ब्लग

‘बा’लाई एउटा प्रश्न– सूर्य थापा, गोकुल बाँस्कोटा र विष्णु रिजालले शरम मान्नुपर्दैन?

कमरेड ‘बा’ अर्थात् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभा–समारोह वा बैठकमा आफ्ना विरोधीप्रति चर्को टिप्पणी गर्छन्। उखान–टुक्का जोड्दै चोटिलो अभिव्यक्ति दिन्छन्।

ओलीको भाषण सुनेर एमालेका नेता–कार्यकर्ताहरू गलल... हाँस्छन्। ताली पिट्छन्। रमाउँछन्। त्यसो त ‘बा’का थुप्रै समर्थक र आलोचक छन्, पार्टीभित्र वा बाहिर।

पूर्वप्रधानमन्त्री ओलीको सबैभन्दा गजबको शैली– आफ्ना विरोधीलाई एकै वाक्यमा बुझ्ने गरी सीधै प्रहार गर्छन्। उनी कसैलाई बाँकी राख्दैनन्, केटाकेटीदेखि शीर्ष नेतासम्म झटारो बनेका कैयौँ उदाहरण छन्।


केपी ओलीले शिलान्यास गरेको सन्थाल बस्ती अलपत्र 


जगतले राम्रो मानोस् या नमानोस् मनभित्रको कुरा मुखबाट निकालिहाल्छन्, ‘बा’। आफ्नै पार्टीका सचिव योगेश भट्टराई ‘बैगुनी केटो’ र सीसीटीभी मिल्काउने अर्थमन्त्री जनार्दन शर्मालाई ‘मुसो’सम्म उनै ओलीले देखे। अन्ततः आधा संसारले रूचाएका सेलिब्रेटी पूर्वसञ्चारकर्मीलाई पनि झटारो हानेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेप्रति ओलीको भनाइ यस्तो छ– ‘अहिले त एउटा पत्रकार नचाहिने–नचाहिने काम गर्यो। एउटा जमातले साथ दियो भनेर पत्रकार नेता हुँ भनेर कुदेको छ। लोकतन्त्र ल्याउन बलिदान दिएर आएका, संघर्ष गरेर आएका, जेलनेल भोगेका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरूलाई अपमान गरेको छ। सबलाई चोर भनेको छ। अलिकति शरम हुनुपर्दैन?’

०००

एमाले अध्यक्ष ओली नेपाली राजनीतिक रंगमञ्चका एउटा गजबका पात्र हुन्, जसले सबैभन्दा बढी पत्रकारको आलोचना गरेका छन्। सत्ता बाहिर हुँदा आफ्ना भनाइ छ्याप्प–छ्याप्ती पार्नका लागि पत्रकार नै खोज्छन्। उनै पत्रकारलाई तर्साउँछन्। फकाउँछन्। कहिलेकाहीँ तथानाम उपमा दिन्छन्। समग्रमा भन्नुपर्दा यो ओली प्रवृत्ति हो।

प्रधानमन्त्री हुँदा होस् या विपक्षीमा रहँदा जताततै छाउँछन्, ओली। कामभन्दा पनि बोलीकै कारण चर्चामा आउँछन्। बोल्न त जे पनि बोल्छन् तर काम चाहिँ फिटिक्कै गर्दैनन्। पानी जहाजदेखि केरुङ–काठमाडाैँ रेलमार्ग उनको सबैभन्दा चर्चित कथा संग्रह हो।

त्यसो त एमाले अध्यक्ष ओली अर्थात् ‘बा’लाई एउटा प्रश्न छ– सूर्य थापा, गोकुल बाँस्कोटा र विष्णु रिजालले शरम मान्नुपर्दैन? उनीहरू पत्रकार हुन् कि नेता? पक्कैपनि नेता नै हुन्। प्रश्न– आफ्नाे पार्टीभित्रका पूर्वपत्रकारलाई नेता मानिदिनुपर्ने तर अन्य पूर्वपत्रकारलाई चाहिँ सराप्ने? याे कस्ताे ओली विचारधारा हाे?

ओलीको बचाउमा सामाजिक सञ्जालदेखि आमसञ्चारसम्म चिच्याइँ–चिच्याइँ भाषण छाट्ने एमाले केन्द्रीय सदस्य थापा, बाँस्कोटा र रिजाल कतिसम्म सभ्य र असल पात्र हुन्? उनीहरू कांग्रेस, माओवादी, राप्रपा र जनमोर्चाका शीर्ष नेताहरूलाई कुन तहको टिप्पणी गर्छन्? यसबारेमा ओली जानकार छन् कि छैनन्?

०००

‘बा’लाई अर्को जानकारी– उनीहरू पत्रकारिताको आडमा एमालेभित्र छिरेका हुन्। उनीहरू पनि एक समय पत्रकार नै थिए। उनीहरूबीच कुनै भिन्नता छैन। एउटै कर्मबाट उदाएका थापा, बाँस्कोटा, रिजाल र लामिछाने मौका छाेपेर पत्रकार–नेता बनिरहेका छैन। उनीहरूको पूर्वकर्म पत्रकारिता नै हो। पत्रकारितामार्फत् ओलीको निर्देशनमा कांग्रेस–माओवादीका शीर्ष नेताविरूद्ध कुप्रचार मात्र गरिरहेका छन्।

अर्काको घर हेरेर सराप्दै हिँहिरहेका ओली कमरेडले आफ्नै घरभित्रको हबिगत हेर्नु पर्दैन?

खासगरी पूर्वपत्रकार लामिछानेको नयाँ यात्राबारे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र जनामोर्चाका अध्यक्ष चित्रबहादुर केसी चुपचाप छन्। उनीहरूले आफ्नो संगठन गरिरहेका छन्। लामिछानेप्रति कुनै वास्ता नै छैन।

तर एमाले अध्यक्ष ओली एउटा सानो स्वतन्त्र समूहलाई तर्साउँदै हिँडिरहेका छन्। जिस्काउँदै कुदिरहेका छन्। के एमाले र ओलीका लागि उनै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चुनौती बनेका हुन्? भर्खंर संगठन निमार्णका लागि देश दौडाहामा जुटिरहेको समूहका नेतालाई लोकतन्त्र, संघर्ष, जेलनेल, अंगभंग सिकाउँदै हिँडिरहेका ओलीले पनि शरम मान्नुपर्दैन र?

प्रकाशित मिति: : 2022-08-07 22:10:00

प्रतिकृया दिनुहोस्