रियलको संघर्षपूर्ण जितमा बेन्जेमाको दुई गोल

तस्बिरः रोयटर्स

रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति रियलले एइबारमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो।

सान्टियागो बर्नाबाउमा खेलमा पछि परेको स्थिति उल्ट्याउने क्रममा रियलका लागि करिम बेन्जेमाको दुई गोल गर्दा एइबारका लागि मार्क कार्डोनाले गोल गरे।

पहिलो हाफमा सुरूवातमै पाहुना टोलीले खेलमा अग्रता लिएको थियो।

खेलको ३९औं मिनेटमा मार्क कार्डोनाले गोन्जलोको पासमा गोल गरेपछि रियाल पहिलो हाफमा १–० ले पछि परेको थियो।

खेलको ५९औं मिनेटमा करिम बेन्जेमाले बराबरी गोल फर्काएपछि रियल खेलमा फर्कियो।

खेल सकिन ९ मिनेट बाँकी रहँदा करिम बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै रियललाई २–१ को महत्त्वपूर्ण जित दिलाए।

यो जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोना र दोस्रो रहेको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ।

रियलले एट्लेटिकोसँग २ अंकको अन्तर कायम राख्दा बार्सिलोनासँगको अंक दुरी १० मा झारेको छ। यद्दपि दुवै टोलीले एक खेल कम खेलेका छन्।

प्रकाशित मिति: : 2019-04-06 23:20:11

प्रतिकृया दिनुहोस्