महानगरकाे सहिद सप्ताह:

गंगालाल र दशरथकाे शालिकमा सुनिताले चढाइन् फूल-माला, बालेनले वास्तै गरेनन्

शनि शाक्य

काठमाडौं

काठमाडौँ महानगरपालिकाले सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको योगदानको कदर गर्दै स्मृतिसभा गरेको छ।

महानगरले सहिद सप्ताह कार्यक्रमअन्तर्गत सोमबार (आज) श्रेष्ठ र चन्दलाई प्राण दण्ड दिइएको स्थान शोभा भगवतीमा स्मृतिसभा गरेको हो।

सभामा बोल्दै उपमेयर सुनिता डंगोलले सहिदहरुको योगदानलाई कदापी भुल्न नहुने बताइन्। ‘सहिदहरुको योगदान कदापी भुल्न हुँदैन, सम्झिरहनुपर्छ र सँग–सँगै पुस्तान्तरण पनि भइरहनुपर्छ,’ उपमेयर डंगोलले भनिन्।

उनले सहिदहरुको योगदानबारे किताब पढेर मात्र नहुने उनीहरुको योगदानको पनि मनन् गर्नुपर्ने बताइन्।

उनले सहिदहरुकाे याेगदान र मेहनतकै कारण देशमा स्वतन्त्ररुपमा बाेल्न, लेख्न र अभिव्यक्ति दिन पाइने अवस्था आएकाे बताइन्। ‘आज हामी स्पष्टसँग आफ्नो कुरा राख्न सक्छौँ तर त्यो समयमा बोल्ने अधिकार थिएन। लेख्न अधिकार थिएन। अभिव्यक्ति दिने अधिकार थिएन। उहाँहरुले जनताको अधिकार कसैले पनि खोस्नु हुँदैन र नागरिकले आफ्नो अधिकार प्राप्त गर्नुपर्छ भनेर धेरै मेहनत गर्नुभएको थियो र अन्त्यमा भने आफ्नो प्राण राष्ट्रका नाममा त्याग्नुभयो,’ उनले भनिन्।

देशका लागि योगदान गर्ने सबै सहिदको स्मण गरिरहेका बताउँदै उनले आफ्ना सन्तानलाई पनि सहिदकाे याेगदानबारे बुझाउनुपर्ने धारणा व्यक्त गरिन्।

‘आज धेरै हजुरबुबा र हजुरआमा पनि आउनुभएको छ। अबदेखि आउँदा पनि आफ्ना नाति–नातिनालाई पनि सँगै लिएर आउनुहोला। जसले गर्दा सहिदको कुरा, इतिहासको कुरा राज्यको कुरा जब नयाँ पुस्ताले बुझ्छ अनि मात्रै इतिहासलाई हामीले सम्मान गर्न सकियो भने वर्तमानमा हामीले चाहेको जस्तो काम गर्न सकिन्छ,’ डंगाेलले भनिन्।

यद्यपि, डंगाेलले याे भनिरहँदा मेयर बालेन्द्र साह (बालेन)ले भने सभामा सहभागी थिएनन्। महानगरले वि.सं. २०१२देखि सहिद सप्ताह मनाउँदै आएकाे छ। विगतमा मेयरहरु नै सहभागी भएर सहिद सप्ताह मनाउने गरेतापनि मेयर बालेन्द्रले यसलाई महत्व दिएका छैनन्।

बालेनकाे याे प्रवृत्तिलाई लिएर वडाध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूले आपत्ति जनाउँदै आइरहेका छन्।

प्रकाशित मिति: : 2024-01-29 11:08:00

प्रतिकृया दिनुहोस्