राष्ट्रिय फुटबल टोलीको क्लोज क्याम्पमा जुम्लाका सन्ताेष खत्री:

जाे काठमाडाैँमा बेवारिसे अवस्थामा फेला परेका थिए

नेपाली फुटबल भविष्यको आशालाग्दो खेलाडीको रुपमा उदाएका सन्तोष खत्री जुम्लाका हुन्। उनी राष्ट्रिय फुटबल टोलीको क्लोज क्याम्पमा परेका छन्। उनको प्रतिभाकै कारण जुम्लाले पहिलोपटक राष्ट्रिय फुटबल टोलीको क्लोज क्याम्पमा प्रवेश पाएको छ।

तर, सन्तोषको आफ्नै कहानी भने कहालीलाग्दो छ। उनी २०६४ साल जेठ ११ गतेको हाल बूढानीलकण्ठ नगरपालिकामा रहेको महाँकाल परिसरमा बेवारिसे अवस्थामा फेला परेका थिए।

सन्तोषलाई महानगरीय प्रहरी विभाग जनसेवाले फेला पारेको थियो। त्यसको दोस्रो दिन सन्तोषलाई नक्सालस्थित बालमन्दिरमा रहेको नेपाल बाल संगठनमा भर्ना गराइयो। जतिबेला उनी ३ वर्ष ४ महिनाका थिए।

बालापनको त्यो अवस्थाबारे सन्तोषलाई केही थाहा छैन। पछि उनले त्यहाँ रहेको रेकर्ड फाइल हेरेर मात्रै थाहा पाएका हुन, उनी कहिले र कहाँ भेटिएका थिए भन्ने कुरा। १६ वर्ष अगाडि जनसेवाले फेला पारेपछि नै आफ्नो जीवनको सुरुवात भएको सन्तोष बताउँछन्।

गैरनाफामूखी संस्था नेपाल बाल संगठनले ६ दशक बढी समयदेखि असहाय बालबालिकालाई आवासीय हेरचाह प्रदान गर्नुका साथै उनीहरूको अधिकार संरक्षण गर्दै आएको छ।

सन्तोषले केन्द्रीय कार्यालय बालमन्दिरभित्रै रहेको विद्यालयमा पढ्ने मौका पाए। केही वर्षपछि काभ्रेको पाँचखालस्थित संगठनकै शाखा समाज कल्याण बालगृहमा सरुवा भए। त्यहीँ हुर्के, बढे।

त्यहाँ हुँदा सिनियरहरूको देखासिकीमा फुटबल खेल्न सिके। नजिकै रहेको पाँचखाल भ्याली माध्यमिक विद्यालयमा स्कुले जीवन बिताएका सन्तोषले सात कक्षामा छँदा बल्ल आफ्नो परिवार रहेको थाहा पाए।

उनी सात कक्षामा पढ्दै थिएँ। त्यतिबेला जुम्लास्थित उनको घरमा खोजी भएको रहेछ। बालगृहमा जुम्लाकै एकजना कर्मचारी थिए। पछि अनुसन्धान गर्दा उनको घर जुम्ला भएको पुष्टि भयो। उनको घरमा आमा, दुई दिदी र एक भाइ छन्। त्यही बेला उनले आफ्नो थर खत्री रहेको थाहा पाएका थिए।

प्लस टु सकिएपछि बालगृह छाड्नुपर्ने नियम रहेकाले सन्तोष दुई वर्षयता काठमाडौँको सिफलस्थित एक होस्टलमा बस्दै आएका छन्। उनी विद्यालयमा खेलकुद शिक्षकका रूपमा काम पनि गर्छन्। यसबीच फुटबललाई निरन्तरता दिन केही समय कुकको तालिम पनि लिए। परिवारसँग त्यति नजिकको सम्बन्ध बनाएका छैनन्।

घर थाहा पाएपछि एकपल्ट उनी जुम्ला पुगेका थिए। सानैमा अलपत्र छाडिएकाले हुन सक्छ उनले परिवारसँग नजिकको सम्बन्ध बनाउन चाहेका छैनन्।

पाँच वर्षअघि सन्तोषले सडक बालबालिकाको विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका थिए। सन् २०१० मा दक्षिण अफ्रिका विश्वकपदेखि फिफाले सेभेन ए साइड सडक बालबालिका विश्वकप आयोजना गर्दै आएको छ।

२०१८ मा रुसको मस्कोमा आयोजना भएको १२ देश सम्मिलित उक्त विश्वकपमा नेपालले पनि सहभागिता जनाएको थियो। ९ सदस्यीय अन्तिम टोलीमा सन्तोष पनि अटाएका थिए। ‘स्ट्रिट चाइल्ड युनाइटेड इनिसिएटिभ’को आयोजनामा भएको प्रतियोगिताका लागि नेपाली टोलीको खेलाडी छनोट ‘सेल्टर आश्रय नेपाल’ले गरेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभिन्न संगठनबीच फुटबल लिगको आयोजना गरिएको थियो। त्यसका लागि जापानको फन रुट्स फुटबल एकेडेमीले सेल्टर आश्रयलाई ३० जोडी बुट र १० वटा बल सहयोगसमेत गरेको थियो।

त्यसबेला संगठनबाट एउटा टोली बनाइयो। लिगमा संगठन उपविजेता बन्यो। प्रारम्भिक २० जनाको टोलीमा संगठनबाट उनी र रमेश शाह परेका थिए। अन्तिम ९ सदस्यीय टोलीमा पनि उनीहरु परे।

