अफगानिस्तानसँग पनि हार्‍यो नेपाल, जितविहीन हुँदै घर फर्कियो

तस्बिरः अखिल नेपाल फुटबल संघ एन्फा

नेपाल एएफसी यू-२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग पनि पराजित भएको छ।

कतारमा जारी छनोट अन्तर्गत मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

दोहास्थित स्पोर्टस सिटी सेन्टरमा अफगानिस्तानलाई जिताउन सोलोमोन साह र अहमेद ओम्रानले एक एक गोल गरे ।

खेलको २४ औं मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३४ औं मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानको अग्रता दोब्बर पारे।

दोस्रो हाफमा केही आक्रमण बुने पनि गोल गर्न नसक्दाछनोटको समूह 'ए' मा रहेको नेपाल जितविहीन बन्दै घर फर्किएको छ।

नेपालले खेलेका तीनै खेलमा पराजित हुँदै पुछारमा रहेर प्रतियोगिता सकाएको छ ।

अफगानिस्तान भने सान्त्वना जितसहित घर फर्किएको छ ।  अफगानिस्तानले ३ अंक जोड्यो ।

छनोटमा खराब प्रदर्शन गरेको नेपालले पहिलो खेलमा ओमानसँग १-० गोल अन्तरको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा कतारसँग ४-० ले पराजित भएको थियो।

यस समूहबाट आयोजक कतार शीर्ष स्थानमा रहँदै थाइल्याण्डमा अर्को बर्ष आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट भएको छ।

मंगलबार ओमानसंग २-२ गोलको बराबरीमा रोकिएपनि कतार गोल अन्तरले शीर्ष स्थानमा रह्यो। कतारले ३ खेलमा ७ अंक जोड्यो । कतारसंग समान ७ अंक नै जोडेको ओमानको पनि उत्कृष्ट उपविजेता बन्दै च्याम्पियनसिपमा छनोट हुने सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2019-03-27 00:36:05

प्रतिकृया दिनुहोस्