९ महिनापछि मेसी अर्जेन्टिनी टोलीमा फर्किए

तस्बिरः एपी

अर्जेन्टिनाका कप्तान लियोनेल मेसी राष्ट्रिय टोलीमा फर्किएका छन्। स्पेनिस क्लब बार्सिलोनाका कप्तानसमेत रहेका मेसी ९ महिनापछि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका हुन्।

गत जुन-जुलाईमा रसियामा सम्पन्न विश्वकपपछि राष्ट्रिय टिममा अनुपस्थित रहँदै आएका मेसी भेनेजुएला र मोरोक्कोविरुद्धको खेलका लागि तयार भएका हुन्।

जर्ज साम्पोलीको प्रशिक्षणमा रसिया विश्वकप खेल्न गएको अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो।

प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भए पछि मेसीले राष्ट्रिय टिमबाट खेलेका थिएनन्।

सन् २००५ मा राष्ट्रिय टिमबाट डेबयू गरेका मेसीले अर्जेन्टिनाबाट १ सय २८ खेलबाट ६५ गोल गरिसकेका छन्।

पाँच पटकका बालोन डी ओर विजेता मेसीले भविष्यमा अर्जेन्टिनाबाट खेल्ने नखेल्ने भन्ने निर्णय नयाँ प्रशिक्षकको आएपछि तय हुने समाचारमा जनाइएको थियो।

३१ वर्षे मेसी अर्जेन्टिना फुटबल संघले गर्ने नयाँ प्रशिक्षकको नियुक्तीलाई हेरिरहेका थिएन्। रसिया विश्व कपमा बिर्सनलायक प्रदर्शन गरेको अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएपछि अर्जेन्टिनाले प्रशिक्षक जर्ज साम्पोलीलाई बर्खास्त गरेको थियो।

त्यसपछि वेस्ट ह्यामका पूर्व रक्षक लियोन स्कालोनीलाई टोलीको कार्यवहाक प्रशिक्षक नियुक्ती गरिएको थियो।

आगामी २२ मार्चमा स्पेनमा हुने खेलमा मेसी भेनेजुएलाविरूद्ध अर्जेन्टिनाको नेतृत्व गरेर मैदान उत्रने भएका छन्।

त्यसको चार दिनपछि मोरोक्कोसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

नयाँ प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान मेस्सीलाई भेनेजुएला र मोरोक्कोविरुद्धको खेलका लागि टिममा बोलाउन सफल भएका हुन्।

टिममा मेसी समावेश हुँदा सर्जियो अग्यूरो, गोन्जलो हिगुआइन र मौरो इकार्डीले टिममा स्थान बनाउन सकेनन्।

प्रशिक्षक स्कालोनीले लौउटारो मार्टिनेज, जियोभानी सिमिओनी र डारियो बेनेडेटोलाई टिममा समावेस गर्दै नयाँ टोली बनाएका छन्।

मेसीले यसअघि पनि सन्यासको घोषणा गर्दै फेरि टिममा पटक-पटक फर्किएका थिए। मेसीले सन् २०१६ मा चिलिसँग कोपा अमेरिका कप हारेपछि सन्यासको घोषणा गरेका थिए।

तर अर्जेन्टिनाका समर्थकको व्यापक दबाब पछि उनी पुनः टोलीमा फर्किएका हुन्।

प्रकाशित मिति: : 2019-03-08 10:02:49

प्रतिकृया दिनुहोस्