेरिकी वकिलले ६५ लाख डलरको कुरा उप्काएका थिए। यसपछि डोनेशन दिने व्यक्तिको खोजी हुँदा झाओ परिवारको नाम अगाडि आएको हो।

प्रकाशित मिति: : 2019-05-04 15:35:43

प्रतिकृया दिनुहोस्