आश्रममा बाआमा–२

८० वर्षीया आमा वृद्धाश्रममा : दुई छोरा सरकारी जागिरे, वृद्धाभत्ता लिन तछाडमछाड

'आमा पाल्न कोही अगाडि आउँदैनन् तर वृद्धाभत्ता लिन तछाडमछाड गर्छन्'

BreaknLinks
BreaknLinks

दुई छोरा दुईतिर बूढीआमा वृद्धाश्रमतिर। काठमाडौंकी रैथाने हुन्, सुलोचना राजभण्डारी। जसका दुई छोरा नै सरकारी जागिरे छन्। सन्तानको उज्ज्वल भविष्य बनाउने सपना बुनेकी सुलोचनाले छोराहरुलाई ‘एसएलसी’ सम्मको शिक्षा दिइन्। दुख गरेर सुखमा हुर्काएका दुईटै छोरालाई उनले नेपाल विद्युत प्राधिकरणमा जागिरे बनाइन् तर सुख पाउने उमेरमा उनी परिवारबाट टाढा भइन्। सकुन्जेल पाखुरा चलाएर छोराछोरीका लागि घोटिएकी उनी बुढेशकालमा वृद्धाश्रम पुगिन्। छोरा-बुहारीको अपहेलनाबाट दिकदार बनेकी ८० वर्षकी सुलोचना ६ वर्षअघि हिमालय वृद्धाश्रम पुगिन्।


वि.स. १९९९ सालमा काठमाडौंको क्षेत्रपाटीमा उनको जन्म भयो। श्रेष्ठ परिवारमा जन्मिएकी सुलोचना कान्छी छोरी हुन्। उनीमाथिका दुई दाजु र एक दिदी थिइन्। घरकी कान्छी छोरी भएको कारण उनी जिद्दी स्वभावकी थिइन् तर कामकाजी पनि उत्तिकै थिइन्।

सानै उमेरको भएपनि उनले घरायसी सबै कामकाज जानिसकेकी थिइन्। उनका दुबै दाजु स्कुल जान्थे। त्यसैले घरको कामकाज सम्हाल्ने सबै जिम्मेवारी दुई दिदीबहिनीको थियो।



निष्ठुरी सन्तानले मिल्काएका ४४ जना बाआमाको खुसीले मुस्कुराइरहेकी सरला 

४४ जना बा-आमालाई खाना खुवाउने मन्दिरा



सधैं घरको कामधन्दामा व्यस्त रहने सुलोचना कहिलेकाहीँ दाजुहरु जस्तो हातमा किताब बोकेर स्कुल जाने रहर गर्थिन्। त्यही कारण आमासँग झगडा गर्दै स्कुल जाने अडान लिन्थिन्। तर उबेला छोरीहरूलाई पढाउने चलनै कहाँ थियो र? सुलोचनाको स्कुल जाने कुरामा आमाले भन्ने गर्थिन्, ‘छोरीहरु स्कुल गए भने मास्टरसँग पोइला भाग्छन्, त्यसैले पढ्न नजा छोरी।’

आमाको कुरा सुनेर पढाइप्रतिको मोह त्यागेकी सुलोचना ठूली दिदीसँग घरधन्दामा रमाउन थालिन्। तर दिदीको विवाह हुने भएपछि उनी दुखी भइन्। ‘घरमा उनी मेरी साथी थिइन्, त्यसैले उनको विवाह हुने भएपछि म दुखी भएँ’, उनी सुनाउँछिन्, ‘तर के गर्नु छोरी मान्छे भएपछि पराई घर जानुपर्ने नै रहिछ।’

दिदीको विवाहपछि उनी विक्षिप्त भइन्। विवाह गरेर गएकी दिदीकाे यादमा दुखी भएकी उनी १३ वर्षको उमेरमा स्कुल जान थालिन्। ‘बाआमाले छोरीले धेरै चिन्ता लियो भनेर स्कुल पढाउन थाल्नुभयो। त्यसैले मैले पढ्ने मौका पाएँ’, उनले भनिन्, ‘स्कुल जाँदा रमाइलो लाग्थ्यो।’

स्कुल जान थालेकी सुलोचनाको सपना थियो, पढेर ठूलाे मान्छे बन्ने अनि बाआमालाई सुखसंग पाल्ने। तर कलिलो मस्तिष्कमा राखेको उनको सपना सबै चकनाचुर भयो। जब सुलोचनालाई विवाहको प्रस्ताव आयो।

‘केटो खाइलाग्दो छ’, ‘आफ्नै थर’, ‘काठमाडौंमा घर’ भन्दै बाआमाले सुलोचनालाई विवाहका ‘राजी’ गराए। ‘त्योबेला सबै जनाको विवाह सानै उमेरमा हुन्थ्यो, त्यसैले मेरो पनि १५ वर्षमै विवाह भयो’, उनी भन्छिन्, ‘मैले दुई वर्ष मात्र स्कुल गएर पढ्न पाएँ।’



भगवान बनाउदै गर्दा दानदेवीको हातबाट रगत बग्यो...