पहिलो खेलमा केन्यालाई १-० र दोस्रो खेलमा ताजकिस्तानलाई ३-१ ले हराएको नेपाल क्वाटरफाइनलसम्म पुग्यो। क्वाटरफाइनलमा ब्राजिलसँग १-० ले पराजित भएसँगै नेपाली टोली स्वदेश फर्किएको थियो। प्रतियोगितामा सन्तोषले तीन गोल गरेका थिए।

यसरी खेल क्षेत्रमा आफ्नो फराकिलो परिचय बनाउँदै गएका सन्तोषले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा तहल्का पिटेका थिए। प्रतियोगिताकै ‘हाइलाइटेड’ खेलाडी कहलिन सफल सन्तोष यतिबेला राष्ट्रिय टोलीको क्लोज क्यम्पमा छन्।

फुटबलमा उनको पोजिसन (स्थान) मिडफिल्डर हो। सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९/०८० मा फ्रेन्ड्स क्लबबाट खेलेका सन्तोषले ‘डेब्यु’ सिजनमै सबैको मन जितेका थिए।

बालगृहमा हुर्कँदै गर्दा सन्तोषले सैनिक आवासीय महाविद्यालयमा फुटबल प्रशिक्षक विकर्ण श्रेष्ठबाट फुटबल सिक्ने मौका पाएका थिए। श्रेष्ठ फुटबल प्रशिक्षण दिन हप्तामा एकपटक बालगृह पुग्थे। फुटबलमा रुचि बढ्दै गएपछि सन्तोषले फुटबलबाहेक केही सोचेनन्। विद्यालयबाटै विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाउन थाले।

सन्तोषले दुई वर्षअघि दक्षिणकाली परोपकार क्लबबाट ‘सी’ डिभिजन लिगको छनोट खेल खेले। त्यसको एक वर्षपछि उनी ‘सी’ डिभिजन छनोटमै कालिका महावीर क्लबको जर्सीमा देखिए।

२०७८ को फागुनमा हेटौँडामा सम्पन्न प्रथम प्रदेश खेलकुदमा सन्तोषले काभ्रेको प्रतिनिधित्व गरेका थिए। त्यतिबेला बालगृहले सन्तोष यतै हुर्केको प्रमाणसहित चिठी पठाएपछि सन्तोषले हेटौँडामा खेल्न पाएका थिए। 

हेटौंडामा गरेको प्रदर्शनका आधारमा नवौं बृहत् राष्ट्रिय खेलकुदका लागि बागमतीले खेलाडी छनोट गरेको थियो। सन्तोषको काभ्रे पछिल्ला चरण नपुगे पनि सन्तोषको खेलले भने प्रशिक्षक टोली प्रभावित भए।

पोखरामा हुन लागेको प्रतियोगिताका लागि बागमतीले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रशिक्षण गरेको थियो। अन्तिम टोलीमा सन्तोष पनि परे। सन्तोषले त्यतिबेला राष्ट्रिय खेलकुदमा आफ्नो प्रतिभा देखाउन त पाएनन्।

उनको प्रदर्शनका आधारमा  एनएसएलमा ‘बी’ क्याटगोरीका सन्तोषलाई पाँच टोलीले उच्चतम बोली लगाए। अन्तमा उनलाई इलामले पायो।

लिगकै प्रदर्शनका आधारमा सन्तोष विश्वकपका लागि फिफा र एएफसीको संयुक्त छनोटको पहिलो चरणका लागि प्रारम्भिक टोलीमा परेका थिए। लाओसविरुद्धको पहिलो चरणको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको ३३ सदस्यीय टोलीमा सन्तोषलाई समावेश गरेका थिए। १९ दिनको बन्द प्रशिक्षणमा रहेका सन्तोषले अन्तिम टोलीमा भने स्थान बनाउन सकेनन्।

सन्तोष राष्ट्रिय टिमबाट खेल्ने जुम्लाको पहिलो खेलाडी बनेका छन् भने गोल्ड मेडल जित्ने कर्णाली प्रदेशका दोस्रो खेलाडी बनेका छन्। यस अघि सुर्खेतका रोहित चन्दले गोल्ड मेडल जितिसकेका थिए।

चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा चीनको युशु युवा टोलीलाई पराजित गरेपछि नेपाली टोलीले खेलेक‍ा उक्त खेलमा कर्णाली प्रदेशले इतिहास रचेको छ। राष्ट्रिय टिमबाट डेब्यु गरेको दिनमै गोल्ड मेडल जितेर कर्णालीबाट इतिहास रच्ने अवसर सन्तोषले पाए। सन्तोषको प्रदर्शन चर्चा गर्न लायक छ। उनी अट्याकिङ र डिफेन्सिभ मिडफिल्ड दुवै भूमिकामा अब्बल छन्। विपक्षी आक्रमणको बल खोस्ने उनको विशेष खुबी हो।

माघमा सन्तोष २० वर्षका भए। २० वर्षको उमेरमा उनले राष्ट्रिय टोलीमा स्थान पाउने आशा बढेको छ। दुःख-पीडाहरूको कथालाई साथी बनाएर हिँडेका सन्तोष राष्ट्रिय टोलीका भरिला खेलाडी बन्ने आशा पलाउँदै गएको छ।

सबै तस्बिरहरु सन्तोषको फेसबुक वालबाट

प्रकाशित मिति: : 2024-02-11 18:48:00

प्रतिकृया दिनुहोस्