बेंगलोरको लगातार छैठौं पराजय, दिल्लीको तेस्रो जित

तस्बिरः एजेन्सी

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार छैठौं पराजय व्यहोरेको छ।

आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित हुँदै रोयल च्यालेन्जर्स बेंगलोरले छैठौं पराजय व्यहोरेको हो। यो हारसँगै बेंगलोरको प्ले अफको सम्भावना कठिन बनेको छ।

बैंलोरदे दिएको १ सय ५० रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो।

दिल्लीको जितमा कप्तान श्रेयस ऐरले सर्वाधिक ६७ रन बनाए। ५० बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै ओपनर पृथ्वी शाले २८ रन बनाउँदा विकेटकीपर ऋषभ पन्त १८ रन जोडे। शिखर धवन शून्य रनमा पवेलियन फर्किदा कोलिन इनग्रामले २२ तथा अक्षर पटेलले ४ रन जोडे।

बेंगलोरका नवदीप सैनीले २ तथा पवन निगी, टिम साउदी, मोइन अली र मोहम्मद सिराजले समान १-१ विकेट लिए पनि जित दिलाउन सकेनन्।

यसअघि घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो।

बेंगलोरका लागि कप्तान विराट कोहलीले ४१ रन जोड्दा मोइन अलीले ३२, एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५ र अक्ष्यदीप नाथ १९ रन बनाउँदा पार्थिव पटेल ९ रन जोडे। अन्य ब्याट्सम्यानले खासै प्रर्दशन गर्न सकेनन्।

दिल्लीका लागि कागीसो रबाडाले ४ विकेट लिए। यस्तै क्रिस मोरिसले २ विकेट लिँदा अक्षर पटेल र सन्दीप लामिछानेले समान १-१ विकेट लिए।

प्रतियोगिताकै महंगा खेलाडी बनेका सन्दीपले १ विकेट लिने क्रममा ४ ओभर बलिङ गर्दै ४६ रन खर्चिएका थिए।

यो नतिजासँगै बेंगलोर ६ खेलबाट कुनै पनि अंक जोड्न नसकी अंकतालिको पुछारमा छ।

बेंगलोरका लागि अब प्ले अफ सम्भावना अंक गणितीय मात्र बाँकी छ। बाँकी सबै खेलमा फराकिलो अन्तरले विजयी भए र अन्य टोलीको नतिजा आफू अनुकुल आउन सके मात्र बेंगलोर नाटकीय रुपमा प्लेअफमा पुग्नेछ।

यता ६ खेलमा ३ जित निकालेको दिल्ली तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2019-04-07 21:35:50

प्रतिकृया दिनुहोस्