६ दशक कटेका यी व्यक्तिको अन्तिम इच्छाः हुर्केका छोराछोरीसँग सास रहुञ्जेलसम्म माग्न नपरोस्

वि.स. २०१४ सालमा उनको विवाह आफूभन्दा दोब्बर उमेरका राजभण्डारी थरको केटोसँग भयो। ३० वर्षकाे केटाेसँग विवाह गरेर नक्सालको हाँडीगाउँ पुगेकी उनी घरकी कान्छी बुहारी थिइन्। त्यसैले उनी सासू-ससूराको माया पाउन सफल भइन्। ‘सानै उमेरकी थिएँ, त्यसैले घरमा सबै जनाले माया गर्नुहुन्थ्यो’, उनले भनिन्।

‘आमाको धोती बेचेर इन्डिया भागे राजभण्डारी’

विवाह गरेर ससूराली घर आएकी उनी वर्षदिन नबित्दै श्रीमानसँग इन्डिया पुगिन्। इन्डियाको कलकतामा पुगेकी उनी सुनाउँछिन्, ‘मेरो बूढाको सबै काम उत्तै थियो। त्यसैले हामी इन्डिया नै गर्यौँ।’

सानै उमेरमा श्रीमान भागेर भारत पुगेको सुनाउँदै उनी विगत सम्झिन्छिन्, ‘मेरो बूढा स्कुल पढ्दै गर्दा आमाको धोती-साडी बेचेर इन्डिया जानुभएको रहेछ। अनि ठूलो साबको गाडी चलाउन थाल्नुभएको रहिछ।’

वि.स. २०१५ मा छिमेकी देश पुगेकी उनी कलकतामै रमाउन थालिन्। उनले त्यहीँ बसेर चार सन्तानलाई जन्माइन्। इन्डिया बसेको पाँच वर्षपछि उनी श्रीमानसहित चार सन्तान बोकेर स्वदेश फर्किइन्।

नेपाल आएका उनीहरुले बागबजारमा घर किने। तर जेठाजुको निधन भएपछि त्यही घर बेचेर अंश भाग लगाए र सुलोचनाको परिवार डेरामा बस्न थाले। काम गर्नमा मेहनती थिए, सुलोचनाका श्रीमान। उनी पसल–पसलमा काम गरेर परिवारको पेट भर्थे।

श्रीमान काममा खटिरहँदा सुलोचना पनि छोराछोरी र श्रीमानको हेरचाहमा उत्तिकै खटिरहेकी हुन्थिन्। उनी भन्छिन्, ‘श्रीमानले हामीलाई पाल्नु भएको थियो भने मैले घरायसी कामकाज र छोराछोरीको जिम्मेवारी सम्हालेकी थिएँ।’

आफूले दुख गरेर सुखमा हुर्काएका दुई छोरालाई राजभण्डारी दम्पत्तिले एसएलसीसम्मकाे शिक्षा दिए। ‘छोरीहरुलाई पढाएनौँ, छोराहरुलाई १० कक्षासम्म पढायौँ’, उनले सुनाइन्, ‘धेरै पढ् भनेका थियौँ तर उनीहरुले पढ्नमा त्यति चासो देखाएनन्।’

दुई छोरा सरकारी जागिरमा आमा वृद्धाश्रममा

श्रीमान र आफूले गरेको दुखले हुर्काएका छोराहरुलाई उनीहरुले नेपाल विद्युत प्राधिकरणमा जागिरे बनाए। ‘छोराहरुको भाग्य राम्रै रहिछ, त्यसैले उनीहरु दुबै जना सरकारी जागिरे भए’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘छोराहरुले धेरै पढेको भए हाकिम नै हुन्थे नि तर के गर्नु पढ्न मानेनन्।

छोराहरु जागिरे भएपछि खुसीका साथ बितिरहेको थियो, राजभण्डारीको परिवार। तर २०६९ सालमा सुलोचनामाथि बज्रपात पर्यो। उनका श्रीमानले सदाका लागि संसार त्यागेर गए।

श्रीमानको छायाबाट टाढिएकी उनी छोराहरुको मायाले बाँच्न थालिन्। उमेर पुग्दै गएका जेठा छोरा पुरुषोत्म राजेन्द्रले आफूसँगै प्राधिकरणमा काम गर्ने दौतरीसँग विवाह गरे भने कान्छा छोरा मसर राजभणडारी परिवारकै सहमतिमा वैवाहिक बन्धनमा बाँधिए।

