मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ।
यो पराजयसँगै नेपालको विश्वकपमा छनोट हुने यात्रामा ठूलो धक्का लागेको छ।
नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० ओभरमा ३ विकेट गुमाउँदै १ सय २२ रन जोड्दा पानी परेर खेल रोकिएको थियो।
यही अवस्थामा खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लेविसका आधारमा १ रनले पराजित भएको हो। यतिबेलासम्म युएईलाई १२१ रन आवश्यक थियो। तर खेल रोकिनुअघि युएईले १२२ रन बनाइसकेको थियो।
सुरूमै २ विकेट गुमाएको युएईले तेस्रो विकेटका लागि व्रित्य अरविन्द र अंश टन्डनले १ सय १ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपाल खेलमा पछि परेको थियो।
त्यसअघि नेपालले यूएईका दुवै ओपनरलाई सस्तैमा पेभेलियन फर्काएको थियो। ओपनर साएद हैदर ११ तथा कप्तान आर्यन लाक्रा ४ रनमा आउट भएका थिए।
५४ रन जोडेका टन्डन ३० औं ओभरको अन्तिम बलमा आउट हुनुअघि ४ चौका हिर्काएका थिए। अरविन्द ४७ रनमा नटआउट रहे।
नेपालका लागि सागर ढकाल र कमल सिंह ऐरीले समान १-१ विकेट लिए।
यसअघि मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनायो। एक समय ११५-५ को स्थितिमा पुगेको नेपाली टोलीलाई भीम सार्की र हरि चौहानले छैठौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका थिए।
भीम ५३ रनमा क्याच आउट हुनुअघि ५४ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए। हरिले ७५ बलको सामना गर्दै ७ चौकाको मदतले नटआउट ६७ रन जोडे ।
यस्तै नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोडे । उनले ७३ बलमा ३ चौका सहित ४४ रनको योगदान दिए।
पवन सरार्फले १२ रन जोड्दा आशिफ शेखले २७ रन जोडे।
कप्तान रोहित कुमार पौडेलले १८ रन बनाउँदा सन्दीप जोरा ४ तथा कुशल मल्ल राशिद खानले १-१ र कमलसिंह ऐरी र सागर ढकालले २-२ रनमात्र जोडेका थिए।
यूएईका लागि ऋषभ मुखर्जीले ४ तथा मोहमद फरजुद्दीनले ३ विकेट हात पारे ।
प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन्। शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको थियो ।
पहिलो खेलमा सहज जित दर्ता गरेको नेपालको यस पराजयले भने छनोटबाट बञ्चित हुने डर बढेको छ। यूएईले भने लगातार दोस्रो जित दर्ता गर्दै बलियो दाबेदारी प्रस्तुत गरेको छ। उता सिंगापुरलाई ८ विकेटले हराएको कुवेतले पनि लगातार दुई खेल जित्दै आफ्नो दाबेदारी देखाइसकेको छ।
अब युएई र कुबेतले बाँकी ३ खेल जितेको खण्डमा नेपालको २०२० यु-१९ विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ।
दोस्रो खेलमा पराजित भए पछि अब नेपाल यु-१९ विश्वकपमा छनोट हुन बाँकी खेल जित्नु पर्नेछ भने युएईको हारको कामना गर्नुपर्नेछ।
प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेल सोमबार मलेसियासँग बायुमास ओभल मैदानमा, मंगलबार ओमानसँग एसटिसी मैदानमा र बुधबार अन्तिम खेल कुवेतसँग किनरारा मैदानमा खेल्नेछ।