पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी

इटालियन क्लब रोमालाई हराउँदै पोर्चुगिज क्लब पोर्टो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रोमालाई ३-१ गोल अन्तरले हराउँदै पोर्टो समग्रमा ४–३ को जितसहित अन्तिम आठमा पुगेको हो।

घरेलु मैदानमा पोर्टोलाई जिताउन टिक्विन्हो, मौसा मरेगा र एलेक्स टेल्सले एक एक गोल गरेका थिए। रोमाका लागि ड्यानियल रोसीले एक गोल फर्काएका थिए।

पोर्टोले निर्धारित समय २-१ को जित निकाल्दा समग्रमा खेल ३-३ को बराबरी हुँदा खेल अतिरिक्त समयमा धकेलीएको थियो।

अतिरिक्त समयको अन्तिम मिनेटमा एलेक्सले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई महत्वपूर्ण जित दिलाए।

यसअघि पहिलो लेगमा रोमाले २-१ को अग्रता बनाएको थियो।

योसँगै पोर्टो सन् २०१४/१५ को सिजनपछि क्वाटरफाइनल पुग्ने पहिलो पोर्चुगिज क्लब बनेको छ।

प्रकाशित मिति: : 2019-03-07 08:58:12

प्रतिकृया दिनुहोस्