शनिबार, १३ सेप्टेम्बर २०२५

मारियो पुन: एकपटक पर्दामा

News Image
• • •

सामान्य बोलचालको भाषामा कार्टुन सिनेमा भनिने एनिमेसन सिनेमाको ठुलो बजार छ। ९० को दशकका केटाकेटीहरुबीच अत्याधिक लोकप्रिय भिडियो गेमको चरित्र मारियो र उनको मसरुम किङ्गडम् वयस्कहरुबीच पनि लोकप्रिय छ। सन् १९९३ मा पनि मारियोको कथामा सुपरहिट सिनेमाको निर्माण भएको थियो। त्यसै सिनेमाको अर्को भाग ‘दि सुपर मारियो ब्रोज मुभी’ पछिल्लो हफ्ता रिलिज गरिएको छ।

सिनेमाको कथा मारियो दाजु-भाइको वरिपरि घुमेको छ। पानीकाे धारा बनाउने पेसामा व्यस्त दाजु-भाइमध्ये भाइ लुइगी एकदिन जादूको पाइपबाट अँध्यारो स्थानमा खस्छ। अब मारियो आफ्नो भाइलाई बचाउँन राजकुमारी पिचसँग मद्दत माग्छ। त्यो अँध्यारो स्थानको राजा ब्राउजर हुन्छ र ऊ अति नै दुष्ट छ। के मारियो राजकुमारी पिचको सहयोगमा आफ्नो भाइ लुइगीलाई ब्राउजरको पञ्जाबाट छुटाउन सफल हुन्छ ? यो प्रश्नको उत्तर पाउन सिनेमा नै हेर्नुपर्छ।

म्याथ्यु फोगलको कथालाई आरोन होबर्थ, माइकल जेलेनिक र पियरे लिडुसले निर्देशन गरेका छन्। निर्देशक त्रयले एनिमेटर क्रिस्टोफर डेलिस्ले, जेफ गाबोर र लुइस भालास्कोको मद्दतमा उत्कृष्ट सिनेमाको निर्माण गरेका छन्। एनिमेसन सिनेमामा पार्श्व सङ्गीतको प्रमुख भूमिका हुन्छ, जसलाई नाथन एलेक्जेण्डरले कुशलताका साथ पूरा गरेका छन् र त्यसमा पनि सारा एण्डनको बाँसुरीको मधुर धुन एकैपटक मस्तिष्कमा पुग्छ।

सिनेमामा पात्रहरुको आवाज क्रिस प्रेट, अन्या टेलर जोय, चार्ल्स मर्टिनेट, चार्ली डे, ज्याक ब्ल्याक, सेथ रेगनजस्ता लोकप्रिय कलाकारहरुले आवाज दिएका छन्, जो पात्रहरुअनुसार मिलेको लाग्छ। सिनेमाको सबैभन्दा ठुलो कमजोरी भनेको मारियोका दाजु-भाइ नायक भए पनि सिनेमाभरि कमजोर छन् र खलनायक (ब्राउजर)सँग डराउँछन्।

मारियोका प्रशंसकहरुलाई सिनेमाले पूर्ण मनोरञ्जन प्रदान गरे पनि यो चरित्रको बारेमा थाहा नभएका र पहिलोपटक एनिमेसन सिनेमा हेर्न जानु भएका दर्शकहरुलाई खासै राम्रो नलाग्न सक्छ, किनकी मारियोको बारेमा थाहा नपाएका दर्शकहरु कथा नबुझेर अल्मल्लिन सक्छन।

@twitter#naviinr

ट्रेलर:

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!