विवाह गरिसकेपछि छोराहरुको स्वभाव समयसंगै विस्तारै बदलिन थाल्याे। विवाहअघि आमाका प्यारा छोराहरु विवाहपछि आमादेखि नै टाढिन थाले। उनी छोरा-बुहारीकै आँखाका कसिंगर बन्न थालिन्।

‘बाआमाका लागि छोरा विवाह अगाडि मात्र आफ्नो छोरा हुँदो रहिछ। विवाह भइसकेको छोरा कहिल्यै बाआमाको नहुँदो रहिछ। विवाह गरिसकेका छोरा बुहारीको श्रीमान मात्र कहलिँदाे रहिछ। दुख गरेर हुर्काएका बाआमालाई छोराहरुले पराई सम्झेर हेला गर्ने रहिछ’,उनी दुख पोख्छिन्।’

छोरा-बुहारीको लागि सम्पत्ति नराखेकै कारण आफूलाई अपहेलना गरेको उनको बुझाइ छ। श्रीमानले कमाएको सम्पत्ति छोराहरुकै पढाइका लागि खर्चिएको बताउँदै उनले भन्छिन्, ‘मसँग सम्पत्ति छैन। त्यसैले मलाई हेपेको होला।’

दिनदिनै छोरा-बुहारीको रिस, गाली र अपहेलना सहेर दिकदार बनेकी उनले घर छाड्ने निधो गरिन्। र छोरा-बुहारीसँग बिदा मागेर बिल्डिङ घर त्यागेर वृद्धाश्रम गइन्।

‘बाहिरबाट हेर्दा राम्रो घर भएपनि भित्र मन खुसी छैन, त्यस्तो घरमा के बस्नु र? घरबाट निस्किने बेला मलाई मेरो छोरा-बुहारीले एकपटक पनि रोकेनन्। बरु उल्टै आश्रममा खुसी हुन्छ भने उतै बस्नु भनेर सम्झाए’, स्वर्गीय छोरीहरुलाई सम्झेर भावुक भएकी सुलोचना भन्छिन्, ‘सायद छोरीहरु हुँदो हो त यति धेरै दुख पाउँदिन थिएँ होला।’

घर त्यागेपछि उनी हिमालय वृद्धाश्रम पुगिन्। जहाँ उनलाई आश्रमकी संस्थापक सरला पन्थीले सहारा दिइन्। उनी भन्छिन्, ‘यो आश्रम नभएको भए मेरो बिचल्ली नै हुन्थ्यो।’

सुलोचनाले पाउँदिनन् वृद्धाभत्ता

छोरा-बुहारीको मायाबाट बञ्चित छिन्, सुलोचना। परिवारका कोही छैनन् उनको सहारा। आमा पाल्न कोही अगाडि आउँदैनन् तर वृद्धाभत्ता लिन तछाडमछाड गर्छन्।

‘मेरो दुई छोरा-बुहारीहरुलाई थाहा छ, म यो आश्रममा छु भनेर तर के गर्नु मलाई लिन आउँदैनन्’, उनी भन्छिन्, ‘तर वृद्धाभत्ता आएको दिन चाहिँ मलाई बैंक लैजान आउँछन् र पैसा पाइसकेपछि फेरि आश्रममै छोडेर जान्छन्। मैले मेरो पैसा देऊ भन्दा पर्दैन हामीले बचत गरिदिइरहेका छौँ भनेर टार्छन्। अहिले पैसा माग्दा दिँदैनन्, सायद मेरो किरिया खर्च जम्मा गरेर राखेको होला।’

छोराहरुलाई आमाभन्दा पनि पैसा चाहेको कुरामा उनी गुनाखो पोख्छिन्। ‘छोराहरुलाई दुख गरेर जन्माएर हुर्काएँ अहिले छोराहरु जागिरबाट रिटायर पनि भइसके तर आफैँलाई माया गर्दैनन्। के गर्नु संसार त्यसैगरी चलिरहेको छ’, उनले भनिन्।

कहिलेकाहीँ आश्रम आएका छोराहरुले उनलाई भन्ने गर्छन्, ‘आमा केही समय पर्खनुहोस् लिन आउने छौँ।’ छोराहरुले बोलेको ती बचन नै अहिले सुलोचनाको जिउने आधार बनेको छ। त्यसैले त उनी छोरा आउने आशमा बसिरहेकी छिन्।

उनी भन्छिन्, ‘वृद्धाभत्ता माग्न आएकाे बेला सधैँ मलाई लिन आउँछाैँ भनेर आश्वसन दिन्छन् तर कहिलेपनि लिन आउँदैनन्। मेरा छोराहरु निष्ठुरी रहिछन्, सायद उनीहरुले अब मेरो लास मात्र लिएर जान्छन्।’

प्रकाशित मिति: : 2023-04-24 06:55:00

प्रतिकृया दिनुहोस्